प्रधानमन्त्रीद्वारा प्रतिनिधि सभा विघटनको घटनालाई कसरी बुझ्ने ! यो घटनालाई पार्टी भित्रको झगडा र कचिंगलको कारण भनेर बुझ्ने कि, अथवा यो घटना प्रधानमन्त्रीको आवेग र सनकको कारणले मात्र भएको भनेर बुझ्ने ? यदि यो घटनालाई यसरी मात्र बुझियो भने हामीले गम्भीर गल्ती गरिराखेका हुनेछौं । यो प्रतिनिधि सभाको विघटन यिनै कारणले मात्र भएको होइन, यी त निमित्त कारण मात्रै हुन ।
मुल कुरा यो हो कि हामी कहाँ दोस्रो संविधानसभा मार्फत बनेको जुन संविधान छ, त्यो संविधानमा उल्लेखित कतिपय अधिकारहरुमाथि देशका कतिपय पुरातनपन्थी सोंच र चिन्तन् भएका घरानीया परिवारहरु, व्युरोक्याष्टहरु, कतिपय राजनैतिक दलहरू र कतिपय नेतृत्वलाई यो परिवर्तन पटक्कै मन परेको छैन । उनिहरु समाज र देशलाई पुनः २०४७ सालको अवस्थामा फर्काउन चाहान्छन् । त्यसखालका विचार, चिन्तन र शक्तिहरूको नेतृत्व यतिबेला के.पी. ओलिले गरेका छन् । यो घटनामा बाहिरी शक्तिहरू जस्ले ०६२/०६३ सालको जनअन्दोलनको समय ‘हमरा टु पिलरका शिद्धान्त’ भन्ने गर्दथे उनीहरुको पनि विचार मिसिएको छ भन्नलाई प्रसस्त आधारहरु रहेका छन् ।
यो यतिबेलाको संघर्षलाई मात्र निर्वाचन ठिक कि बेठिक, निर्वाचनमा जाने कि नजाने, संसद विघटन ठिक कि बेठिक, उनले काम गर्न पाएका थिए कि थिएनन्, भनेर टिपिकल कुरामा मात्र बहस गरिरहनु बालापन मात्रै हुनेछ । त्यसैले अहिलेको बहस, दुई विचार, दुई चिन्तन,जसमा अग्रगमन र पश्चगमन, ०४७ तीर समाजलाई फर्काउने कि संविधानको रक्षा गर्दै अगाडि बढ्ने, यदि हामीले विषयलाई यसरी बुझेनौं र चुनावमा को पहिलोको चेतनामा मात्र अल्झियौं भने हाम्रा प्राप्त सबै अधिकारहरु गुम्ने र समाज फेरि २० वर्ष पछाडि फर्कने सम्भावनालाई नजर अन्दाज गर्न मिल्दैन ।
प्रतिनिधि सभाको विघटन वैशाखमा निर्वाचन गराउनको लागि पवित्र उद्देश्यले ल्याएको भनि बुझ्नु लोकतन्त्रको उन्नत अभ्यास हो भनेर बुझ्नु गम्भीर भुल हुन जान्छ । जसरी मिष्ठान्न पदार्थ स्वस्थ व्यक्तिको लागि राम्रो हुन्छ भने सुगरको विरामिलाई मृत्युको कारण बन्न सक्छ । जसरी भर्खरै कम्पनीबाट निकालेको नयाँ गाडी पनि नियत नराम्रो भएको गुरुजीलाई जिम्मा लगाउँदा दुर्घटना गराउदछ । ठिक त्यसरी नै जसले आजसम्म लोकतन्त्रको अभ्यास नै गरेन, खासगरी तीन वर्षे शासन कालमा कुनै लोकतान्त्रिक विधि पद्धतिबाट अगाडि बढेको देखिएन भने उसैले उन्नत लोकतान्त्रिक अभ्यासको लागि यो कदम चालेका छन् भनि बुझ्नु मुर्खता नै हुनेछ ।
