जेठ २०,
काठमाण्डौ । अन्तर्राष्ट्रिय दूरसञ्चार सङ्गठन (आईटीयू)ले अन्तरिक्षमा नेपालका लागि छुट्याएको ‘स्लट’मा स्याटेलाइट राख्न सरकारले सम्झौताको तयारी गरेको छ । नेपाल र फ्रान्स सरकारबीच भएको यसअघिको समझदारी अनुसार स्याटेलाइट राख्न नेपाल दूरसञ्चार प्राधिकरणले सम्झौतापत्र तयार गरिरहेको छ । प्राधिकरण स्रोतका अनुसार प्रधानमन्त्री केपी शर्मा ओलीको आगामी जेठ २६ गतेदेखि हुने युरोप भ्रमणका क्रममा फ्रान्समा उक्त सम्झौताको तयारी भइरहेको छ ।
गत फागुन तेस्रो हप्ता सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाको फ्रान्स भ्रमणका क्रममा दुई देशबीच स्याटेलाइट राख्ने विषयमा समझदारी पत्रमा हस्ताक्षर भएको थियो । अन्तरिक्षमा नेपालको आफ्नै स्याटेलाइट राख्ने सरकारी लक्ष्य अनुसार फ्रान्ससँग नेपालले समझदारी गरेको थियो । समझदारी अनुसार नेपाललाई उपलब्ध अर्बिटल स्लटमा स्याटेलाइट सञ्चालन र व्यवस्थापन गर्न सहुलियतपूर्ण आर्थिक तथा प्राविधिकलगायत अन्य सहयोग उपलब्ध गराउन फ्रान्स सहमत भएको थियो । सम्झौता भएको तीस महिनाभित्र अन्तरीक्षमा स्याटेलाइट राखिसक्ने समझदारी पनि त्यतिबेला भएको थियो । स्याटेलाइट सञ्चालनको प्रक्रिया अगाडि बढाउन त्यतिबेला नै नेपाल दूरसञ्चार प्राधिकरण र फ्रान्सको थेल्स एलेनिया स्पेसबीच समझदारीपत्रमा हस्ताक्षर पनि भएको थियो । उक्त समझदारी अनुसार स्याटेलाइट सञ्चालनका सम्भाव्यताका विषयमा थप अध्ययन र सहकार्यका विषय टुङ्गो लगाउन तीन महिनाको समय निर्धारण गरिएको थियो । निर्धारित समयभित्रै सम्झौताका विषय टुङ्गो लगाउन फ्रान्सको थेल्स एलेनिया स्पेसका प्रतिनिधि यतिबेला नेपालमा छन् ।
दुवै पक्ष बीचको छलफलपछि स्याटेलाइट राख्ने सम्झौता करिब टुङ्गोमा पुगेको छ, नाम उल्लेख नगर्ने सर्तमा प्राधिकरणका एक अधिकारीले भन्नुभयो, अहिले सम्झौतापत्रको तयारी भइरहेको छ । थेल्स एलेनिया अन्तरीक्षमा आधारित उपकरण निर्माण, डिजाइन र सञ्चालनका लागि विश्वमै चर्चित कम्पनी हो । यसमा थेल्स समूह र लिओनार्डो समूहको हिस्सेदारी छ । अन्तरिक्षमा आफ्नै स्याटेलाइट स्थापना गर्न २० देखि ४० अर्ब रुपियाँ लाग्ने प्राधिकरणको प्रारम्भिक अनुमान थियो । यद्यपि फ्रान्ससँगको सहमति अनुसार सम्भव भएसम्म कम लगानीमै स्याटेलाइट राख्ने योजना सरकारको छ । अन्तरिक्षमा राखिने उक्त स्याटेलाइटको आयु भने १५ वर्षमात्र हुनेछ । स्याटेलाइट उपयोगबापत बर्सेनि बाहिरिने रकम यसले रोक्ने अनुमान गरिएको छ । खासगरी दूरसञ्चार सेवा, टेलिभिजन, मौसम प्रणाली लगायतका क्षेत्रमा नेपालमा स्याटेलाइटको उपयोग हुने गरेको छ । अहिले चीन, बेलायत र हङकङका स्याटेलाइट मार्फत नेपाली कम्पनीले यस्तो सुविधा लिँदैआएका छन् ।
यसअघि गत वैशाख ४ गते नेपाली झण्डा अङ्कित सानो आकारको स्याटेलाइट अन्तरिक्षमा प्रक्षेपण गरिएको छ । जापानको क्यूसु विश्वविद्यालयमा अध्ययनरत नेपाली विद्यार्थीले शोधका रूपमा तयार गरेको उक्त स्याटेलाइट व्यावसायिक प्रयोजनका लागि उपयोग हुने छैन । यद्यपि उक्त स्याटेलाइटबाट प्राप्त हुने तस्बिर नेपालको मौसम प्रणाली अनुमान गर्नका लागि सहयोगी हुने अनुमान गरिएको छ । सरकारी प्रयासमा अन्तरिक्षमा राख्न लागिएको स्याटेलाइट भने ठूलो आकारको र व्यावसायिक प्रयोजनका लागि उपयोग हुनेछ । -विश्वास रेग्मी
प्रतिक्रिया