मोरङ । नाम अनुसारको कामले गर्दा वर्षेनि मोरङको बक्राहा नदीबाट जनजीवन प्रभावित हुनाका साथै जनधनको क्षति भइरहेको छ ।
वर्षातमा उर्लिएर आउने बाढीका कारण जनधनको क्षति हुने गर्दछ । हेर्दा सामान्यजस्तो देखिने यस नदीबाट जमीन कटान र बस्ती डुबानमा पर्ने गरेको छ । नदीमा आउने बाढी र कटानको समस्यालाई समाधान गर्न वर्षेनि स्थानीयवासीले आवाज उठाइरहेका छन् । नदी नियन्त्रणको काम पनि नभएका होइन तर नदीमा उर्लिएर आउने बाढीको अगाडि कसको के लाग्छ । अनियन्त्रित बाढी नै स्थानीयवासीको दु:खका कारण बन्न जान्छ । नदीले वर्षेनि दु:ख दिन थालेपछि भर्खरै सरकारले कोशी तथा बक्राहा नदी व्यवस्थापन आयोजना कार्यालय विराटनगरमा स्थापना गरेको छ भने यसबाट नदीको किनार तथा छेउछाउका वासिन्दा उत्साहित भएका छन् ।
पूर्वीउत्तर क्षेत्र उर्लावारी नगरपालिका–१ का सोमनाथ अधिकारीको घर नजीकै बक्राहा नदीमा बाँध लगाउने जानकारी पाएपछि उनी हर्षित छन् । शिरानबाट बगेर आउने यस नदीमा पानीको अत्यधिक वेग हुन्छ । उनले नदीले वर्षेनि धार परिवर्तन गर्नाले पनि कुन वर्ष के हुन्छ अनुमान लगाउन गाह्रो हुने बताए ।
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयअन्तर्गत कोशी तथा बक्राहा नदी व्यवस्थापन आयोजनाले यस वर्ष बक्राहालगायत जिल्लाका अन्य नदी गरी १५ स्थानमा तटबन्ध निर्माण गर्ने योजना बनाएको छ । चालू आर्थिक वर्षमा आयोजनाले बक्राहा, लोहन्द्रा, चिस्याङ र डाँसबक्राहा नदीमा तटबन्ध निर्माण गर्ने गरी प्रक्रिया अघि बढाइएको आयोजनाप्रमुख डिभिजन इन्जिनीयर कैलाश श्रेष्ठले जानकारी दिए ।
उनका अनुसार मिक्लाजुङ्ग–६ मा ३०० मिटर तटबन्ध निर्माणका लागि रु ९२ लाख, उर्लाबारी–३ र ८ मा ३५० मिटरका लागि रु एक करोड ६५ लाखको बोलपत्र आह्वान भइसकेको छ भने पथरीशनिश्चरे नगरपालिका–५ मा १०० मिटरका लागि रु ५५ लाख, सुनवर्षी–६ कयाक्षी र ७ को चेतामा क्रमश: २७५ मिटर र ३१५ मिटर तटबन्ध निर्माणका लागि रु दुई करोड ५२ लाख बजेट विनियोजन भएको छ । रतुवामाई नगरपालिका–१ सोनापुरमा १८३ मिटर तटबन्ध निर्माणका लागि रु ८७ लाख ९६ हजार बजेट निकासा भएको छ । आयोजनाले यी आठ स्थानमा रु छ करोड ६१ लाखको लागतमा एक हजार ५२३ मिटर तटबन्ध निर्माण गर्ने भएको छ ।
बक्राहाबाहेक लोहन्द्रा खोला बग्ने बेलबारी–१ र ५, ग्रामथान गाउँपालिका–४, कटहरी गाउँपालिका–२, चिस्याङ बग्ने कानेपोखरी–५ र ८, रङ्गेली–८ र डाँसबक्राहा बग्ने पथरीशनिश्चरे–८, ९ र १० मा तटबन्ध गरिने आयोजनाले जनाएको छ । कोशी तथा बक्राहा नदी व्यवस्थापन आयोजनाले बक्राहा नदीका सात स्थान र अन्य तीनवटा खोलाका आठ स्थान गरी जम्मा १५ स्थानमा तटबन्ध निर्माणका लागि सहमतिपत्रमा हस्ताक्षर हुनमात्र बाँकी रहेको बताइएको छ ।
गत वर्षको बाढीले बढी असर गरेका स्थान, स्थानीयवासी र जनप्रतिनिधिको सुझावअनुसार तटबन्ध निर्माण गरिने स्थानको छनोट गरिएको आयोजनाका इन्जिनीयर रिन्जे गुरुङले जानकारी दिए । नदीमा आएको बाढीका कारण गत वर्ष ७५ घर बगाइएको थियो । वर्षायाम शुरु हुनुअघि नै काम सम्पन्न गर्नेगरी काम अघि बढेको उनले जानकारी दिए । खेतीयोग्य जमीनलाई नदीको कटानबाट जोगाउन वर्षायाम अघि नै निर्माण सम्पन्न गर्ने गरी छुट्टाछुट्टै निर्माणका लागि प्याकेजमा बोलपत्र आह्वान गरिएको आयोजनाले जनाएको छ ।
