गुल्मी । गुल्मीमा मृत अवस्थामा फेला परेका एक व्यक्तिको हत्या भएको आशंका प्रहरीले गरेको छ । जिल्लाको रेसुङ्गा नगरपालिका-१४ रातामाटाका अन्दाजी ४५ वर्षीय तुलबहादुर विक शनिवार मृत अवस्थामा फेला परेका थिए ।
मृतक बिकको शव पोष्टमार्टम रिपोर्टपछि छातीमा ४ वटा ठाउँमा भरुवा बन्दुकका छर्रा फेला परेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायव उपरिक्षक (डिएसपी) पुरुषोत्तमप्रसाद पाण्डेले बताए । घरबाट घाँस काट्न हिँडेका विक अबेरसम्म घर नफर्केपछि आफन्तले खोज्ने क्रममा गुल्मीदरवार गाउँपालिकाको वडानम्बर-१ को बरेवाखोलामा मृत अबस्थामा फेला पारेको थियो । मृतक विकको छातीमा ४ ठाउँमा चोट लागेको छ । मृतक विकलाई गोली हानिएको हुनसक्ने अनुमान प्रहरीले गरेको छ । तर कस्ले किन हान्यो भन्ने बारे खुलेको छैन् ।
कसैले बन्यजन्तु शिकार गर्दा विकलाई लागेको हो या अरु कुनै कारण बारेमा अनुसन्धान भइरहेको प्रहरी नायव उपरिक्षक (डिएसपी) पाण्डेले बताए । बिकको शब आइतवार गुल्मी अस्पतालमा पोष्ट मार्टम गरिएको थियो । घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।
प्रतिक्रिया