ताजा अपडेट »

दुर्घटना बढेको छैन, न्यूनिकरणमा जोड दिएका छौं : प्रदेश ट्राफिक प्रमुख वि.क.

सोमबार, २९ मंसिर २०७७, १८ : २८
108 Shares
सोमबार, २९ मंसिर २०७७
108 Shares

पछिल्लो समय सवारी दुर्घटना तथा दुर्घटनामा परी हुने मृत्युदर वृद्धि भएको छ । सडकमा बढ्दो ट्राफिकसँगै दुर्घटनाको दर लाग्दो अवस्था देखिन्छ । प्रदेश ट्राफिक प्रहरी कार्यालयको तथ्यांक अनुसार मंसिर १ गतेदेखि २७ गतेसम्मको अवधिमा १ सय २५ वटा सवारी दुर्घटना भएका छन् । जसमा ४८ जनाले ज्यान गुमाएका छन् । १ सय १५ जना गम्भीर घाइते भएका छन् । यसैगरी गएको कार्तिक महिनामा दुर्घटनाको संख्या मंसिर महिना भन्दा १८ वटा कम छ । प्रदेशमा कार्तिक महिनामा १ सय ७ वटा दुर्घटना भएकोमा ५१ जनाको मृत्यु भएको छ । गम्भीर घाइते हुनेको संख्या ९१ रहेको छ ।

यसैगरी रुपन्देही जिल्लामा मात्रै मंसिरको २७ गतेसम्म ३७ वटा सवारी दुर्घटना भए । जसमा १६ जनाको मृत्यु भएको छ भने २४ जना गम्भीर घाइते छन् । ३१ जना सामान्य घाइते भए । गएको कार्तिक महिनामा जिल्लामा २५ वटा सवारी दुर्घटना हुँदा ११ जनाले ज्यान गुमाएका छन् । त्यसैगरी गत असोजमा रुपन्देहीमा ८ वटा दुर्घटनामा ३ जनाको ज्यान गएको थियो ।

यसरी दैनिकजसो सवारी दुर्घटनाको संख्या बढ्दै जाँदा न्यूनिकरणका लागि भएका प्रयास लगाएतका विषयमा ग्लोबल आवाजका लागि बसन्त आचार्यले लुम्बिनी प्रदेश ट्राफिक प्रहरी कार्यालयका वरिष्ठ प्रहरी नायव उपरिक्षक डम्बरबहादुर वि.क.  सँग गरिएको कुराकानी :

लुम्बिनी प्रदेश ट्राफिक प्रहरीको नेतृत्वमा आएपछि तपाइँले के –कस्ता नयाँ काम के गर्नुभयो ?
- मैले लुम्बिनी ट्राफिक प्रहरीको नेतृत्वको गरेको पनि ३/४ महिना बढी भइसकेको छ । विश्वव्यापी कोरोना महामारीका बीच नेतृत्व गर्नु कम चुनौतीपूर्ण थिए । हामी ट्राफिक प्रहरीहरु कोरोना चूनौतीको समेत सामना गर्दै आफू सुरक्षित रहेर ट्राफिक सुरक्षामा पनि खट्नु पर्ने अवस्था थियो, अहिले पनि छ ।

मुख्यतया गरी हामीले सुरक्षित सडक र व्यवस्थित शहर अभियानलाई प्राथमिकतामा राखेर अभियानहरु सञ्चालन गरेका छौं । यसैगरी सडकका विभिन्न ठाउँमा विशेष गरी व्यवस्त ठाउँहरुमा सिसिटिभी जडान गरी ट्राफिक व्यवस्थापनलाई प्रविधिमैत्री बनाउनुका साथै यात्रुसँग ५ मिनेट अभियान, चालकहरुसँग भेटघाट लगायतका कार्यक्रमहरु गरी दुर्घटना न्यूनिकरणका लागि प्रयास गरिरहेका छौं ।

ट्राफिक प्रहरीले चलाउने विभिन्न अभियानका बीच पनि दुर्घटनाको दर झन् बढेको छ । यस्तो हुनुको कारण के हो ?
-सांस्कृतिक तथा प्राकृतिक कारणले पनि दुर्घटना हुँदा रहेछन् । विवाह भोज लगाएतका कारण सडकमा मानिसहरु बढी निस्कनुका साथै शित पर्ने, कुहिरो लगायतका मौसमी कारणले पनि दुर्घटनाको दरमा असर पार्ने गरेको हामीले पाएका छौं ।

