दाङ । बबई गाउँपालिकाले नेपाल मै पहिलो पटक भूमिहीन दलित, भूमिहीन सुकुम्वासी तथा अव्यवस्थित बसोबासीको व्यवस्थपनका लागि जमिन नक्सांकन गर्ने कामको सुरू गरेको छ । नक्सांकनको काम सुरुभएपछि स्थानीय दोलख डाँगी पनि खुशी छन् ।
बबई गाउँपालिका-५ रिमखोलीका डाँगी छिट्टै आफूले खेती गर्दै आएको जमिनको मालिक हुन पाउने भएपछि खुशी भएका हुन् । ‘यो ठाउँमा बस्न लागेको २३ वर्ष भयो, हामी पनि कुनै दिन जमिनको मालिक बनौला र ? भन्ने लाग्थ्यो ।’ -उनले भने, ‘पहिले पनि लालपुर्जा दिने हो भन्ने सुनेको हो तर पाएनौं ।’ डाँगीले अब भने सरकारले केही गर्नेमा विश्वास व्यक्त गरे ।
त्यस्तै सोही ठाउँकी भिमा वली रोकायले पनि लालपुर्जा पाइने भएपछि खुशी छिन् । उनले भुमिहिन हुदाँ धेरै समस्या भोगको गुनासो गर्दै लालपुर्जा पाएपछि त्यो समस्याबाट मुक्त हुने बताइन् । ‘सरकारले हामी जस्ताका दुःख सुन्नु पर्थ्यो ।’-उनीले अगाडी भनिन्, ‘अरुले त सुनेनन् । यो सरकारले सुनेको छ, अब भने केही गर्ने आशा जागेको छ ।’ साथै रोकायाले संसद विघटनपछि फेरी लालपुर्जा बाड्ने काम रोकिने होकि भन्ने शंका लागेको भन्दै त्यसो नगर्न आग्रह गरिन् । विकट बस्तीमा भूमिहीन भएर बस्दा धेरै दुःख भोग्नु परेको सुनाउँदै उनीले छिटो भन्दा छिटो लालपुर्जा वितरण गर्न आग्रह गरिन् ।
मंगलबार मात्र लगत संकल सम्बन्धि काम सम्मपन्न गरेको बबई गाउँपालिकाले बुधबारबाट गाउँपालिकाको विकट बस्ती वडा नम्बर १ र ५ मा जमिन नक्सांकनको काम सुरु गरेको हो । दाङको विगट भनेर चिनिने वडा नम्बर १ को गंगटे, वडा नम्बर ५ को रिमखोलीलगायतका विभिन्न गाउँबाट जमिन नक्सांकनको काम सुरू गरेको गाउँपालिकाले तीन महिना भित्र सक्ने जनाएको छ । त्यसपछि लालपुर्जा बनाएर असारसम्ममा जग्गा धनीलाई वितरण गरिने गाउँपालिकाका अध्यक्ष भुवनेश्वर पौडेलले जानकारी दिए ।
बुधबार नक्सांकन गर्ने काम सुरु गर्दै अध्यक्ष पौडेलले सरकारमा देखिएको विभिन्न समस्याले लालपुर्जा वितरण गर्ने काम नरोकिने बताए । बबई गाउँपालिकाले कात्तिक २७ गते लगत संकलन गर्नका लागि सम्झौता गरेको थियो । सरकारले भूमिहीनलाई लालपुर्जा वितरण गर्नका लागि भूमिसम्बन्धी ऐन, २०२१ को दफा ५२ (ख) को उपदफा (६) बमोजिम भूमिसम्बन्धी समस्या समाधान आयोग गठन गरेर काम सुरु गरेको छ । आयोगले देशभर विभिन्न चरणमा गरेर भूमिहीनलाई लालपुर्जा वितरण गर्ने काम गर्ने छ ।
त्यसैगरी बबई गाउँपालिकाले ४ हजारभन्दा बढी भूमिहीन दलित, भूमिहीन सुकुम्वासी तथा अव्यवस्थित बसोबासीलाई लालपुर्जा वितरण गर्दैछ । भूमिहीन दलित, सुकुम्वासी तथा अव्यवस्थित बबई कार्यापालिका इकाई प्रमुख चन्द्रबहादुर ओलीका अनुसार माघ ५ गतेसम्म लतग संकन गर्दा जम्मा ४ हजार ४४२ भूमिहीन घरधुरी समेटिएका छन् । तर अहिले पनि कोही बाहिर रहेकाले उनीहरू आएपछि यो संख्या बढ्ने इकाई प्रमुख ओलीले बताए ।
माघ ५ गतेसम्म लगत संकलन गर्दा बबईको वडा नम्बर १ मा ८१५ जना भूमिहीनको लगत संकलन गरिएको छ । त्यसैगरी वडा नम्बर २ मा ५१३ जना, ३ मा ३९७ जना, ४ मा ५५७ जना, वडा नम्बर ५ मा ८०५ जना, ६ मा ५७१ जना र वडा नम्बर ७ मा ७८४ जनाको लगत संकलन भएको छ । यो संख्या बढेर जाने प्रमुख ओलीको भनाई छ ।
प्रतिक्रिया