जेठ १५,
काठमाण्डौ । पाठ्यक्रम विकास केन्द्रले सरकारी स्वीकृतबिनाको पुस्तक विद्यालयमा परीक्षणका लागि पठाएको पाइएको छ । कानूनतः शिक्षा मन्त्रालयको स्वीकृति पछि मात्रै पुस्तक लागू गर्नुपर्ने हुन्छ । पाठ्यक्रम विकास केन्द्रले परीक्षणका लागि विद्यालयहरुमा कक्षा १ को ‘मेरो नेपाली’ विषयको पुस्तक मन्त्रालयको अनुमतिबिनै नाम परिवर्तन गरेर ‘भाषा संसार’ कायम गरी विद्यालयहरुमा पठाएको हो ।
केन्द्रले यस वर्ष सातै प्रदेशमा हुनेगरी काठमाडौं उपत्यकाका सहित १८ जिल्लाका १०३ विद्यालयहरुमा कक्षा १ को नयाँ पाठ्यपुस्तक परीक्षण गरेको छ । परीक्षणसँगै अर्को वर्ष ती पुस्तकहरु देशैभर लागू हुने केन्द्रले जनाएको छ । आउँदो साल कक्षा २ को परीक्षण हुने र हरेक वर्ष कक्षाहरु बढ्दै जाने केन्द्रका अधिकारीको भनाइ छ । केन्द्रले परीक्षणकै क्रममा कक्षा १ को मेरो नेपाली पुस्तकको ठाउँमा ‘भाषा संसार’ नामको पुस्तक विद्यालयमा पठाएको हो । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले भने विद्यालयहरुमा परीक्षणका लागि पाठ्यपुस्तक लागु गर्न अनुमति दिएपनि विषयको नाम परिवर्तन गर्ने विषयमा अनुमति नदिएको जनाएको छ । मन्त्रालयका सचिव खगराज बरालले पाठ्यपुस्तक परीक्षणका लागि मन्त्रालयले अनुमति दिएको भएपनि विषयको नाम परिवर्तनबारे कुनै अनुमति नदिएको स्पष्ट पार्नुभयो । ‘कक्षा १ को मेरो नेपाली विषयलाई भाषा संसार बनाएको पाइयो । यसबारे केन्द्रका महानिर्देशकलाई नेपाली भाषा संसार बनाउन भनिसकेका छौं,’ सचिव बरालले भन्नुभयो । ‘मेरो नेपाली विषयलाई हटाएर भाषा संसार लागू गर्नु हुँदैन । नेपाली शब्द नहटाउन मन्त्रालयले भनिसकेको छ,’ बरालले भन्नुभयो । सचिव बरालको भाषा संसार पुस्तक लागू गर्न भनेर अनुमति नै नदिएको अभिव्यक्तिले पनि पाठ्यक्रम विकास केन्द्रले परीक्षणका लागि पठाएको पुस्तक गैरकानूनी देखिन्छ । मेरो नेपाली पुस्तकलाई नेपाली पहिचान नै मेटिनेगरी भाषा संसार राखेर अनुमतिबिना विद्यालयमा पठाइएको देखिन्छ । शिक्षामन्त्री अध्यक्ष रहेको राष्ट्रिय पाठ्यक्रम विकास तथा मूल्याङ्कन समितिले पारित गरेको पुस्तक मात्रै विद्यालयमा लागू गर्न पाइने कानूनी व्यवस्था रहेको छ ।
उता, पाठ्यक्रम विकास केन्द्रले भने केही अलग नाम राखौं भनेर नेपाली हटाएर भाषा संसार राखिएको जनाएको छ । पाठ्यक्रम र शिक्षक गाइडमा पनि मेरो नेपाली नै विषय भएको भएपनि किताबको नामचाहिँ विषय समितिले परिवर्तन गरेको केन्द्रले जनाएको छ ।
भाषाविद्हरु भन्छन् : चल्न दिँदैनौं
