वैशाख २९,
एन.बी.कंडेल /ग्लोबल आवाज
सामान्यतया उद्योगी भन्दा बित्तिकै लगानी र काममा लगाउने व्यक्ति भन्ने बुझाई हुन्छ । तर,एउटा सफल उद्योगी जसले वर्षौदेखि औद्योगिक क्षेत्रमा व्यतित गर्दै देशमै आफ्नो औद्योगिक सम्राज्य स्थापना गर्न सफल उद्योगीको जीवनशैली सामान्य र सरल होला भन्दा अपत्यारिलो लाग्छ । यस्तै अपत्यारिलो सरल,सफल र निरन्तर परिश्रम गर्ने उद्योगी हुन् ,७३ वर्षिय उद्योगी नन्दलाल गोयनका । नेपालका ठूूला औधोगिक घरानाहरु मध्य पर्ने गोयन्का गुु्रपका संस्थापक नन्दलाल उमेरले अवकाश लिने अवधीका भएतापनि अझैपनि उनी निकै जोश र जाँगरले भरपुर छन । उनी विहानै ५ बजे उठ्छन् । नित्यकर्म, चिया, खानासँगै एउटा कर्मचारी जस्तै हरेक दिन विहान १० बजेनै कार्यालय पुुग्छन् । २० वर्षको युुवा उमेरबाट व्यवसायमा प्रवेश गरेका गोयनका अझैपनि काम गर्ने उमेर रहेको बताउँछन् ।
वि.सं.२००३ सालमा पिता पूरनमल र माता कमलादेवी गोयन्काका जेष्ठ सुुपुत्रका रुपमा जन्मेका नन्दलालको परिवार सामान्य थियो । त्यसताका उनका बुवाले नेपालमा सामान्य जागिर गर्दथे । पछि उनका बुवाले बुटवलमा सानो किराना पसल गर्न सुरु गरे, उनी भने अध्ययनका क्रममा भारतमै थिए । वि.सं.२०२२ सालमा राजस्थानबाट बि.कम सम्मको अध्ययन सकेर नेपाल फर्केका उनले बुटवलमा बुवाको व्यवसायमा सघाउन थाले । केही समय बुवाको व्यवसायमा सघाएका उनले अध्ययन पश्चात् नयाँ काम र रोजगारको अनुभव लिने र त्यसलाई भविष्यमा व्यवहारमा उतार्ने मनस्थिति बनाए । सोही अनुसार पुनः भारततर्फ लागे । भारतकै प्रतिष्ठित बिरला समुह अन्तर्गतको उद्योगमा उनले १४ महिना काम गरे । तत्कालिन समयमा १६ हजार कर्मचारी रहेको उक्त कम्पनीमा उनले मासिक ३ सय १० रुपैंयामा काम गरेका थिए । ‘ठूला बडा कहाँ काम गर्दा कस्तो हुन्छ भन्ने जान्नको लागि पनि ठूलो उद्योगमा काम गरेको हुँ ।’उनले भने । भारतमा अध्ययन र जागिरको अनुभव गरेर नेपाल फर्केका उनले स्वदेशमै आफ्नो बुवाले सुरु गरेको व्यवसायलाई विस्तार गर्ने सोँच बनाए । सोही अनुरुप भैरहवामा उनले पसल सुरु गरे । साथै उनले साल्ट ट्रेडिङ्ग,सुगर मिल र जनकपुर चुरोट कारखानाको डिलर पनि लिए । त्यसैक्रममा उनले भैरहवामा नै अर्को किराना पसल समेत थपे । तत्कालिन समयमा व्यवसाय सञ्चालन गर्न कत्तिको सहज वा जटिलता थियो भन्ने जिज्ञासामा उनी भन्छन् ‘काम वा व्यवसाय गर्न कत्तिको सहज र जटिलता हुन्छ भनेर बुझ्नका लागि नै म भारतमा जागिर गर्न गएको थिएँ ।
