ताजा अपडेट »

बुलन्द आवाजका धनी दिनेश

बुधबार, १५ पुस २०७७, १७ : ४९
206 Shares
बुधबार, १५ पुस २०७७
206 Shares

यदि तपाई नेपालमा हुने राष्ट्रिय अन्तर्राष्ट्रिय शारीरिक सुगठन प्रतियोगिताहरुको नियमित दर्शक हुनुहुन्छ भने तपाइँलाई पक्का पनि थाहा हुनु पर्छ, आफ्नो बुलन्द आवाजका साथ कुशल कार्यक्रम प्रस्तोता दिनेश राजभण्डारीका बारेमा । उनको परिचय त्यतिमा मात्र सिमित छैन उनि धर्मश्री र मिष्टर नेपाल उपाधि बिजेता तथा झण्डै चार दशकभन्दा अगाडि नेपालमा स्थापना भएर निरन्तर रुपमा क्रियाशिल नेपाल शारीरिक सुगठन तथा फिटनेस संघका पूर्व महासचिव र वर्तमान उपाध्यक्ष दिनेश राजभण्डारीका बारेमा आज हामी चर्चा गर्न जमर्को गरिरहेका छौं ।

शारीरिक सुगठन खेलमामा कसरी प्रवेश भयो भन्ने प्रश्नको जवाफमा उनले भने, “जब म करिब १८ वर्षको उमेरको थिए, मैले आफ्नो शरीर बनाउनको लागि भनेर नेपालकै जेठो व्यायामशाला नेपाल व्यायाम मन्दिरमा पुगे । त्यति नै बेला मेरा अग्रज आदरणीय दाजु सरोजकुमार श्रेष्ठज्यूले व्यायाम गरेको देखेर म अचम्भित भए । उहाँका बलिष्ठ शरीर र मासुका डल्लाहरुले मलाई साह्रै प्रभावित पार्यो । उहाँले त्यतिबेला एक्काइसौं एशियाली शारीरिक सुगठन प्रतियोगिताको तयारीमा लागिरहनु भएको रहेछ । मैले व्यायाम गर्न सुरु गरेको करिब चार महिनामा नै अर्थात् २०४३ सालको श्रावण महिना तिर हुनुपर्छ, मैले दोश्रो अन्तर क्लब धर्मश्री प्रतियोगितामा ६५ केजी तौल समूहमा प्रथम स्थान हासिल गर्ने सौभाग्य पाए ।

उनले थपे,–‘यसरी शारीरिक शरिरिक सुगठन खेलप्रति मेरो लगाव बढ्दै गयो । मैले २०४५ सालमा दाङ्गमा भएको पाँचौं राष्ट्रिय खेलकुद प्रतियोगितामा पदक प्राप्त गरे ।’ त्यसपश्चात दिनेश नेपाल व्यायाम मन्दिरमा प्रशिक्षकको रुपमा कार्यरत भए । २०४८ सालमा नेपाल व्यायाम मन्दिरमा ज्ञानेन्द्र नकर्मीको अध्यक्षतामा गठित कार्यसमितिमा उनिले उपाध्यक्षको जिम्मेवारी सफलतापूवर्क पूरा गर्ने मौका पाए । सोही कार्यकालमा नेपाल व्यायाम मन्दिरमा थुप्प्रै सुधारका कार्य भएको दिनेश बताउँछन् । माटोको संरचना रहेको व्यायामशालालाई कंक्रिटमा परिणत गर्ने तथा व्यायाम गर्ने अत्याधुनिक सामानहरु भारतबाट ल्याएर थप भयो । हाल उनको पहिचान बनेको शारीरिक सुगठन प्रतियोगिताको कार्यक्रम प्रस्तोता शुरुवात बारे बताउँदै उनि भन्छन्, ‘मैले २०४९ सालमा पहिलो पटक कुसुम स्पोर्टस क्लबले आयोजना गरेको प्रतियोगिता जसमा सर्वमान्य नेता गणेशमान सिंह प्रमुख आतिथ्यतामा सञ्चालित भएको थियो । त्यहि नै मेरो पहिलो शारीरिक सुगठन प्रतियोगितामा मैले उद्घोषकको रुपमा मञ्चमा उभिने सौभाग्य पाएँको थिएँ ।’