पाठ्यक्रम विकास केन्द्रले एक्कासी कक्षा १ को नेपाली विषयको नाम परिवर्तन गरी भाषा संसार बनाएपछि भाषाविद्हरुले भने त्यसको विरोध गरेका छन् । नेपाली भाषाविद्हरुले कुनैपनि बहानामा नेपाली विषयको नाम परिवर्तन आफूहरुलाई मान्य नहुनेसमेत चेतावनी दिएका छन् । नेपाली भाषाविद् एवं मानक नेपाली भाषा अभियान अन्तर्राष्ट्रिय सञ्जालका अध्यक्ष डा. खगेन्द्र लुइटेलले नेपाली विषयको नाम परिवर्तन गरिनु नेपाली भाषामाथिको नै प्रहार भएको प्रतिक्रिया दिनुभएको छ । कुनै हालतमा पनि यसलाई लागू गर्न नदिने उहाँ बताउनुहुन्छ । भाषामाथिको यो एक दुष्प्रयास हो भन्दै डा. लुइटेलले यसो गर्नेहरुका निम्ति नै दुभाग्र्यपूर्ण हुने चेतावनी दिनुभयो । ‘नेपाली भाषा कसैको पेवा होइन, किताबको भित्र विषयवस्तु उही छ भन्दैमा पनि किताबको नाम फेर्न पाइँदैन र यसलाई बदल्न दिइँदैन पनि,’ उहाँले भन्नुभयो ।
अर्का भाषाविद् शरच्चन्द्र वस्ती कुनै आवश्यकता, तर्क र तुकबिनै पाठ्यक्रम विकास केन्द्रले नेपाली विषयको नाम परिवर्तन गर्नु गलत रहेको बताउनुहुन्छ । नेपाली विषयबाट नेपाली शब्द नै हटाउनु नेपाली भाषालाई कमजोर पार्ने खेल भएको उहाँको भनाइ छ । मानक नेपाली भाषा अभियान अन्तर्राष्ट्रिय सञ्जालका उपाध्यक्ष डा. विजय सुब्बाले नेपाली विषयको नाम परिवर्तन गरी भाषा संसार राखिनु सरासर गलत भएको बताउनुहुन्छ । ‘पहिलेदेखि चलिआएको र पहिचान बनाएको नामलाई परिवर्तन गरिनुहुन्न । यदि सबै भाषा भाषिलाई समेट्न भाषा संसार राखिएको हो भनेपनि नेपालीभित्रै सबै भाषा अटिहाल्छन् नि !’ डा. सुब्बा भन्नुहुन्छ । यो निर्णय तुरुन्त फिर्ता हुनुपर्ने उहाँको जिकिर छ ।
त्रुटि भएको भए सच्याउँछौं–महानिर्देशक
यता, पाठ्यक्रम विकास केन्द्रले विषय समितिले नेपाली विषयको नाम परिवर्तन गर्दा त्रुटि भएको भए सच्याउन सकिने जनाएको छ । केन्द्रका महानिर्देशक डा. लेखनाथ पौडेलले कक्षा १ को पुस्तक परीक्षणका क्रममा रहेकाले त्रुटि पाइए सुझाबका आधारमा सुधार गर्न सकिने बताउनुभयो । विषय समितिले केही अलग नाम राखौं न त भनेर किताबको नाम परिवर्तन गरेको स्पष्ट पार्दै महानिर्देशक पौडेलले यस विषयमा मन्त्रालय र राष्ट्रिय पाठ्यक्रम विकास तथा मूल्याङ्कन समितिबाट अनुमति नलिइएको स्वीकार गर्नुहुन्छ । ‘यसबारे अनौपचारिक रुपमा विषय समितिसँग छलफल भएको छ । पौषमा पुस्तकको अन्तिम पुनरावलोकन हुँदा किताबको नाम परिवर्तन गर्न सकिन्छ,’ महानिर्देशक पौडेलले भन्नुभयो । कुनै नियतवश् नभई केही नयाँ नाम राखौं न त भनेर मेरो नेपालीको ठाउँमा भाषा संसार राखिएको हुनसक्ने महानिर्देशक डा. पौडेलले तर्क गर्नुभयो ।
नेपाली नै किन हट्यो ?
