बुटवल । एक डाँडाबाट अर्को डाँडासम्म करिब डेढ किलोमिटर लामो यात्रा एक मिनेट ५ सेकेण्डमा पार गर्दै बुटवल शहरको अवलोकन गर्न पाइने भएको छ । कोरोना महामारीपछि पर्यटन क्षेत्रमा चहलपहल बढीरहेका बेला बुटवलको हिलपार्कमा शाहसिक खेल ‘जिपलाइन’ सञ्चालनमा आएको छ । बुटवल उपमहानगरमा अवस्थित लक्ष्मी आदर्श सामुदायिक वनको हिलपार्क डाँडा र उत्तरतर्फ रहेको अर्को डाँडालाई जोड्ने गरी सञ्चालनमा ल्याइएको जिप लाइनबाट पर्यटकले सहजै बुटवल शहरको दृश्यावलोकन गर्न पाउने भएका छन् ।
लुम्बिनी प्रदेशमै पहिलो नीजि क्षेत्रबाट सञ्चालनमा ल्याइएको जिप लाईनले यहाँको आन्तरिक तथा बाह्य पर्यटनलाई आकर्षण गर्ने भएको छ । बुटवलमा नेपालकै पहिलो दोहोरो जिप लाइन सञ्चालनमा ल्याइएको दाबी गरिएको छ । वाइल्ड वल्डर्स प्रा.लिले सञ्चालनमा ल्याएको जिपलाइन अन्तरगत बालबालिकाहरुका लागि छुट्टै ९० मिटरको लाइन सञ्चालनमा आएको छ । ‘हिलपार्टकदेखि ६५० मिटरको दुरी पार गर्दै ४३ सेकेन्डमा उत्तरतर्फ रहेको पहाडमा पुगेर पुनः ७५० मिटरको दुरी २२ सेकेन्डमा पार गरी सोही ठाउँमा आउन मिल्ने दोहोरो जिप लाइन सम्भवत नेपालमै पहिलो हो’-प्रा.लि.का सञ्चालनक हरिकुमार श्रेष्ठले भने । स्थानीय लक्ष्मी आदर्श सामुदायिक वनसँग सम्झौता गरी सञ्चालनमा ल्याइएको जिप लाइनले पर्यटन विकासमा सहयोग गर्नुका साथै वातावरण संरक्षणमा टेवा पुर्याउने उनले बताए ।
विशेष गरी हिलपार्कमा घुम्न आउने युवा तथा बालबालिकाहरुलाई लक्षित गरी प्रालिले जिपलाइन सञ्चालनमा ल्याएको हो । बुधबारदेखि औपचारिक रुपमा सञ्चालनमा ल्याइएको जिप लाइनलाई बुटवलको लक्ष्मीनगर क्षेत्रका अन्य पहाडहरुसमेत जोड्ने गरी सभा करोडको गुरुयोजना अनुसार काम भइरहेको श्रेष्ठले बताए । एक डाँडोबाट तारमा झुडिएर अर्को डाडासम्म जान सकिन्छ । यो विशेष प्रकारको तार हो । यसले हिलपार्कमा पर्यटक आवागमनमा वृद्धि हुने श्रेष्ठले विश्वास व्यक्त गरे । जिप लाइनमा मज्जा लिनका लागि एकोहोरो सवार गर्नेहरुले हजार रुपैयाँ तथा दोहोरो सवार गर्नका लागि १५०० शुल्क लाग्ने प्रा.लि.ले जनाएको छ । यो खेलमा सहभागी पर्यटकहरुका लागि ७ लाख रुपैयाँ बराबरको दुर्घटना विमा गरिने प्रा.लिले जनाएको छ ।
वाईल्ड बन्डर्स नेपाल प्रालिका संचालक राजकुमार श्रेष्ठले खेलसंगै वन संरक्षण र आयआर्जनको राम्रो विकल्प भएको बताए । वाईल्ड बल्डर्सले चितवन, गोदावरीमा यस अघि नै जिपलाइन संचालनमा ल्याएको छ । वनलाई नबिगारी शाहसिक खेल भित्राउने काम गरिएको वन उपभोक्ता समुहका अध्यक्ष याम बहादुर थापाले बताए । ‘प्राकृतिकमैत्री रुपमा पूर्वाधार बनाईएको हो ।’ -उनले भने । नेपालमा चितवन, काठमाण्डौबाहिर पोखरा, धुलिखेलमा समेत यो संचालनमा छ । सस्तो मूल्यमा साहसिक खेलको अनुभव लिन सकिने व्यवस्था गरिएको उनले बताए ।
जिप लाइनको औपचारिक शुभारम्भ गर्दै लुम्बिनी प्रदेशका उद्योग पर्यटन, वन तथा वातावरण मन्त्री लिला गिरीले यस क्षेत्रको पर्यटन विकासमा नयाँ आयाम थपिएको बताए । शाहसीक खेलका रुपमा रहेको जिप लाइनले पर्यटनको विकाससँगै आर्थिक समृद्धिलाईसमेत सहयोग गर्ने उनले बताए । यसैगरी लुम्बिनी प्रदेश सभा सदस्य भोजप्रसाद श्रेष्ठले वातावरणीय संरक्षणसँगै पर्यटनको विकासमा जिपलाइनले टेवा पुर्याउने विश्वास व्यक्त गरेका छन् ।
प्रतिक्रिया