नीति/नियम,ल एण्ड अर्डर अर्काको अधिनमा बसेर कसरी काम पूरा गर्नु पर्दछ लगाएतका कुराहरु बुझेर नै नेपालमानै केही गर्ने अठोटले फर्केको थिएँ । त्यो अवस्थामा कुनै जटिलता ठूलो लागेन । जनसंख्याको चाप कम थियो । व्यवसायका लागि घर सजिलै प्राप्त भयो । व्यापारमा प्रतिष्पर्धा पनि थिएन ।’ उनले थपे ‘वि.सं.२०२७ सालमा सिद्धार्थ राजमार्ग बनेपछि पाल्पा, स्याङ्गाजा, पोखरासम्मका उपभोक्ताहरु आउन थाले । त्यतिबेला हालको सुनौली बजार थिएन । पछि वि.सं.२०३५ सालमा भैरहवामा नै चामलको गल्ला भण्डार पनि स्थापना गरेँ ।’ १८ वर्षको उमेरमा १५ वर्षिया शारदादेवीसँग मागी विवाह गरी वैवाहिक जीवन यात्रा प्रारम्भ गरेका उनको व्यवसायिक यात्रामा भने कहिल्यै रोकावट आएन । बुवाको संघर्ष र मेहनतलाई मनन गरेका नन्दलाललाई आफ्ना पितासँगै भाई रामगोपाल गोयनकाको पनि राम्रो साथ थियो । व्यवसायिक यात्राको निरन्तरताको क्रममा उनले वि.सं.२०४० सालमा आमाको नाममा भैरहवामै कमला आयल मिल सञ्चालनमा ल्याए । यतिबेला भने पाल्पा, स्याङ्गजा र पोखराबाट आउने ग्राहकको संख्या घटेको थियो । यता तराई भैरहवा, मणिग्राम, बुटवल,लुम्बिनी लगाएतका क्षेत्रमा जनसंख्या बढ्दो थियो ।
हरेक पाइला/योजनालाई पूर्णता दिएर मात्र नयाँ योजनालाई कार्यान्वयन गर्ने उनको पाकोपनलाई निरन्तरता दिँदै उनले विं.सं.२०५० सालमा साझेदारीमा रुपन्देहीको भलवारीमा अरुण फुड्स प्रा.लि.को (फ्लोर मिल) सुरुवात गरे । आफ्ना छोरा अरुणको नामबाट उनले सो उद्योग स्थापना गरेका थिए । पछि साझेदारीमै पडसरीमा अर्को उद्योग एभरेष्ट रोलिङ्ग मिल पनि संचालनमा ल्याए । उनको व्यवसायिक यात्रासँगै देशमा पनि धेरै परिवर्तन आएको थियो । राणाशासनमा जन्मेका उनी, पञ्चायत हुँदै बहुदलिय राजतन्त्र पनि आइसकेको थियो । त्यतिमात्र नभई वि.सं.२०५२ सालमा द्वन्द्व पनि सुरु भएको थियो । तत्कालिन नेकपा माओवादीले सुरु गरेको जनयुद्धको प्रभाव व्यवसायमा पनि देखिन थाल्यो ।
वि.सं.२०५५/५६ मा सो समूूहको नाममा चन्दा माग हुन थाल्यो । तत्कालिन समयमा ठूूलो रकम भने माग नहुने गरेको उनी सम्झन्छन् र भन्छन्‘ १० वर्षे द्वन्द्वकालको बीच समयमा २/४ हजार ८/१० हजार चन्दा माग हुन्थ्यो । त्यति धेरै त माग हुँदैनथ्यो । तर, तत्कालिन समयमा निरन्तर त्यति दिइँरहँदा धेरैनै जान्थ्यो।’ भारतमा काम गर्दा छोटो समयमै धेरै कुराको अध्ययन र अनुभव गरेका उनले एकपछि अर्को व्यवसाय/उद्योग थप्दै /परिमार्जित गर्दै गए । यतिबेला सम्म उनलाई व्यवसायमा साथ दिन छोरा अरुण गोयन्का तयार भैसकेका थिए । भारतमा अध्ययन गर्न गएका उनी वि.सं.२०५१ सालमा बि.कम सकेर नेपाल फर्केपछि उद्योग तथा व्यवसायमा नै सक्रिय हुँदै आएका थिए ।