उनको ३४ वर्षको खेलकुद यात्राका दौरानमा प्राय सबैजसो शारीरिक सुगठनको राष्ट्रिय प्रतियोगिता चाहे त्यो मिष्टर हिमालय, धर्मश्री, मिष्टर काठमाडौं प्रतियोगिता होस् वा विभिन्न मोफसलमा आयोजना हुने राष्ट्रिय, क्षेत्रीय एवं जिल्ला स्तरिय प्रतियोगिताहरुको संचालनको होस लामो अनुभव बोकेका छन् दिनेशले । उनले निर्णायक तालिम, रिर्फेशर कोर्ष गर्दै आइरहेका साथै सो प्रतियोगिताहरुमा प्राविधिक कार्य, कार्यक्रम उद्घोषण एवं निर्णायक लगायतका भूमिका निर्वाह गरेको उनि बताउँछन् । दिनेशले २०५२ सालदेखि २०७३ सालसम्म नेपाल शारीरिक सुगठन तथा फिटनेस संघको महासचिव पदमा रहि जिम्मेवारी वहन गरिसकेका छन् । २०५२ सालमा आदिरणीय अग्रज श्रद्वेय घनश्याम मुखियाको अध्यक्षतामा गठित तदर्थ समितिले प्रथम मिष्टर हिमालय प्रतियोगिताको सुरुवात गरेको थियो ।

उनि २०७३ जेष्ठ १५ गते देखि नेपाल शारीरिक सुगठन तथ फिटनेस संघको उपाध्यक्ष एवं सन् २०१९ जुलाई २० देखि दक्षिण एशियाली शारीरिक सुगठन तथा फिजिक्स स्पोर्ट्स महासंघको उपाध्यक्ष पदमा कार्यरत रहेको छन् । आफ्नो लामो अनुभव सुनाउँदै उनी भन्छन्, ‘शारीरिक सुगठन खेल सबै खेलहरूको मातृ खेल अर्थात् ‘मोदर गेम’ हो । हरेक खेल खेलाडीलाई खेलमा राम्रो प्रदर्शन गर्न शारीरिक स्फूर्तिको आवश्यकता पर्दछ । शारीरिक स्फूर्ति बढाउनका लागि शारीरिक व्यायाम अनिवार्य हुन्छ तसर्थ शारीरिक सुगठन खेललाई अरु सबै खेलहरूको ‘मोदर अफ अल गेम्स्’ पनि भनिन्छ । शारीरिक सुगठन खेलाडी अनुशासित हुन अत्यन्त जरुरी हुन्छ ।

स्वास्थ्य समाजको सिर्जनामा व्यायामको अत्याधिक महत्व रहने दिनेशको भनाइ छ । उनी भन्छन्, ‘उदाहरणका लागि संघीय राजधानीमा काठमाडौंमा मात्र ५० लाखभन्दा बढी मानिस बसोबास गर्छन, त्यसको १० प्रतिशत अर्थात ५ लाख मानिसहरुले मात्र व्यायाम गर्ने गरेको देखिन्छ । त्यहि संख्याका मानिसहरुले व्यायाम गर्न समेत हाल भइरहेका व्यायामशाला नपुग देखिन्छन् । अब प्रत्येक स्थानीय तहहरुले एक व्यवस्थित सार्वजनिक व्यायामशालाको निर्माण गर्नु जरुरी देखिन्छ । प्रत्येक नागरिकले व्यायाम गरेर स्वस्थ हुन जरुरी छ । हामीले देख्छौ मानिसहरू लाखौ रुपियाँ खर्च गरेर उपचार गरिरहेका हुन्छन् तर सामान्य खर्च गरेर व्यायाम गर्न समय नभएको गुनासो गर्छन् । अन्य खेलमा जस्तै दुइचार महिना क्लोज क्याम्प राखेर प्रतियोगितामा सहभागिता हुने अवस्था शारीरिक सुगठन खेलमा रहँदैन । यस खेलमा एक खेलाडी तयार हुन वर्षौंको अनवरत मेहनत कठोर अनुसाशनको आवश्यकता रहने दिनेशको बुझाई छ ।

शारीरिक सुगठन खेलाडीको सफलता ७० प्रतिशत खानामा निर्भर गर्छ भने वाकी ३० प्रतिशत मात्र व्यायाममा भर पर्छ । खेलाडीहरुले सप्लिमेन्ट आदिको प्रयोग गर्दा समेत ब्राण्डेट सप्लिमेण्टको प्रयोग गर्नुपर्ने उनको भनाई छ । खेलाडीले आफ्नो शरिरको बनोटलाई बुझ्न जरुरी छ । त्यसैलाई मध्यनजर गरेर नै खेलाडीले प्रतियोगिताहरुको तयारी गर्नुपर्ने उनको भनाई छ ।

