१६ जेठ ।
खगोलविद्हरुले सौर्यमण्डलभन्दा बाहिर नयाँ ग्रह रहेको बताएका छन् । पृथ्वीको आकार बराबरका १८ वटा ग्रह पत्ता लगाएको एक हप्तापछि नयाँ ग्रह भेटिएको घोषणा गरिएको हो । एनजिटिएस-४ बि नामाकरण गरिएको उक्त ग्रह पृथ्वीभन्दा ३ गुणा ठूलो रहेको खगोलविद्को भनाइ छ । यो ग्रह बुध ग्रहभन्दा तातो छ ।
यसको तापक्रम १८ सय ३२ डिग्री फरेनहाडट छ । साथै यसको आफ्नै ग्यासयुक्त वायुमण्डल रहेको समेत बताइएको छ । यो ग्रहले करिब ३२ घण्टा लगाएर आफ्नो नजिकको तारालाई परिक्रमा गर्छ । खगोलविद्को एक समूहले नेक्स जेनेरेशन ट्रान्सिज सर्भे गरी उक्त नयाँ ग्रह पत्ता लगाएका थिए । नयाँ ग्रहसम्बन्धी विवरण सोमबार रोयल एस्ट्रोनोमिकल सोसाइटीको जर्नलमा प्रकाशित भएको थियो । हाम्रो मण्डलभन्दा बाहिर रहेको हुनाले यस ग्रहलाई निषेधित ग्रह (forbidden planet) भन्ने उपनाम समेत दिइएको छ । जर्नलमा प्रकाशित विवरण अनुसार सौर्यमण्डलभन्दा बाहिर रहेको क्षेत्र (Neptunian desert) मा उक्त ग्रह रहेको छ । नेप्चुनियन डिजर्ट हाम्रो सौर्यमण्डलभन्दा बाहिर रहेको यस्तो क्षेत्र हो जहाँ वरुण जत्रा ग्रह पाइँदैनन् । यो क्षेत्रको तापक्रम ताराबाट आउने अत्याधिक विकीरणका कारण धेरै हुन्छ ।
विकीरणबाट वायुमण्डल नष्ट हुने, वाष्फीकरण हुने र ग्रहको केन्द्रभागमा रहेको चट्टानी भाग मात्रै बाँकी हुने गर्छ ।तर एनजिटीएस-४ बि वरपर ग्यासयुक्त वायुमण्डल रहेको विवरणमा उल्लेख गरिएको छ । यो ग्रह १० लाख वर्ष पहिला उक्त क्षेत्रमा आएको आएको वैज्ञानिकहरुको दाबी छ । सुरुमा यो ग्रह निकै ठूलो रहेको र वायुमण्डलको वाष्पीकरण भइरहेको उनीहरुको भनाइ छ ।-एजेन्सी
प्रतिक्रिया