यसै क्रममा वि.सं.२०६० तत्कालीन साझेदारसंग सहमतिमै अलग भई भलवारी स्थित साझेदारीमा रहेको अरुण फुड्स प्रा.लि.को स्वामित्व साझेदारलाई छाडी पडसरीमा रहेको एभरेष्ट रोलिङ्ग मिल आफ्नो माताहतमा सञ्चालन गरे । त्यसैगरी सोही प्राङ्गणमानै अरुण एग्रो इण्डष्ट्रिज प्रा.लि.नामको आटा, मैदा उद्योगको पनि स्थापना गरे । बुवाको प्रेरणाले व्यवसायिक यात्रामा अघि बढेका उनलाई बुवाको साथ छुटेपनि ब्यवसायीक यात्रामा भाई राम गोपाल गोयनका र छोरा अरुण गोयनकाको राम्रो साथ मिलेको थियो । यही क्रममा उनले वि.सं.२०६७ सालमा गोयनका स्टिल नामको छड उद्योगको स्थापना गरी संचालनमा ल्याए । त्यसको लगत्तै दुई वर्षपछि वि.सं.२०६९ सालमा गोयनका नामको सिमेण्ट उद्योग पनि स्थापना गरे ।
नन्दलालको ७ दशकको उमेर यात्रा र ५ दशकको व्यवसायिक यात्रामा वि. सं.२०७० सालमा उनको ब्यावसायिक तथा पारिवारिक जिवनमा नयाँ मोड आयो । बाबुको साथ, सहयोग र प्रेरणाका साथ तय भएको ब्यावसायिक यात्रामा भाई रामगोपाल, छोरा अरुण र भाइका छोराहरु अजय तथा अमित पनि सहयात्री बनिसकेका थिए । वि.सं.२०७० सालसम्म सगोलमा उद्योग ब्यावसाय संचालन गरिरहेका गोयनका परिवार अब दुई परिवारमा बिभाजित भयो । भाई रामगोपाल गोयनका र उनका छोराहरु उनीसँग पारिवारिक र व्यवसायिक दुबै किसिमले अलग भए । अलगहुदाँ अरुण एग्रो र एभरेष्ट रोलिङ्ग आफ्नो भागमा पर्यो भने गोयन्का स्टिल र गोयन्का सिमेण्ट उनका भाई रामगोपालको परिवारको भागमा पर्यो । यहाँसम्म आउँदा अब उनलाई भाइ र भाइका छोराहरुको ब्यवसायिक साथ छुटे पनि छोरा अरुणको दरिलो साथ रहेको छ भने नाती आँचल समेत उनको ब्यावसायीक यात्रामा सहयात्री भैसकेका छन । यसै साथलाई बलियो बनाउँदै आफ्नो भागमा परेका दुबै उद्योगको थप स्तरोन्नती तथा क्षमता वृद्धि गरी सञ्चालन गरेका छन् ।
उनले वि.सं.२०७३ सालमा भारतबाट चामल आयात गरि व्यापारमा नयाँ आयाम थपे । यसरी भारतबाट चामल आयात गरेर मनग्य मूनाफा आएतापनि उनलाई सन्तुष्टि भने नमिलेको बताए । उनले भने २ दशक अघि नेपालबाट अधिकांश खाद्यान्न भारत निर्यात हुुन्थ्यो । तर, अहिले भारतबाट चामल ल्याएर बेच्नुपर्दा दु:ख लागेको छ । अविरल व्यवसायिक तथा औधोगिक यात्रामा लागेका नन्दलाल गोयनकाले आफ्नो जीवनमा दर्जन बढी उद्योग स्थापना गरे । हाल उनीसँग एभरेष्ट रोलिङ्ग इण्डष्ट्रिज प्रा.लि.,अरुण एग्रो इण्डष्ट्रिज प्रा.लि., हिमचुली इन्टरनेशनल, आँचल एक्जिम जस्ता उद्योग ब्यवसायहरु संचालनमा रहेका छन् । करोडौंका लगानी रहेका उनका उद्योगमा प्रतक्ष्य/अप्रतक्ष्य गरि करिब ३०० जनाले रोजगार प्राप्त गरेका छन् ।