शारीरिक सुगठन खेललाई विश्व च्याम्पियनसिपमा जितेर नेपालको झण्डा अन्तर्राष्ट्रिय स्तरमा फहराउन सफलता प्राप्त अवस्थामा समेत राज्यले यस खेललाई खासै महत्व दिन नसकेकामा उनको ठूलो गुनासो छ । राष्ट्रिय खेलकुद परिषद्को उदासिनताका कारण हालसम्म नेपाल शारीरिक सुगठन तथा फिटनेश संघका कार्यालय स्थापनाका लागि समेत स्थान उपलब्ध हुन नसकेकाले दिनेशले निजी लगानीमा संचालन गरिरहेको डाइभिङ फिजिकल फिटनेस्मा संघको कार्यालय रहेको अवस्था छ ।

सम्पूर्ण खेल खेलाडीलाई पहुँच हुनेगरि सार्वजनिक निजी साझेदारी अवधारणाबाट विशाल व्यायामशाला तयार गर्न प्रस्तावना नेपाल शारीरिक सुगठन तथा फिटनेस संघले तयार गरेर पटक पटक सम्बन्धित निकायमा अनुरोध गरेको दिनेश बताउँछन् । बिगतका पाना पल्टाउँदै उनी थप्छन्, ‘२०३५ सालमा स्थापना भएको शारीरिक सुगठन खेलको विभिन्न समयमा धेरै नै उतार चढाव आयो । बिचमा यस खेलले खासै उपलब्धी हासिल गर्न नसकेको अवस्थामा (२०६२/०६/१०) उद्यमी एवं व्यवसायी राजेश बाबु श्रेष्ठले अध्यक्षता ग्रहण गरेदेखि यस खेलको विकास भएको उनी बताउछन् । खेलाडीलाई बढीसे बढी क्षेत्रीय, जिल्ला एवं राष्ट्रिय प्रतियोगिता आयोजना मार्फत खारिने अवसर अन्तराष्ट्रिय प्रतियोगिताहरुमा सहभागिता, विश्व शारीरिक सुगठन, एशियन शारीरिक सुगठन प्रतियोगिता, दक्षिण एशियाली शारीरिक सुगठन प्रतियोगिताहरुमा नेपाली महिला तथा पुरुष खेलाडीहरुले गरेको प्राप्त सफलता नेपालमै अन्तर्राष्ट्रिय प्रतियोगिताको आयोजना यी सबै सफलताको पछाडी अध्यक्ष राजेश बाबु श्रेष्ठको कुशल नेतृत्वले गर्दा शारीरिक सुगठन खेल प्रति गर्विलो महशुस गर्दछौ र शारीरिक सुगठनको इतिहासमा यसलाई स्वर्ण युग मान्छौ ।’

साउथ एसिएन बोडी ब्वील्डिङ एण्ड फिटनेस फेडेरेशनका उपाध्यक्ष समेत रहेका दिनेश आफ्नो खेल जीवनमा प्राप्त गरेको सफलताको श्रेय उनको जीवन संगिनी सुनिता प्रधानलाई दिन चाहन्छन् । यस खेलमा लामो समय योगदान गरेवापत थुप्प्रै राष्ट्रिय अन्तराष्ट्रिय संघ संस्थाहरुले सम्मानित गरिसकेको छ । अन्तराष्ट्रिय स्तरमा शारीरिक सुगठन खेललाई विषेश योगदान पुर्याए वापत उनलाई सन् २०१० जुन १९ तथा २०१९ जुलाई १९ मा अन्तर्राष्ट्रिय महासंघबाट स्वर्ण पदकले समेत विभूषित गरिएको थियो । सन् २०१९ जुलाई २० मा दक्षिण एशियाली शारीरिक सुगठन महासंघबाट समेत अप्रेशन सर्टिफिकेट प्रदान गरिएको थियो ।

https://www.globalaawaj.com/archives/70521
सितु प्रसाद श्रेष्ठ
लेखकको बारेमा
सितु प्रसाद श्रेष्ठ
स्तम्भकार