बक्राहा, लोहन्द्रा, चिस्याङ र डाँस–बक्राहाले नदीमा आएको बाढीले बढी क्षति गर्दै आएका छन् । नदीले वर्षेनि लाखौँ मूल्य बराबरको धानबाली नष्ट गरेर उब्जाउ जग्गा बगरमा परिणत हुने गरेको छ । बाढीका कारण सयौैँ घर नष्ट हुनु र हजारौँ घर डुबानमा पर्नु यो नदीको मूल विशेषता रहेको छ । उर्लाबारी नगरपालिका–१ का नरबहादुर विश्वकर्माको खोला छेउमा घर भएकाले वर्षातको समयमा आउने बाढीले त्रसित बनी रातभरि जाग्राम बस्नु परेको दु:ख सुनाए । उनले भने “बक्राहा नदीमा आउने बाढीले मेरो केही खेती बगरमा परिणत भएको छ । यसबाट जोगिन सरकारले ठोस योजना बनाउनुपर्ने छ ”, उनले भने ।
जिल्लाको सबैभन्दा दुर्गम स्थान मिक्लाजुङ निवासी राधा निरौला भने, “मानिसले दिएको दु:ख सहन सकिन्छ ,। खोलाले दिएको दु:ख सहन गाह्रो छ किनकि खोलाले एकै पटक सबै थोक बगाएर लैजान्छ ।” सोही स्थानका न्यौपाने बस्तीमा पनि बक्राहा नदी गाउँघरमै पसेर दु:ख दिएको कुरा बिर्सन नपाउँदै फेरि त्यही दु:खको चपेटामा पर्ने गरेकाले न्यौपाने बस्तीका बासिन्दा हिउँदमा भने ढुक्क भएर घरमा बस्ने गरेका छन् ।
मिक्लाजुङ–६ का देवी निरौलाले खोलाभन्दा बस्ती तल भएकाले यस क्षेत्रमा जोखिम धेरै भएको बताउछन् । बाढी आउनासाथ बस्तीमा पसिहाल्ने हुनाले दिगो व्यवस्थापनका लागि धेरै पटक गुनासो सम्बन्धित निकायमा गर्दै आएको बताए । बस्ती विस्तार हुनु र खोला साँघुरिँदै गएपछि बस्ती झन् बढी जोखिममा पर्ने गरेको आयोजनाको अध्ययन रहेको छ । आयोजनाका इन्जिनीयर रिन्जे गुरुङले स्वतन्त्ररुपमा बग्ने नदी मानिसका कारण खुम्चिदै गएकाले समस्या बढेको अनुभव सुनाए । एउटा तटबन्धले ४० देखि ५० हेक्टर जमीनलाई बाढीको क्षतिबाट जोगाउन सकिने इन्जिनीयर गुरुङले जानकारी दिए ।
जिल्लामा सबैभन्दा बढी दु:ख दिने बक्राहा नदीलाई नियन्त्रण एवं व्यवस्थित गर्न आगामी वर्षदेखि एसियाली विकास बैंक (एडिबी)ले पनि लगानी गर्ने योजना बनाएको आयोजनाले जनाएको छ । दीर्घकालीन समस्याको स्थायीरुपमा समाधानका लागि नदी नियन्त्रणका लागि सर्भेको काम भइरहेको छ । बक्राहा नदीको समस्या समाधानका लागि योजनाबद्धरुपमा काम गर्न आवश्यक रहेको नदी क्षेत्रका प्रभावित वासिन्दाको भनाइ छ ।
उर्लाबारी–१ का वीरबहादुर माझीले बक्राहा नदीले खेतीयोग्य जमीन सबै लग्दा भूमिहीन हुनु परेको गुनासो पोखे । उनले खोला छेउ लागेपछि खोलाको बीचमा बिरुवा लगाएर बाली लगाउन शुरु गरे पनि केही वर्र्षपछि हुर्किएका बिरुवासमेत बाढीले बगाएर लगेको बताए । उनले भने, “नदी व्यवस्थापन भएपछि खोलामा पसेको जग्गा फेरि प्राप्त गर्न सक्थे र मेरो दिनचर्या पनि परिवर्तन हुनसक्थ्यो ।”
आयोजनाप्रमुख श्रेष्ठले कार्यालयले तोकिएको समयमा निर्माण सम्पन्न गर्नका लागि नियमितरुपमा अनुगमन गर्ने गरिएको जानकारी दिए । आयोजनाले गत वर्ष रु नौ करोडको लागतमा दुई हजार ३१६ मिटर तटबन्ध निर्माण गरेको थियो । उनले भर्खरै स्थापना भएको कार्यालयले एकैपटक धेरै काम गर्न नसकिए पनि बिस्तारै सबै काम हुँदै जाने र यसबाट नागरिक अत्यधिक लाभान्वित हुने दाबी गरे ।
प्रतिक्रिया