जेठ २०,
रोल्पा । रोल्पामा एक शिक्षिकाको कुटाइबाट १४ विद्यार्थी घाइते बनेका छन् । १४ मध्ये पाँचजनाको त शिक्षिकाको कुटाइबाट हातै भाँचिएको छ । रोल्पाको रुन्टीगढी गाउँपालिका– ८ स्थित झेनाममा रहेको भानु आधारभूत विद्यालयकी शिक्षिका लक्ष्मी पुनको कुटाइबाट उनीहरू घाइते बनेका हुन् ।
विद्यालयमा ढिलो आएको भन्दै शिक्षिका पुनले उनीहरूलाई भाँचिएको बेन्चको खुट्टाले जेठ १२ गते अन्धाधुन्ध हिर्काएकी थिइन् । शिक्षिकाको कुटाइबाट अलगअलग कक्षामा पढ्ने छात्रा भीमकुमारी बाँठा, निर्मला पुन, गौरी घर्ती, शान्ता नेपाली र विमला रोकाको हात भाँचिएको हो । उनीहरूको दाङमा लगेर उपचार गरिएको बताइएको छ । उनीहरूको हात भाँचिएको कारण प्लास्टर गरिएको छ । घटना स्थानीयस्तरमै मिलाउने प्रयत्न पनि भएको थियो । तर, शिक्षिकाले उपचारमा भएको खर्च व्यहार्ने सहमति भएकोमा विद्यार्थीमा थप समस्या भएपछि घाइते विद्यार्थीका अभिभावकले आफ्ना नानीहरूलाई दाङ पुऱ्याउँदा हात भाँचिएको प्रमाणित भएपछि घटना बाहिरिएको हो ।
घटना गाउँपालिकामा मिल्न नसकेपछि अभिभावक प्रहरीसम्म पुगेका छन् । रोल्पा प्रहरीले विद्यार्थी कुट्ने शिक्षिकालाई पक्राउ गरेर कानुनबमोजिम प्रक्रिया अगाडि बढाउन इलाका प्रहरी कार्यालय होलेरीलाई आदेश दिएको बताइएको छ ।
प्रतिक्रिया