यसका साथै सडक बढी व्यवस्त हुने ठाउँहरुमा दुर्घटनाका दर बढी देखिएपनि मृत्युदर कम छ भने व्यस्तता कम भएका सडकहरुमा दुर्घटनाबाट ज्यान गुमाउनेको दर बढी देखिएको छ । यो विश्लेषणबाट हामीले के बुझेका छौ भने लामो समयसम्म खाली रहेको सडकमा सवारीको चाप बढ्दै जाँदा दुर्घटनाहरु पनि बढेका छन् । तर, विगत वर्षको तथ्यांकको तुलनामा दुर्घटनाको दर बढेको भने होइन । गत वर्षभन्दा १४ प्रतिशत कमी आएको छ ।

सडक दुर्घटना न्यूनिकरणका लागि भन्दै विभिन्न अभियानसहित ठाउँ–ठाउँमा डमी प्रहरी पनि राख्नु भएको छ यसको प्रभावकारीता र उपलब्धि केही छ त ?
- सडकका विभिन्न ठाउँ–ठाउँमा डमी प्रहरी राखेर सचेतना फैलाउने विधि नयाँ प्रयोग हो । कोभिड–१९ को संक्रमणबाट बच्दै काम गर्नुपर्ने बाध्यता बीच डमी प्रहरी केही सकारात्मक परिक्षणनै मान्नु पर्छ ।

सडकमा गुड्ने सवारी चालकहरुलाई ट्राफिक नियम पालना गर्नका लागि मानसिक रुपमा सधै सचेत गराउने काम यसले गरेको छ । यसैगरी हामीले यात्रुसँग ५ मिनेट, चालकसँग भेटघाट तथा सचेतनाका कार्यक्रमहरु सञ्चालन गरिरहेका छौं । जनतालाई ट्राफिक नियमको पालना गर्नु आफ्नै सुरक्षा गर्नु हो भन्ने कुरा बुझाउनका लागि यो अभियानले सकारात्मक भूमिका खेल्न सकेको देखिन्छ ।

ट्राफिक व्यवस्थापनका लागि नयाँ योजना तथा व्यवस्थापनका लागि चुनौतीहरु के–कस्ता छन् ?
-ट्राफिक व्यवस्थापन तथा दुर्घटना न्यूनिकरणका लागि अबको विकल्प भनेकै प्रविधिमैत्री सुरक्षा नीति हो । यसका लागि स्वयम् नेपाल प्रहरीले पनि प्रविधिमैत्री बनाउने गरी काम थालनी गरेको छ । सडक सुरक्षाकालाई डिजिटल प्रविधिमा परिमार्जित गर्नुका साथै त्यसलाई विश्वसनीय बनाउनु पर्ने छ ।

सवारीको गति जाँच्ने, मापसे जाँच तथा विभिन्न ठाउँमा सिसिटिभी जडान गरी निगरानी लगाएतका कार्यलाई गुणस्तरीय बनाउने योजनामा नेपाल प्रहरी रहेको छ । लुम्बिनी प्रदेशमा ट्राफिक व्यवस्थापन तथा दुर्घटना न्यूनिकरणका लागि हाल देखिएका चूनौती भनेको जनशक्तिको हो ।

प्रदेशभर ४९० जना ट्राफिक प्रहरीले अहिले काम गरिरहेका छौं जुन बढ्दो शहरी कारण र भौगोलिक अवस्थितीको तुलनामा एकदमै कम हो । यसैगरी ट्राफिक प्रहरीको आफ्नै बजेट नहुनेहुँदा कुनै पनि कार्यक्रमहरु सञ्चालन तथा व्यवस्थापन लगायतका काममा दातृ नीकाय तथा सहयोग संस्थाहरुको भर पर्नुपर्ने अवस्था छ ।

प्रदेश ट्राफिक प्रहरी प्रमुखको हैसियतले चालक तथा यात्रीलाईहरुलाई ट्रफिक सम्बन्धी कस्तो सन्देश दिन चाहानुहुन्छ ?
-ट्राफिक नियम पालना गर्नु अरु कसैका लागि नभई तपाई आफ्नै लागि हो । कुनैपनि सवारीका साधानले तपाइँको ज्यान लिने होइन तपाईले सवारी हाक्दा हुने तिब्र गतिका कारण मानिसको ज्यान जान सक्दछ ।

यी कुराहरुलाई सबैले बुझ्न र पालना गर्न आवश्यक छ । सडक व्यस्त हुने क्रम थप बढेको सुरक्षित भएर मात्रै सवारी हाँकौं । ट्राफिक नियमको आफू पनि पालना गरौं,अरुलाई पनि गर्न लगाऔं ।

https://www.globalaawaj.com/archives/68152
बसन्त आचार्य
लेखकको बारेमा
बसन्त आचार्य

आचार्य ग्लोबल आवाज अनलाइनका डेस्क संयोजक हुन् ।