यस वर्ष मंसिरको अन्त्यदेखिनै चिसो बढेको छ । यससँगै तराईमा चिसोको कहर नै सुरु भएको छ । अर्कोतर्फ कोरोना कहर पनि रोकिएको छैन । कोरोना संक्रमणको जोखिमसँगै बढेको जाडोले थप त्रास थपिएको छ । मौसम परिवर्तनसँगै जाडोको मौसम सुरु भएको छ । कार्तिकको अन्त्यसँगै तराइमा जाडो दिनानुदिन बढ्दछ भने पौष र माघमा निकै कष्टकर हुन्छ ।
विगतका वर्षहरूमा पुस लागेपछि बढ्ने गरेको चिसो हावा यस वर्ष भने मंसिरकै अन्तिम सातामा ह्वात्तै बढेको हो । एकाबिहानैदेखि बाक्लो हुस्सु लागेर पश्चिमी वायु लगातार बहिरहेपछि मध्यपूर्वी तराईमा जनजीवन अत्यन्त कष्टकर बनेको छ । बिहान हुस्सुले ढाक्दै आएको छ भने मध्याह्नसम्म घाम देखिँदैन । त्यसपछि झल्याकझुलुक देखिने घाम मधुरो हुने र चिसो सिरेटो लगातार चलेपछि यसपटक मंसिरमै जाडो निकै बढेको हो । नेपालको दक्षिण भागमा अवस्थित तराईमा अत्यधिक गर्मी र अत्यधिक जाडो दुबै हानिकारक हुन्छन् । यस मौसममा अत्यधिक चिसोका कारण कैंयौं मानिस र पशुपंक्षीहरूले ज्यान गुमाउने गर्दछन् ।
विशेष गरी पौष र माघ महिनाको जाडोको समयमा दैनिक जनजीवनमात्र होइन, मानिसको स्वास्थ्यमा नै प्रतिकूल असर पर्दछ । सामान्यतया चिसो मौसम मनपर्ने मौसम पनि हो । तर, अत्यधिक चिसो मौसममा भने घरबाट बाहिर वा काममा जानका लागि निकै समस्या पर्दछ । यस्तो अवस्थामा आफूलाई न्यानो र तातो बनाएर परिवारसँग समय बिताउन अधिकांशलाई मनपर्दछ । तर, तराईका जिल्लाहरूमा अधिकांश किसान एवम् व्यापारी तथा व्यवसायी हुने हुँदा धेरैजसो समय घरभन्दा बाहिर बिताउनुपर्ने हुन्छ । यस्तो अवस्थामा विशेष सावधानी अपनाउन आवश्यक छ । चिसो मौसममा विशेषगरी खानपिन र लत्ताकपडामा ध्यान पु¥याउनु पर्दछ ।
यति शरिरलाई तातो बनाउने वा तापक्रम बढाउने खाना खाइएन वा लत्ताकपडा प्रयोग गरिएन भने शरिरले चिसोको प्रतिरोध गर्न सक्दैन । जसले गर्दा विभिन्न समस्याहरू मात्र नभई मानिसको मृत्यु नै हुनसक्छ । जाडोमा रुघाखोकी जस्ता सामान्य रोगहरू मात्र नभई मौसमले विभिन्न प्राणघातक रोगहरू पनि लिएर आएको हुन्छ । हृदयघात, दमको आक्रमण, छाला चिलाउने, जोर्नी दुख्ने, साइनसाइटिस जस्ता खतरनाक रोगहरूले आक्रमण गर्न सक्छन् । जाडो मौसममा हृदयघातको खतरा बढी हुन्छ । जब तापक्रम घट्दै जान्छ रगत बग्ने धमनीहरू संकुचित हुँदै जान्छन् । यसले मुटुलाई रगत पम्प गर्न गाह्रो हुन्छ । विशेषज्ञका अनुसार ३० वर्षभन्दा धेरै उमेरका मानिसहरूले चिसो मौसममा आफूलाई आवश्यकता भन्दा धेरै थकाउनु हुँदैन ।
जाडो मौसममा दम धेरै बढेको महशुस भएको हुन सक्छ । यस्तोमा चिसो र सुख्खा हावाले वायुमार्गलाई कस्न थाल्छ र श्वासप्रश्वासलाई अझै खराब बनाउँछ । चिसो समयमा मानिसहरूले सामना गर्ने सबैभन्दा आम समस्यामध्ये एक छाला चिलाउनु पनि हो । चिसोमा कम आद्रताको कारण छाला चिलाउन थाल्छ । शीतकालिन मौसममा जोर्नीको दुखाईबाट धेरै मानिसहरू पिडित हुन्छन् । टाउको दुख्ने, रुघाखोकी आदि चिसोमा हुने आम समस्या हुन् । साइनसाइटिसको समस्या त्यतिखेर हुन्छ जब घर बन्द हुन्छ र कुनै उचित भेन्टिलेसन हुँदैन । चिसो मौसममा तराईमा अत्यधिक चिसोले बढी मात्रामा वृद्धवृद्धालाई र बालबालिकालाई बढी असर गर्दछ ।
त्यसैगरी आवश्यकता अनुसार खानपिन र लत्ताकपडा जुटाउन नसक्ने गरिब वर्ग, सडक बालबालिका लगाएत आफ्नो शरिरको ख्याल नगर्नेहरूलाई चिसो मौसम घातक हुन्छ । चिसोसँगै सबैले आ–आफ्नो स्वास्थ्यमा ध्यान दिन आवश्यक छ । त्यसो त शरिर र स्वास्थ्यको ध्यान सधैं राख्न आवश्यक छ । तर तराईमा बढ्दो चिसोले धेरैको ज्यान लिन सक्छ । यसर्थ अविभावकहरूले आफ्नोसँगै आफ्ना बालबालिकाको हेरचाहमा समय दिनु पर्दछ । त्यसैगरी घरका सदस्यहरूले वृद्धवृद्धाको विशेष हेरचाह गर्न आवश्यक छ ।
अर्कोतर्फ गरिब, असहाय, सडक बालबालिका लगाएत साहाराबिहिनहरूलाई आ–आफ्नो ठाउँबाट सबैले सहयोग गर्नुपर्दछ । त्यसो त वर्षेनी चिसो मौसम आउन गर्दछ । र, सो समयमा विशेषगरी गरीब,विपन्न , सडक बालबालिका लगाएतको जीवन निकै कष्ठकर हुने गर्दछ । कैंयौंले ज्यान गुमाउँदै आएका छन् । यस वर्ष कोरोना संक्रमण र लकडाउनका कारण लामो समयदेखिको बन्दाबन्दीले श्रमजिवी तथा गरीब–विपन्न वर्गहरुको जीवनयापनमा थप समस्या परेको छ । जाडो बढेसँगै नियमित क्रियाकलाप गर्नुपर्ने त छदैंछ । अर्कोतर्फ चिसोमा आवश्यक खाद्यान्न र लत्ताकपडाहरुको आवश्यकता र माग बढ्दो छ । तर, आर्थिक अवस्थाका कारण ती आवश्यकता पूरा गर्न असमर्थ हुने देखिन्छ । तसर्थ यसतर्फ उनीहरु सचेत हुन र सरोकारवालाको ध्यान जान आवश्यक छ ।
प्रतिक्रिया