५ दशकभन्दा लामो औधोगिक यात्रा तय गरेका नन्दलालले अहिलेपनि उद्योग व्यवसायमा उत्ति नै सहभागिता, सक्रियता र समय दिने गरेका छन्, जति सुुरुवातमा स्थापित हुनका लागि गरेका थिए । उमेरले बुढो हुनु भयो अब घरमै बसेर आराम गर्न मन लाग्दैन भन्ने ग्लोबल आवाजको प्रश्नमा उनी भन्छन् , नाई ! कहाँ हुनु ? बल्ल काम गर्ने ठीक समय भएजस्तो लाग्दछ । किनकी अहिलेसम्मको अनुभव, जानकारी र ज्ञानले अब काम गर्न झन् सहज हुन्छ । देशमा धेरै परिवर्तन आए तर, अझैपनि अधिकांश व्यवसायी र उद्योगीहरुमा नैराश्यता पाइन्छ । उद्योगमैत्री वातावरण भएन, सरकारले सहयोग गरेन, अस्वस्थ प्रतिष्पर्धा भयो जस्ता नकारात्मक अभिव्यक्ति सुनिन्छ । तर, ७३ वर्षिय उद्योगी नन्दलाललाई त्यस्ता समस्याहरु, समस्या लागेन, चुनौती अवसर लाग्यो । उनले भने ‘समस्या, चुनौती बिनापनि केही हुन्छ र ? जुनसुकै क्षेत्रमा पनि अघि बढ्न त्यो क्षेत्रबारे जानकार हुनु पर्दछ । आफू सम्बद्ध क्षेत्रमा आउने अवसरलाई समस्या र चुनौती बहाना र दोष लगाउनु भन्दा पहिल्यै त्यस्ता समस्या र चुनौती समाधान गर्ने ज्ञान र समाथ्र्य राख्नुपर्दछ ।’
७३ वर्षको उमेरमा पनि पूर्ण स्वस्थ रहेका नन्दलालले केही दशक अघिको औधोगिक नीति र अहिलेको नीतिमा धेरै भिन्नता रहेको बताउछन् । त्यतिबेला बढी उद्योगमैत्री नीति रहेको उनी सुनाउँछन् । वि.सं.२०५० सालमा उद्योग स्थापना गर्दा, थप्दा सरकारको सहयोग बढी थियो । ७ करोडसम्म आयकर छुट प्राप्त हुन्थ्यो । अन्य समस्याहरु पनि कम थिए । कच्चा पदार्थ सहज प्राप्त हुुन्थ्यो । उनले भने । अहिले औद्योगिक क्षेत्रमा देखिएकाका समस्या र चुनौतीका विषयमा हाम्रो धेरै अनुरोधपछि मात्र उनले भने ‘बिजुलीको दर बढी छ, दक्ष, अदक्ष दुबै कामदार अभाव छ, बैंकको लगानीको ग्यारेण्टी छैन कहिले बढ्छ कहिले घट्छ, स्पष्ट नीति छैन, लगानी र उद्योगको सुरक्षा छैन, यस्ता धेरै समस्या र चुनौती छन् ।
राजनीतिमा कुनै चासो नराख्ने नन्दलाल नयाँ पुस्तालाई विदेश नजान आग्रह गर्दछन् । गएपनि सीप, जानकारी र अनुभवका लागि मात्र जान सुझाउछन । कुनैपनि विषयमा जानकारी प्राप्त गरी निरन्तर, मिहिनेत, लगनशिलता, झुकाव र प्रतिष्पर्धा भन्दापनि गुणस्तरियतामा केन्द्रित भए सफलता अवश्य मिल्ने उनको अनुभव र सिद्धान्त छ । कामलाई सानो ठूलो भन्दापनि अपनत्वका साथ जिम्मेवारी निर्वाह गरे जस्तो सुकैे पेशा /काम पनि सम्मानीय र महत्वपूर्ण हुने उनको सन्देश छ ।
राणाशासनमा जन्मेर,राजतन्त्रमा हुर्किएर,बहुुदलमा स्थापित भएर, जनयुद्ध भोगेर ,गणतन्त्रमा पनि नथाकेका उनले व्यवासायिक र उद्योगलाई मन्त्र बनाए । तर, योसँगै उनी सामाजिक व्यक्तित्वका रुपमा समाज सेवामा पनि तत्पर रहे । उनी विभिन्न सामाजिक संघ–संस्थामा आवद्ध रहँदै आएका छन्। उनी मारवाडी सेवा संघ, लायन्स क्लब,संस्कृत विद्या आश्रम, रेडक्रस जस्ता संस्थाहरुमा आवद्ध समाजसेवाबाट सामाजिक दायित्व पनि निर्वाह गर्दै आएका छन् ।
प्रतिक्रिया