हामीकहाँ एउटा उखान छ ‘हातको माछा छाडेर मुसाको दुलामा हात’, भने जस्तै उनले दुई तिहाई नजिकको सत्ता गुमाएर वैशाखमा दुई तिहाई प्राप्त गरि ‘समृद्ध नेपाल’ बनाउने योजना छ कि भनि कल्पना गर्नु राजनैतिक अज्ञानता नै हुनेछ । उनलाई यो कुरा राम्रोसंग थाहा छ कि वैशाखको चुनावले उनलाई सत्तामा ल्याउने छैन । त्यसैले उनी आफै सत्ता बाहिर हुने खेल खेलेका छन् भनेर बुझ्नु हुदैन । उनले त यो समग्र प्रक्रिया नै अस्तव्यस्त, लथालिङ्ग र देशलाई बाहिरीया शक्तिहरूले चाहे अनुरुप अस्थिर बनाउने मनसाय लुकेको छ भनेर बुझ्नु पर्दछ ।
अत : भित्री र बाहिरी दुबै थरी पुरातन पन्थी सोंच–विचार र योजनाहरुलाई परास्त गर्नको लागि एक्ला–एक्लै सडकमा जनता देखाएर मात्रै यो लडाइँ जितिने छैन । हेक्का रहोस् जनयुद्ध कालमा अन्तिम विद्रोह भनेर ५/७ लाख मानिस सातु झोलामा राखेर काठमाडौं पुगेका थिए, जतिबेला प्रचण्डको सुकिला मुकिलाको मन्तव्य निकै आलोचित बनेको थियोे । देशका सबै सदरमुकामहरुमा १० हजारभन्दा माथि लाख, दुई लाखसम्म मानिस आन्दोलनमा सहभागी बनेका थिए । तर हामी अगाडि बढ्न सकेनौं र पछाडि फर्कनु परेको थियोे ।
पछिल्लो पटक जब काङ्ग्रेस एमालेसहित संयुक्त आन्दोलन (जसलाई ०६२/०६३ को जनआन्दोलन भन्ने गरिन्छ) ले मात्रै हामी अगाडि बढेउँ, पुरानो सत्ताले घुँडा टेक्यो र हामी अगाडि बढेका थियौं । ठिक त्यसरी नै अहिले पनि एक्ला एक्लै माधव–प्रचण्डको पार्टी एकातिर, काङ्ग्रेसको पार्टी एकातिर, जसपाको पार्टी एकातिर वा मसाल, विवेकशिलको पार्टी एकातिर, यो तरिकाले संगठनलाई क्रियासिल बनाउन सुतेका कार्यकर्तालाई जगाउन त काम लाग्छ तर यतिबेला जबर्जस्त रूपमा बाहिरी योजना समेत मिसिएर आइपुगेको प्रतिगमनलाई परास्त गर्न सकिने छैन ।
मेरो सभामा प्रसस्तै मास जुट्यो भनेर गमक्क नफुलौं । जनताकै मात्र कुरा गर्ने हो भने आगामी २३ गते पनि केपी ओलिजीले राम्रै जनताको प्रदर्शन गर्ने छन् । त्यसैले संयुक्त आन्दोलनको थालनिको लागि ढिला गर्नु भनेको आफ्नो खुट्टामा आफै बन्चरो हान्नु सरह हुनेछ । अहिलेको घटनालाई सामान्य घटनाको रूपमा नबुझौ, आवेग र सनकले मात्रै निम्तिएको घटना नठानौं।, त्यहाँ योजना पनि मिसिएको छ । प्रतिगमनको विवेक पनि मिसिएको छ भनेर बुझौं र सोही अनुरुप अगाडि बढौं ।
हेक्का राखौं कि गतिशील पनि बनौं, बैठक, सभा, सेमिनारहरु पनि गरौं, संगठन विस्तार पनि गरौं, तर समग्रमा उन्नत लोकतन्त्र सहितको समाजवादको मुल रणनीतिक एजेन्डासहित प्रतिगमन विरुद्धको अभियानलाई प्रस्थान विन्दु मान्दै वृहत संयुक्त संघर्षको निमिक्त कार्यगत एकता, संयुक्त मोर्चा वा पार्टीगत एकता, अस्थाई वा स्थायी जे–जसरी सम्भव हुन्छ त्यसरी नै अगाडि बढेर मात्रै उपलब्धिहरुको रक्षा गर्न सकिने छ । प्रतिगमनलाई सच्चाउन सकिने छ । मैले यसरी सोचे, सबैले यसरी सोंच राख्दा राम्रो हुन्थ्यो कि?
प्रतिक्रिया