काठमाण्डौं । सन् २०१९ मा आफ्नो एक जना ग्राहकबाट औसतमा दुई सय ६९ रुपियाँ आम्दानी गरेको एनसेलको त्यस्तो आम्दानी सन् २०२० मा प्रतिग्राहक दुई सय १४ रुपियाँमा सीमित भयो । सोही वर्ष कुल आम्दानीको २२ प्रतिशत डेटा बिक्रीबाट प्राप्त गरेकोमा कम्पनीको यो हिस्सा बढेर सन् २०२० मा २४ प्रतिशत पुग्यो ।
पछिल्लो वर्ष एनसेलको आम्दानी १२ अर्ब रुपियाँभन्दा बढीले घटेको छ । आम्दानी ४१ अर्ब ९२ करोड रुपियाँमा झरेको छ । जबकी सन् २०१९ मा कम्पनीले ५४ अर्ब १६ करोड रुपियाँ आम्दानी गरेको थियो । एनसेलको खुद नाफामा त झन् भारी गिरावट नै देखिन्छ । एनसेलको मुख्य लगानीकर्ताले एजियटाले सार्वजनिक गरेको पछिल्लो वित्तीय प्रतिवेदनअनुसार सन् २०२० मा खुद नाफा केवल तीन अर्ब रुपियाँ हाराहारी मात्र छ । सन् २०१९ मा एनसेलले १४ अर्ब रुपियाँ नजिक खुद मुनाफा आर्जन गरेको प्रतिवेदनमा देखिन्छ ।
सरकारी लगानीको नेपाल टेलिकमले नेपाल दूरसञ्चार प्राधिकरणलाई उपलब्ध गराएको वित्तीय प्रतिवेदनअनुसार आर्थिक वर्ष २०७६/७७ मा कम्पनीले ३४ अर्ब ७३ करोड रुपियाँ मात्र आम्दानी गरेको छ । जबकी आव २०७५/२०७६ मा टेलिकमले ३६ अर्ब रुपियाँ आम्दानी गरेको थियो । कम्पनीले माघ ३० गते प्रकाशित गरेको चालू आवको दोस्रो त्रैमासको अपरिष्कृत वित्तीय विवरणमा कुल आम्दानी गत आवको सोही अवधिको तुलनामा एक अर्ब ३४ करोड रुपियाँले घटेर २० अर्ब ५८ करोड रुपियाँ पुगेको उल्लेख छ ।
यद्यपि पहिलो त्रैमासको तुलनामा दोस्रो त्रैमासमा आम्दानी केही बढेको कम्पनीले जनाएको छ । प्राधिकरणका अनुसार नेपालको समग्र दूरसञ्चार बजारको आकार गत आवमा घटेर ९० अर्ब आसपासमा पुगेको छ । त्यसको अघिल्लो आवमा दूरसञ्चार बजार एक खर्ब नाघेको थियो ।
नेपालको दूरसञ्चार बजारमा ९८ प्रतिशत हिस्सा ओगट्ने यी दुई कम्पनीका सेवाको प्रयोग निरन्तर बढ्दो छ । निरन्तर सेवा विस्तारमा लगानी गरिरहेका कम्पनीहरूले आफ्नो बजार घटेको दाबी सार्वजनिक रूपमा पनि गरेका छैनन् । निष्क्रिय प्रयोगकर्ताको नाममा रहेका सिमकार्ड एक वर्षपछि अरूलाई नै बिक्री गर्न सक्ने प्रावधानका कारण तथ्याङ्कमा दुवै कम्पनीका ग्राहकको सङ्ख्या घटेको देखिए पनि समग्रमा दूरसञ्चार सेवाको प्रयोग भने घटेको देखिँदैन ।
प्रयोग बढिरहँदा पनि दूरसञ्चार सेवा प्रदायक आम्दानी सङ्कुचनको अवस्थामा किन छन् त ? दुवै कम्पनीले यसलाई कोरोना सङ्क्रमणको असरको कारण मानेका छन् । एजियटाले आफ्नो प्रतिवेदनमा कोरोना सङ्क्रमणका कारण जारी गरिएको लकडाउनका कारण भौतिक सम्पर्क नहुँदा ब्यालेन्स राख्ने, सिमकार्ड तथा अन्य उपकरणको बिक्री घट्दा आम्दानी प्रभावित भएको उल्लेख गरेको छ ।
त्यस्तै लकडाउनकै अवस्थामा निःशुल्क बोनस रिचार्ज गर्नुपर्ने, कम शूल्कमा डेटा उपलब्ध गराउनुपर्ने नियामकको निर्देशनले आम्दानी घटेको जनाएको छ । टेलिकमको पनि उस्तै कारण छ । कोरोना सङ्क्रमणका कारण निकै कम मूल्यमा डेटा प्याकेज उपलब्ध गराउँदा डेटाको प्रयोग बढे पनि राजस्व घटेको कम्पनीले जनाएको छ । त्यस्तै रोमिङ सेवामा आएको गिरावटले पनि राजस्व प्रभावित भएको कम्पनीको दाबी छ ।
भ्वाइस कलबाट प्रयोगकर्ता डेटातर्फ आकर्षित हुँदा सेवाप्रदायकको आम्दानी विगतदेखि नै घट्न थालेको प्राधिकरणका पूर्वअध्यक्ष भेषराज कँडेलले बताउछन् । भ्वाइस कलको आम्दानी रुपियाँमा हुन्छ, डेटा केही पैसामै पाइन्छ, उनले भने । म्यासेन्जर, भाइबर, ह्वाट्सएपजस्ता ओभर दी टप (ओटीटी) सेवा प्रदायकको प्रयोगले सेवा प्रदायकको अन्तर्राष्ट्रिय रोमिङबापतको आम्दानी
(आईएलडी) घट्दा पनि पछिल्लो समय आम्दानी सङ्कुचनको अवस्था आउन थालेको उनले बताए ।
कँडेलजस्तै दूरसञ्चार विज्ञ प्रणय आचार्य पनि आईएलडीको गिरावटले नै सेवाप्रदायकको आम्दानी घट्नुलाई मुख्य कारण मान्न्छन् । अत्यन्त कम लगानीमा हुने आम्दानी हो आईएलडी, उनी भन्न्छन्, अहिले अनलाइन गतिविधि बढ्दा त्यसले ठूलो असर गरेको । यसबाहेक डेटाको मूल्य घट्दा पनि सेवा प्रदायकहरूले आम्दानी घटेको अनुभव गर्नुपरेको उनको बुझाइ छ ।
आम्दानी सङ्कुचनको अवस्था भोगिरहेका दूरसञ्चार सेवा प्रदायकले अबदेखि परम्परागत रूपमा मात्र सेवा दिएर नहुने उनीहरूको सुझाव छ । नयाँ अवसरको सिर्जना गर्ने र अहिलेकै सेवालाई पुनर्विचार गर्नुपर्ने सुझाव कँडेलको छ । त्यस्तै वाईफाईको उपलब्धताले विस्तार हुँदै गएको डेटा बजारलाई पनि असर पार्ने भएकाले सर्वसुलभ डेटा प्याकेज निर्माणमा ध्यान दिनुपर्ने उनको भनाइ छ । -गोरखापत्र अनलाइन
प्रतिक्रिया