बुटवल । गत वर्ष कोरोना महामारीले स्थगित यस क्षेत्रकै ऐतिहासिक तथा सर्वाधिक पुरस्कार राशीको तिलोत्तमा गोल्ड कप बजेट अभावमा अलपत्र परेको छ । वि.सं.२०३१ सालमा तत्कालिन बुटवल नगरपालिकाको संरक्षकत्वमा सुरु भएको गोल्ड कप फुटबल प्रतियोगिताको २२ औं संस्करण बजेट अभावले अलपत्र परेको हो ।
प्रतियोगिता आयोजनाका लागि संरक्षक संस्था बुटवल उपमहानगरपालिकाले नै बेवास्ता गरेपछि यो वर्ष पनि अन्यौलमा परेको हो । उपमहानगरले खेलकूद विकासका लागि भौतिक संरचनाहरुको निर्माण तथा गतिविधि सञ्चालनका लागि प्रयाप्त बजेको व्यवस्थापन गरेको दाबी गरे पनि आफ्नै संरक्षणमा रहेको गोल्ड कपलाई बेवास्ता गरेको हो । प्रतियोगिता आयोजनाका लागि करोड बढीको खर्च हुने भए पनि उपमहानगरले यो वर्ष ५ लाख रुपैयाँ मात्रै विनियोजन गरेको छ ।
पुरस्कार राशीका लागि मात्रै २२ लाख बढी खर्च हुने प्रतियोगितामा उपमहानगरले सिमित बजेट उपलब्ध गराउँदा आयोजना गर्न नसकिने अवस्थामा पुगेको अखिल नेपाल फुटवल संघ (एन्फा) रुपन्देहीका अध्यक्ष दिर्घबहादुर केसीले गुनासो गरे । ‘उपमहानगरले कमसेकम पुरस्कार राशीको खर्च मात्रै व्यहोर्यो भने पनि अन्य खर्च हामीले प्रायोजक संस्था लगायतबाट व्यवस्थापन गर्न सजिलो हुन्थ्यो ।’-ग्लोबल आवाजसँग कुरा गर्दै केसीले भने ‘गोल्डकपको ऐतिहासिक महत्वलाई पनि मध्यनजर गर्दा प्रथम पुरस्कारनै १० लाख बढीको हुन्छ । यो संस्करणलाई ‘क’ श्रेणिमै राख्नका लागि करोड बढी खर्च लाग्छ ।’
विगतका संस्करणहरुमा ६०/७० लाख खर्च हुने गरेको अनुभव सुनाउँदै उनले महङ्गी र समयानुसार अबको संस्करण आयोजना गर्न करोड बढी खर्च लाग्ने बताए । अघिल्लो संस्करणमा प्रथम पुरस्कार राशी ८ लाख ८० हजार राखिएको प्रतियोगितामा अबको संस्करणका लागि रकम बढाउँनै पर्ने भएकाले १० लाख बढी प्रथम पुरस्कारको राशी हुने उनले बताए । विगतका वर्षमा ८/१० रकम विनियोजन गर्दै आएको उपहानगरले यो वर्ष कोभिडको कारण देखाउँदै ५ लाखमा सिमित गरेको हो ।
बुटवलको एन्फा टेक्निकल इस्टिच्युट देविनगरमा आयोजना हुने यो संस्करणमा विभागिय टिमसहित एक डिभिजनका क्लबहरु तथा विदेशी क्लबहरुले समेत सहभागिता जनाउने गर्छन् । वि.सं. २०४३, २०५८ र २०६७ मा रोकिएको प्रतियोगिता वि.सं.२०७१ सालबाट पुनः निरन्तरता पाए पनि गतवर्षदेखि रोकिएको हो ।
प्रतियोगिता आयोजनाका लागि जिल्ला फुटवल संघ (एन्फा)ले नसक्ने जनाएपछि बुटवल उपमहानगरले नै आयोजना गर्ने गरी तयारी थालिएको नगर खेलकुद विकास समितिका अध्यक्ष नन्दु काउचाले बताए । प्रतियोगिताका लागि मौखिक रुपमा छलफल भइरहेको बताउँदै उनले यसै वर्षभित्र जसरी पनि आयोजना गर्ने लक्ष्य रहेको उल्लेख गरे । करोड बढी खर्च लाग्ने भएकोहुँदा तयारीका लागि समय लाग्ने बताउँदै उनले फुटबल संघसँग सहकार्य गरेर नै यो वर्ष प्रतियोगिता आयोजना गरिने दाबी गरे । बुटवल उपमहानगर संरक्षक रहेको प्रतियोगिता यस क्षेत्रकै ऐतिहासिक र सर्वाधिक राशीको प्रतियोगिता भएकोहुँदा नगर खेलकूद विकास समितिले आयोजना गर्न पाउँनुलाई अवसरका रुपमा समेत लिएको उनले बताए ।
तिलोत्तमा गोल्डकपको २२ औं संस्करणका लागि तयारी भइरहेको बताइए पनि देखिनेगरी कुनै काम भएको छैन । अहिलदेखि नै तयारीलाई तीब्रता दिन नसक्ने हो भने यो वर्षभित्र आयोजना गर्न मुस्किल पर्ने फुटबल प्रशिक्षक यम गुरुङ बताउँछन् । प्रतीयोगितामा विभागीय टिम तथा ए डिभिजनका क्लबहरुलाई सहभागी गराउनका लागि उनीहरुको खेल तालिकालाई पनि मध्यनजर गर्नु पर्नेहुँदा तयारीको समय लामो हुन सक्ने उनले बताए । ‘नाम चलेका क्लबहरुलाई सहभागी गराउनका लागि उनिहरुको खेल तालिका र व्यस्तता अनुसार दुई महिना बढी समय लाग्न पनि सक्छ ।’-गुरुङले भने ‘ठूला प्रतियोगिताहरु एक-आपसमा जुध्यो भने पनि सहभागि गराउँन सकिँदैन ।’ देशका चर्चित तथा सर्वाधिक पुरस्कार राशीका आयोजनाहरु अन्यौलमा रहेको अवस्थामा उनीहरुलाई हेरेर तिलोत्तमा गोल्डकपले मिति तय गर्नु पर्ने उनले बताए ।
केहीदिनमै पोखरामा आहाँ रारा कप फुटबल हुँदै छ भने विराट गोल्डकपको मिति तय गर्नका लागि छलफल भइरहेको छ । यसैगरी बुढासुब्बा गोल्ड कप यो वर्ष आयोजना नहुने भएपनि खप्तड गोल्डपक अन्यौलकै अवस्थामा छ । यसरी देशका महत्वपूर्ण गोल्डकपहरु समेत अन्यौलमा रहेको अवस्थामा तिलोत्तमा गोल्ड कपको मिति तय गर्न उनीहरुको निर्णयलाई पनि विचार गर्नु पर्ने उनको सुझाब छ । यद्यपी यो वर्षभित्र तिलोत्तमा गोल्डकप आयोजना गर्न चुनौतीपूर्ण देखिएपनि अहिलेदेखि नै तदारुकता देखाउने हो भने सम्भव हुन सक्ने उनले बताए ।
प्रतिक्रिया