बुटवल । कम्प्युटर एशोसिएशन नेपाल (क्यान) महासंघको आयोजनामा आगामी बैशाख २८ गतेदेखि ‘क्यान इन्फोटेक २०२१’ हुने भएको छ । नेपालमा सूचना, प्रविधि र मनोरञ्जनसम्बन्धी वार्षिकरुपमा आयोजना हुने यो प्रदर्शनी तथा सम्मेलन कोरोना महामारीका कारण विगत वर्षभन्दा ३ महिला ढिला गरि आयोजना हुन लागको क्यानले जनाएको छ । काठमाण्डौंको भृकुटीमण्डपमा ६ दिनसम्म सञ्चालन हुने यो प्रदर्शनी २७ औं संस्करण हो । सन् १९९५ देखि क्यान महासंघले क्यान इन्फोटेक आयोजना गर्दै आएको छ ।
सूचना प्रविधि प्रर्दशनीमा क्यान महासंघका सदस्य संस्थाहरुका साथै विभिन्न राष्ट्रिय र अन्तर्राष्ट्रिय सूचना तथा सञ्चार प्रविधिसम्बन्धी कम्पनीहरुको सहभागिता रहने महासंघका अध्यक्ष नवराज कुंवरले जानकारी गराए । प्रर्दशनीलाई व्यवसायीहरूले व्यापार विस्तारका साथै नयाँ-नयाँ प्रविधिको प्रदर्शनी गर्ने थलोका रूपमा उपयोग गर्न सक्नेछन् भने अवलोकनकर्ताले एकै थलोमा सूचना तथा सञ्चार प्रविधिका नौला र भविष्यका निम्ति प्रविधिहरु र उपकरणको अवलोकन तथा खरिद गर्न पाउने उनले बताए ।
इन्फोटेकले कोभिड-१९ का कारण प्रभावित भएका तथा नभएका सम्पूर्ण सूचना तथा सञ्चार प्रविधि व्यवसायी तथा सम्बन्धित पक्षहरुलाई राहत तथा सहयोग पुग्ने अपेक्षा गरिएको छ । सुचना तथा संचार प्रविधिको क्षेत्रमा भएका विकास तथा नवप्रवर्तनहरुलाई क्यान इन्फोटेकमा ल्याउने महासंघले जनाएको छ । २७ औं क्यान इन्फोटेकको शिर्ष प्रायोजन (टाइटल स्पोन्सर) प्रभु पेले गरेको छ भने सह–प्रायोजन(एसोसिएट स्पोन्सर) वर्ल्डलिंक कम्युनिकेशनको रहेको छ । साथै प्राज्ञिक साझेदार (एकेडेमिक पाट्नर)को रुपमा सनवे कलेज र डिजिटल डिस्प्ले साझेदार(डिजिटल डिस्प्ले पाट्नर)अल्ट्रा एल.इ.डि. रहेको छ । क्यान महासंघले इन्फोटेकका लागि प्लाटिनम, डायमण्ड, गोल्ड र सिल्भरका साथै प्रिण्ट र अफिसियल प्रायोजनका लागि आवेदन खुला गरेको छ ।
इन्फोटेकमा ब्राण्डिङ, आइसिटी एक्ससरिज, गेम पार्लर, प्रडक्ट लञ्चिङ, रोबोटिक्स, इमर्जिङ्ग टेक्नोलोजि, इ–वेष्ट म्यानेजमेण्ट, वाइफाइ तथा इण्टरनेट र लर्निङ सेन्टर तथा सुचना तथा संचार प्रविधि सम्वन्धि रोजगार केन्द्र मुख्य आकर्षणका रुपमा रहने महासंघले जनाएको छ । यसैगरी प्रदर्शनीकर्ताहरुले सफ्टवेयरहरु, नेटवर्किङ र क्लाउड सोल्युशन, मोबाइल फोन तथा सोल्युशन, इलेक्ट्रिकल तथा इलेक्ट्रोनिक्स, सेक्युरिटि सोल्युशन, सोलार पावर सिष्टम, इन्भर्टर, युपीएस, ल्यापटप तथा डेस्कटप कम्प्युटर, प्रिण्टर, पावर सिष्टम, कम्प्युटर एक्सेसरिज, एण्टिभाइरस सफ्टवेयर, बैंकिङ सोल्युशन, सीसीटीभी र हार्ड डिस्क जस्ता उत्पादनहरु प्रदर्शनी तथा विक्रिमा राख्ने बताइएको छ ।
गत वर्ष करिब साढे ३ लाखले अवलोकन गरेको क्यान इनफोटेकको यो संस्करणमा सोहि संख्यामा अवलोकनकर्ता आउने आयोजकको अपेक्षा गरेको छ । यो वर्ष इन्फोटेकमा प्रवेश टिकटलाई पेपरलेस गरिएको महासंले जनाएको छ ।
प्रतिक्रिया