जेठ १९,
संखुवासभा । पूर्वी पहाडी जिल्ला संखुवासभाको पुरानो सदरमुकाम चैनपुर बजारमा ६ सय वर्ष पुरानो इँटा फेला परेको छ । चैनपुर नगरपालिका–६ मा भेटिएको त्याे इँटा मल्लकालीन समयमा उत्पादन भइ प्रयोगमा आएको दावी गरिएको हो । चैनपुरका स्थानीय नारायण श्रेष्ठको घरको पिंढीमा प्रयोग भएको इँटा १४औंँ शताब्दीभन्दा अघिको रहेको इतिहासविद् डा.रमेश ढुंगेलले दावी गर्नुभयो ।
संखुवासभा जिल्लावासी समेत रहनुभएका ढुङगेलले त्याे इँटा मल्लकालीन समयको भएको दावी गर्नुभयो । ढुङगेल अहिले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको विज्ञटोली सदस्य हुनुहुन्छ । चैनपुर बजार ऐतिहासिक महत्व बोकेको ठाउँ हो । तर अहिलेसम्मको इतिहासमा नयाँ कुराको प्राप्ति भएको इतिहासविद् ढुङगेलले बताउनुभयो । उहाँले भन्नुभयो, ‘यहाँ कति आएर बसे तर अहिलेसम्मकै नयाँ कुरा चाँहि अहिले भेटियो, ६०० सय वर्ष भन्दा पुरानो इँटा फेला पर्नु चानचुने कुरा होइन । यसले चैनपुरको इतिहासमा महत्वपूर्ण प्रमाण थपेको छ । यसले के पुष्टि गर्छ भने नेपाल एकीकरणभन्दा अगाडि नै चैनपुरको ऐतिहासिकता रहेछ ।’ फेला परेकाे इँटाको लम्बाइ १४ इन्च, चौडाइ ८ इन्च र मोटाइ २ इन्च रहेको छ । पुरातत्व विभाग, जनप्रतिनिधि र स्थानीयलाई आह्वान गरी रेलिङ राखेर यसको सुरक्षा गर्नुपर्ने बताउँदै ढुङगेलले भन्नुभयो, ‘यसबारे पुरातत्व विभागमा लिखित जानकारी गराएपछि विभागका कर्मचारी आएर थप खोजबिन गर्नेछन् ।’
चैनपुर बजारमा अझै पनि पुराना शैलीका घर प्रशस्त छन् । मल्लकालीन इँटा फेला परेकाले यस क्षेत्रको महत्व अझ बढेको चैनपुरका मेयर भरतकुमार खत्रीले बताउनुभयो । स्थानीय सरकारले संरक्षणको काम थाल्ने उहाँको भनाइ छ । नवौं देखि १४ औं शताब्दीसम्म यसप्रकारको इँटा उत्पादन हुने गरेको थियो । चैनपुरका अन्य पुराना घरहरुमा पनि यस्तै इँटा प्रयोग भएको हुनसक्ने अनुमान गरिएको छ । अहिले भेटिएका पुराना इँटा प्रयोग भएको घरका धनी नारायण श्रेष्ठ भने विराटनगरमा बस्दै आउनुभएकाे छ ।
चैनपुरकाे पुरानाे मेजर पाटी
चैनपुरमा रहेका विभिन्न ऐतिहासिक सम्पदामध्ये मेजर पाटी पनि एक हाे ।मेजर पाटीका रूपमा रहेको पाटीलाई त्यस समयमा बस्नेत पौवा भनिने गरेको पाइएको इतिहासविद् ढुंगेलको भनाइ छ । भोट र सिक्किममा युद्ध लडेर चैनपुरलाई एकीकृत नेपालमा मिलाउन दोस्रो मुख्य काजी बत्तावरसिंंह बस्नेत टोलीको योगदान रहेको इतिहास छ । विक्रम संवत् १८४५ मा स्थानीय स्तरमा नेतृत्व गर्ने आशा खत्री, मनोहर डाँगी, स्वरुप डाँगी, विश्राम राउत र लिम्बू जातिका लडाकूलगायत विभिन्न जनजातिलाई आफ्नो पक्षमा लिएर चैनपुरलाई नेपालको क्षेत्रमा राखिएको ढुंङगेलले बताउनुभयो । उहाँका अनुसार १८३०–३१ मा पृथ्वीनारायण शाहका पालामा बत्तावरसिंंहका बुवा जनरल अभिमानसिंंह बस्नेतको फौजले लडाइँ नगरी चैनपुर क्षेत्रलाई एकीकृत नेपालमा मिलाएको इतिहासमा उल्लेख छ । सिक्किम र भोटको युद्धले चैनपुरलाई आफ्नो बनाएको थियो । तर पछि बत्तावरसिंंहको टोलीले फिर्ता ल्याएको थियो । चैनपुर फिर्ता भएको विजयको खुसियालीमा मेजर पाटी बनाइएको ढुंगेलको भनाइ छ । अहिले पनि मेजर पाटी सबैको बिसौना केन्द्र भएको छ ।
पुराना हतियार फेला
केही समयअघि भोटखोला गाउँपालिकाको हटिया र गोलामा समेत पुरानो हतियार फेला परेको थियो । संखुवासभाको किमाथाङ्का, हटिया, गोला, गढी बजार, खाँदबारी र चैनपुर लगायतका स्थानमा नेपाल एकीकरणको समयमा भोटसँग लडाइँ भएको र लडाकूहरुले हतियार लुकाएको, गढी बनाएको जस्ता थुप्रै खालका ऐतिहासिक महत्व बोकेको इतिहासविद्हरुको दावी छ । तर ती सबै ठाउँहरुको बारेमा पर्याप्त मात्रामा प्रमाण जुटाउन नसकिरहेको उहाँहरुको भनाइ छ । -नवीन गुरुङ
प्रतिक्रिया