तिलोत्तमा । रुपन्देहीको तिलोत्तमा नगरपालिकाले चालू शैक्षिक सत्रको वार्षिक परीक्षा यहीँ वैशाख २० गतेभित्र सक्ने निर्णय गरेको छ । कोरोना महामारीको प्रभाव बढ्दै जाँदा नगरस्तरीय परीक्षा सञ्चालन तथा समन्वय समितिको शुक्रबारको बैठकले विद्यालय स्तरीय वार्षिक परीक्षा छिट्टै लिने निर्णय गरेको हो । नेपालमा समेत दोस्रो चरणको कोरोना महामारी तीव्र रुपमा बढ्दै जाँदा विद्यालय बन्द गर्नुपर्ने दबाब बढ्दै गएको छ ।
परीक्षा नलिँदै विद्यालय बन्द गरिँदा त्यसले विद्यार्थी, शिक्षक, अभिभावक सबैमा नकारात्मक असर पर्ने भएकोले कोरोना सुरक्षा मापदण्ड अपनाई तत्काल परीक्षा सञ्चालन गर्ने निर्णय गरिएको शिक्षा शाखा प्रमुख गंगाराम आचार्यले बताउनुभयो । नगर प्रमुख तथा समिति संयोजक बासुदेव घिमिरेको अध्यक्षतामा बसेको बैठकले बालविकासदेखि कक्षा ३ सम्मको परीक्षा यहीँ वैशाख १२ गतेसम्म र कक्षा ४ देखि ९ सम्मको परीक्षा वैशाख २० गतेभित्र सक्ने निर्णय गरेको हो।
बैठकले वैशाख १२ बाट सुरु हुनेगरी कक्षा ८ को नगरस्तरीय परीक्षा सञ्चालनको लागि परीक्षा तालिका तथा परीक्षा केन्द्र समेत निर्धारण गरेको छ । यो वर्ष नगरस्तरीय परीक्षाको लागि ९ वटा केन्द्र निर्धारण गरिएको शिक्षा शाखा प्रमुख आचार्यले बताए । यसैबीच कोरोनाबाट सबैभन्दा बढी बालबालिकाहरु प्रभावित भैरहेको भन्ने खबरहरु सार्वजनिक भैरहँदा नगर प्रमुख बासुदेव घिमिरे, शिक्षा शाखा प्रमुख गंगाराम आचार्यसहितको टोलीले विद्यालयहरुको अनुगमन गरेको छ । कोरोना सुरक्षा मापदण्डको पालनालाई केन्द्रमा राखी टोलीले सामुदायिक तथा संस्थागत विद्यालयको अनुगमन गरेको हो ।
प्रतिक्रिया