दाङ । दाङको पूर्व-पश्चिम महेन्द्र राजमार्गबाट जिल्लाको मुख्य केन्द्र घोराही पुग्ने सडक जीर्ण बनेको छ । पुरानो सडकको नियमित मर्मत-सम्भारको अभावसँगै ओभरलोडका टिप्परहरु हिँड्न थालेपछि घोराही–लमही सडकखण्ड जीर्ण बन्न पुगेको हो । जसका कारण सवारी साधन सञ्चालनमा समस्या हुने गरेको छ ।
क्षमताभन्दा बढी भार बोकेका टिप्पर तथा मालवहाक ट्रकहरु गुड्नाले जीर्ण बन्दै गएको सडकमा दुर्घटनाका सम्भावनाहरु पनि बढ्दै गएको छ । सडकका विभिन्न ठाउँमा पीच उप्किनुका साथै खाल्डो परेका छन् । २३ किलोमिटर लामो जीर्ण सडकमा धुलाम्मेहुँदा दुर्घटनाको जोखिम थप बढेको त्यस सडकमा दैनिक सवारी गुडाउने चालक नवराज आचार्यले बताए । जिल्लाको मुख्य बजार जोड्ने सडको अवस्था जीर्णहुँदा पनि सम्बन्धित निकायले चासो नदिएको स्थानीयहरुले गुनासो गर्ने गरेका छन् । घोराही उपनगरपालिका ३ मुसोट निवासी शरद पुनले गुनासो गर्दै भने ‘सडकमा परेका खाडलहरु नपुर्दा धुलो उडेर दुई पाङ्ग्रे सवारीमा यात्रा गर्नै मुस्किल हुन्छ ।’ ‘जीर्ण सडकमा हुँइकिने ट्रक तथा टिप्परले ज्यान बचाउनै मुस्किल हुने गरेको छ ।’
दाङको लमहीमा रहेको सम्राट सिमेन्ट उद्योगका लागि चुनढुंगा बोक्ने टिपरहरुले सडक व्यवस्त हुने गर्छ । यसैगरी त्यहाँ रहेका सगरमाथा तथा सोना सिमेन्ट उद्योगबाट क्लिंकर बोकेर अन्य उद्योगमा जाने ट्रक तथा टिप्परसँगै राप्ती नदीबाट नदीजन्य पदार्थ ल्याएर आवात-जावत गर्ने सवारी साधनका कारण सडकको अवस्था दिनप्रतिदिन बिग्रदै गएको जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख थम्मन जिसीले बताए । ‘सडकको अवस्था उस्तै छ तर सवारीको चाप दैनिक बढ्दै गएको छ’, प्रमुख जिसीले भने-‘बिग्रिएको सडक समयमै मर्मत नहुँदा दुर्घटनाको जोखिम बढेको छ ।’ उनका अनुसार घोराही-लमही सडकखण्डको मसोटका घुम्तीहरुमा परेका खाडलहरुको कारण दुर्घटनाको जोखिम बढेको छ ।
साँघुरो र जीर्ण सडकमा सवारीका साधन बिग्रिएमा लामो समयसम्म ट्राफिक जाम हुने समस्याले सेवाग्राहीहरु आजित हुने गरेका छन् । सवारी साधनका चापअनुसार सडक साँघुरो हँुदै गएको भन्दै वैकल्पिक सडक निर्माणसँगै दीर्घकालीन योजना निर्माण गरेर अगाडि बढ्न आवश्यक रहेको जिसीले बताए । सडक डिभिजन कार्यालय दाडले भने सडक मर्मत छिट्टै गरेर सहज बनाइने बताएको छ । घोराही-लमही सडक खण्डको मोडहरुमा परेका खाडलहरुको मर्मत छिट्टै हुने कार्यालयका सूचना अधिकारी अमिर सुवेदीले जानकारी बताए । ‘मर्मतका लागि ठेक्का भइसकेको छ, छिट्टै काम शुरु हुन्छ’ । यो सडकमा दिनहु हजार बढी सवारी साधन गुड्ने गर्छन् ।
प्रतिक्रिया