दाङ । नेपाल महिला संघकी पूर्व केन्द्रिय अध्यक्ष एवम् कांग्रेस केन्द्रिय सदस्य डा. डिला संग्रौलाले नेपाली कांग्रेस आगामी १४ औँ महाधिवेशनको तयारीमा जुटिसकेको बताएकी छिन्। संविधानको सर्वोच्चता र पार्टीकोे वैधतालाई बचाउनु कांग्रेसको अहिलेको प्रमुख कार्यभार रहेकाले महाधिवेशनको तयारीमा जुटेको बताइन् ।
नेपाल प्रेस युनियन दाङ शाखाले सोमबार घोराहीमा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा नेतृ संग्रौलाले पार्टीलाई थप उर्जाशील बनाउन र संगठित गर्न क्रियाशील सदस्यता नवीकरण, नयाँ वितरण, पार्टीभित्रको केन्द्रदेखि गाउँ वडासम्मको पार्टी सुदृढीकरण समयमा नै गरी सक्नु पर्ने हुँदा यसतर्फ केन्द्रित भएको बताइन्। यस्तै, नेतृ संग्रौलाले अहिले मुलुक राजनीतिक संकटमा फसेको बताइन् । महिला जागरणको सिलसिलामा दाङमा आउनु भएकी उहाँले संविधानको सर्वोच्चताको सरंक्षणका लागि नेपाली कांग्रेस सरकारको कामलाई लिएर विरोधमा उत्रिएको बताइन् ।
गएको पुुस ५ गते प्रधानमन्त्री केपी शर्मा ओलीले असंवैधानिक तथा अलोकतान्त्रिक रुपमा प्रतिनिधि सभा विघटन गरेपछि २ चरणको आन्दोलनको कार्यक्रम सफलतापूर्वक सम्पन्न गरी सकेको कांग्रेसले तेश्रो चरणको आन्दोलन थालेको जिकिर गरिन् । प्रधानमन्त्री ओलीको उक्त कदम प्रतिगामी, सर्वसत्तावाद तथा असंवैधानिक ठहर गर्दै निर्विकल्प संसद पुनर्स्थापना हुनु पर्ने कांग्रेसको माग रहेको पनि उनले प्रष्ट पारिन् । जस अनुसार कांग्रेसका विभिन्न १३ भातृ संगठनले देशभर सोमबार विरोध कार्यक्रम गरेका छन् ।
नेतृ संग्रौलाले मुलुकले चाहेको अग्रगमन, स्थायित्व र सुशासनका लागि संसद पुनस्र्थापना हुनुपर्ने बताउँदै संविधानमा स्पष्ट रुपमा उल्लेख भएको कुरालाई गलत अर्थ लगाउँदैमा संसद भंग गर्ने अधिकार प्रधानमन्त्री ओलीलाई नभएको तर्क गरिन् । उनले भनिन्, “जनताले झण्डै २ तिहाईको बहुमत दिएर ५ वर्षका लागि स्थायी सरकार चलाउने म्यान्डेट दिएर सरकारमा पठाएको बेला जनताको जनादेशलाई लत्याएर, पार्टीभित्रको आन्तरिक विवाद मिलाउन नसकेर संविधान मै नभएको कुरामा टेकेर यो मुलुकलाई बन्दी बनाउने काम भएको छ, यो संविधानमाथिको ठाडो प्रहार हो ।”
यस्तै, उनले संसद विघटन संवैधानिक की असंवैधानिक भन्ने सवालमा यसको टुंगो लगाउन संवैधानिक इजलाशमा बहश जारी रहेकाले सर्वोच्च अदालतले संविधानमा व्यवस्था भए अनुसार निर्णय गर्नेमा आफु विश्वस्त रहेको बताइन् । देशमा विधिको शासन, कानूनी राज्य, संविधानको सर्वोच्चता, स्वतन्त्र न्यायपालिका, लोकतन्त्रको आधारभूत कुरा भएकाले यसकै जगमा टेकेर सर्वोच्च अदालतले सरकारले चालेको कदमका विषयमा न्यायोचित निर्णय गर्नेमा कांग्रेस ढुक्क रहेको बताइन्।
संसद विघटन भएको अवस्थामा आफु अहिले पनि प्रतिनिधि सभाको सदस्य रहेको दावी गर्दै उनले बितेको ३ वर्षमा संसदमा निकै तितो अनुभव संगालेको बताइन् । कुशासन, अनियमितता, भ्रष्टाचार, अराजकता, बेथिति, मौलिक अधिकारमाथिको लगाम, विवादास्पद विभिन्न विधेयक सरकारका प्रमुख उपलब्धी रहेको आरोप लगाइन् । उनले भनिन्, “सरकार स्वतन्त्रताको विरोधी, मानवअधिकार विरोधी, लोकतन्त्रको विरोधी मात्रै बन्यो, संविधान देखाउने दाँत बनाएर कम्युनिष्ट अधिनायकवाद र सर्वसत्तावाद मात्रै देशमा लाद्न खोजियो, जसको परिणाम आज देखिएको छ ।”
यस्तै, उनले महिला जागरणको अभियान अब गाउँगाउँ टोल टोलसम्म लैजान आवश्यक रहेको बताइन् । मुलुकको हरेक परिवर्तनमा महिलाहरुको भूमिका अहम् रहेको स्मरण गराउँदै उनले अब देशमा महिलाहरुले फेरी पनि आफ्नो भूमिका खोज्नु पर्ने बेला आएको स्पष्ट पारिन् ।महिलाहरुका लागि अहिलेको संविधान र नेपाली कांग्रेसको पार्टीले गरेको व्यवस्था अनुसार एक तिहाई प्रतिनिधित्वलाई जागरुक बनाउनका लागि हरेक स्थानमा जागरण, सचेतना तथा प्रशिक्षण अभियान आवश्यक रहेको उल्लेख गरिन् ।
महिलालाई कुनै पनि स्थानमा प्रतिनिधित्वका लागि मात्रै नभई नेतृत्वमा लैजान, प्रशिक्षित गर्न, सशक्तिकरण गर्न अहम् र महत्वपूर्ण आवश्यकता भएकाले जागरण अभियान लिएर दाङ आएको बताइन् । बुटवलबाट थालिएको जागरण अभियान दाङ, प्युठान, रुकुम, रोल्पा, सल्यान, जाजरकोट, सुर्खेत, बाँके, बर्दियासम्म पुग्ने बताइन् । प्रेस युनियन दाङका अध्यक्ष सन्तोष सुवेदीको अध्यक्षतामा भएको पत्रकार सम्मेलनको सहजीकरण सचिव आरके शीतलले गरेका थिए ।
प्रतिक्रिया