जाकार्ता । इन्डोनेसियामा पत्रकारहरुका लागि कोरोनाभाइरस विरुद्धको खोप लगाउन सुरु गरिएको छ । राजधानी जाकार्तामा राष्ट्रपति जोको विडोडोको उपस्थितिमा बिहीबार पत्रकारका लागि खोप अभियानको सुरुवात गरिएको हो ।
राष्ट्रपति विडोडोले झण्डै पाँच हजार ५०० पत्रकारहरुले कोरोनाविरुद्धको खोप लगाइसकेको जानकारी दिएका छन् । इन्डोनेसियामा यही बिहीबारदेखि शनिबारसम्म पत्रकारहरुलाई कोरोनाविरुद्धको खोप लगाइदिने व्यवस्था गरिएको छ ।
“समाचार सङ्कलनका लागि विभिन्न ठाउँमा जानु पर्ने र विभिन्न व्यक्तिहरूसँग अन्तरक्रिया र सम्पर्क गर्नु पर्ने पत्रकारहरूलाई खोप उपलब्ध गराउँदा उनीहरूलाई काम गर्न सजिलो हुन्छ भन्ने हामीले पूर्ण विश्वास लिएका छौँ,” राष्ट्रपति विडोडोले नेशनल प्रेस डेलीसँग भने । पत्रकारहरुलाई कोरोनाविरुद्धको खोप लगाउने व्यवस्था राजधानी जाकार्तामा मात्रै नभई देशभरीका सवै प्रदेशहरुमा पनि गरिएको उनले जानकारी दिए । कोरोनाभाइरसको महामारीबाट धेरै प्रभावित मुलुक इन्डोनेसियामा कोरोनाभाइरस विरुद्धको खोप लगाउन गत जनवरी १३ देखि सुरु गरिएको हो ।
प्रतिक्रिया