पाठ्यक्रम विकास केन्द्रले यस वर्ष कक्षा १ मा परीक्षणका लागि तयार पारेका पाठ्यपुस्तकहरुमा अन्य विषयमा भने कुनै परिवर्तन गरिएको छैन । ४ वटा पुस्तकमध्ये गणित संसार, हाम्रो सेरोफेरो, माइ इंग्लिस (मेरो अंग्रेजी) को नाममा परिवर्तन गरिएको छैन । मात्र मेरो नेपाली पुस्तकको नाम परिवर्तन गरी भाषा संसार राखिएको छ । परीक्षणका पुस्तक नपठाइएका देशभरका अन्य विद्यालयहरुमा भने मेरो नेपाली पुस्तक नै पुगेका छन् । भाषा संसार परीक्षणका लागि तयार पारिएको पुस्तक भएपनि अर्को वर्ष यो मुलुकभर पुग्नेछ । भाषा संसार पुस्तकमा प्रयोग भएका कतिपय कार्टुनहरु नेपाली मौलिक प्रकृतिका नभई विदेशी जस्तो देखिने प्रयोग गरिएका छन् । यसको पनि आलोचना भएको छ ।
नेपाली भाषामाथि प्रहार
२०६९ सालमा नेपाली भाषाको वर्णविन्यास बिगारेर यसमाथि प्रहार शुरु भएको थियो । पछि त्यसलाई शिक्षा मन्त्रालयले फिर्ता लिएपनि त्यसपछि पनि नेपाली भाषा र वर्ण माथिको प्रहार रोकिएको छैन । २०६९ साउनमा कक्षा १ देखि १० सम्म नेपाली भाषा माध्यमका पाठ्यपुस्तकमा ‘वर्णविन्यास’ परिवर्तन गर्ने नाममा कर्मचारीको सामान्य टिप्पणी फाइलका भरमा पहिलाका वर्णविन्यास परिवर्तन गरिएको थियो । तर, पछि भाषाविद्हरुले यसमा चर्को विरोध गरेपछि शिक्षा मन्त्रालयले सो गल्ति सच्याउन बाध्य भएको थियो । नेपाली भाषाको मानक निकाय नेपाल प्रज्ञा प्रतिष्ठान र त्रिभुवन विश्वविद्यालयको नेपाली विभाग र भाषा बचाऊ आन्दोलन समितिहरुले तुरुन्तै सच्याउन माग गर्दै विरोध गरेपछि शिक्षा मन्त्रालयले पुनः पुरानै वर्णविन्यास प्रयोग गर्ने निर्णय गरेको थियो । यसको विरोधमा शिक्षा पत्रकार समूहले बृहत् अन्तक्र्रिया नै आयोजना गरेको थियो । पछि मानक नेपाली भाषा अभियानकै सक्रियतामा नेपाली भाषामा छापिने अन्य विषय, राष्ट्रिय परीक्षाबोर्ड, विश्वविद्यालयहरुका प्रश्नपत्र आदिमा पनि मानक नेपालीको शुद्ध प्रयोग हुने व्यवस्था भएको थियो । हाल सोही अभियानकै कारण बैंकको एटिएममा समेत नेपाली भाषा प्रयोग हुनुपर्ने अनिवार्य व्यवस्था गरिएको छ । तर, अर्कोतिर विद्यालयका पाठ्यक्रममा भने नेपाली विषयकै नेपाली शब्द हटाउने दुष्प्रयास भएको देखिन्छ । वर्णविन्यास परिवर्तन गर्ने निर्णय सच्याएपछि पनि केही समय पाठ्यपुस्तकहरुमा पुरानै वर्णविन्यासका पुस्तकहरु पुगेका थिए ।
कसरी बन्छ पाठ्यपुस्तक ?
परीक्षणका लागि पाठ्यपुस्तक तयार पर्दा शुरुमा विषय विज्ञ र विषय शिक्षकहरुबीच कार्यशाला गरिन्छ । पटक–पटकको कार्यशाला पछि पुस्तकको प्रारम्भिक मस्यौदा बन्छ । सोहीअनुसार लेखकले पुस्तकको खेस्रा तयार पार्छन् । सो खेस्रा समन्वय समितिमा जान्छ । त्यहाँबाट सुधार भएर आएपछि विषय समितिले अन्तिम टुङ्गो लगाउने गर्छ । र त्यसलाई शिक्षामन्त्रीको अध्यक्षतामा रहेको राष्ट्रिय पाठ्यक्रम विकास तथा मूल्याङ्कन समितिले पारित गरेपछि छपाई गरी विद्यालयमा परीक्षण गरिन्छ । परीक्षणका क्रममा आएका सुझाबका आधारमा परिवर्तन गरी अन्त्यमा सबै विद्यालयमा लागू गरिन्छ । -रोशन क्षेत्री गाउँले
प्रतिक्रिया