ताजा अपडेट »

अमेरिकाले युक्रेनलाई २७ करोड ५० लाख अमेरिकी डलरको सुरक्षा सहायता प्रदान गर्ने

शनिबार, १२ जेठ २०८१, १८ : ४८
44 Shares
फोटोः एएफपी
शनिबार, १२ जेठ २०८१
44 Shares

अमेरिकाले शुक्रबार युक्रेनका लागि २७ करोड पचास लाख अमेरिकी डलरको नयाँ सुरक्षा सहायता प्रदान गर्ने घोषणा गरेको छ। सहायतामा गोला बारुद, आर्टिलरी राउन्ड र अत्याधुनिक हवाई हतियार समावेश छन्

अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केनले रसियासँगको युद्धमा युक्रेनलाई अमेरिकाको समर्थन रहेको दोहोर्‍याएका छन्। उनले युक्रेनलाई नयाँ सुरक्षा सहायता प्रदान गर्नु कीभलाई खार्किभ नजिकै मस्कोको आक्रमणलाई रोक्न मद्दत गर्ने अमेरिकी प्रयासको एक हिस्सा रहेको बताए।

सामाजिक सञ्जाल एक्सको एक पोस्टमा ब्लिन्केनले भने, ‘आज संयुक्त राज्य अमेरिकाले युक्रेनका बहादुर मानिसलाई सहयोग गर्न २७ करोड ५० लाख अमेरिकी डलरको हतियार र उपकरण प्रदान गर्ने घोषणा गरिरहेको छ। रसियाको आक्रामकताविरुद्धको लडाइँमा हामी युक्रेनको साथमा रहनेछौँ।’

‘यो २७ करोड ५० लाख मिलियन अमेरिकी डलरको प्याकेज युक्रेनलाई खार्किभ नजिकै रसियाको आक्रमणलाई रोक्न मद्दत गर्ने हाम्रो प्रयासको एक हिस्सा हो। यसमा हिमार्सका लागि गोला बारुद १ सय ५५ एमएम र १ सय ५ एमएम आर्टिलरी राउन्ड, ट्यूब-लन्च, अप्टिकली-ट्र्याक्ड, वायर-गाइडेड मिसाइल, ज्याभलिन र एटी-४ एन्टी-आर्मर प्रणाली, सटीक हवाई हतियार, साना हतियार, गोला बारुद, एन्टी-आर्मर माइन, सामरिक सवारी साधन, शरीर कवच, रासायनिक, आणविक सुरक्षा उपकरण, स्पेयर पार्ट्स, मर्मतसम्भार र अन्य तत्काल आवश्यक उपकरण समावेश छन्,’ उनले थपे।

संयुक्त राज्य अमेरिका र अन्तर्राष्ट्रिय गठबन्धन युक्रेनको स्वतन्त्रताको रक्षामा युक्रेनको साथमा रहने राष्ट्रपति जो बाइडेनले स्पष्ट गरिसकेको उनले बताए। सन् २०२२ मा मस्को र कीभबीच युद्ध सुरु भएदेखि अमेरिकाले युक्रेनलाई सहयोग गर्ने प्रस्ताव गरेको हो। रसियासँग चलिरहेको युद्धबीच कीभलाई अमेरिकी समर्थनको पुष्टि गर्न यस महिनाको सुरुमा ब्लिन्केन युक्रेनको आकस्मिक भ्रमणमा पुगेका थिए।

फेब्रुअरी २०२२ मा मस्को र कीभबीच युद्ध सुरु भएपछि उनले चौथो पटक यो अघोषित भ्रमण गरेका हुन्।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।