बुटवल । विश्वव्यापी कोरोना महामारीले विगत ९ महिनादेखि रोकिएको खेलकूद गतिविधि सञ्चालनमा आउन थालेका छन् । जनजीवन सामान्य बन्दै गइरहेका बेला रुपन्देहीमा खेलकूद गतिविधिले गति लिन थालेको हो । विभिन्न संघ-संस्था तथा स्थानीय नीकायहरुले समेत खेल गतिविधि सञ्चालन गर्न लागेका छन् ।
पछिल्लो वर्ष ठूला आयोजनाहरु मध्ये रुपन्देहीको तिलोत्तमामा सम्पन्न तिलोत्तमा प्रिमियर लिग (टिपिएल) क्रिकेट प्रतियोगिता लगत्तै बुटवलमा आयोजना गर्न लागिएको यस क्षेत्रकै प्रतिष्ठित तिलोत्तमा गोल्ड कप फुटबल प्रतियोगिता आयोजनाको चर्चा चलिरहँदा कोरोना महामारीले ठप्प बनेको गतिविधि पुनः सञ्चालनमा आउँदा खेलाडी तथा खेलप्रेमीहरुमा उत्साह बढेको छ । जिल्लामा हुने स्थानीय स्तरका तथा राष्ट्रिय स्तरका प्रतियोगिताहरु नहुँदा निरास बनेका खेलाडीहरु लामो समयपछि मैदान फर्कन पाउँदा उत्साहित छन् ।
यसैबीच तिलोत्तमा नगरपालिकाले यस वर्ष सञ्चालन गरिने विभिन्न विधागत ९ वटा प्रतियोगिताहरु आयोजना गर्ने गरी समय तालिका सार्वजनिक गरेको छ । नगरपालिकाले भलिब, फुटबल, क्रिकेट तथा व्याटमिन्टन लगायतका प्रतियोगिताहरु सञ्चालन गर्ने गरी ४५ लाख बजेट विनियोजन गरेको उप मेयर जागेश्वरी चौधरीले बताइन् । कोरोना महामारीले गतिविधि शून्य भएको अवस्थामा खेलकूदका गतिविधिहरु सञ्चालन गर्दा सबैमा उत्साह बढेको उनले बताइन् ।
लामो समयको अन्तरालपछि सौभाग्य युवा क्लबले प्रथम प्रचण्ड थैव कप फुटबल प्रतियोगिता आयोजना गरी खेलाडी तथा दर्शकलाई मैदानमा फर्किने अवसर प्रदान गरेको छ । गत मँसिर २० गतेदेखि बुटवलको सिद्धेश्वर मैदानमा जारी प्रतियोगितामा रुपन्देही, पाल्पा र नवलपरासीका गरी २० टिमको सहभागीता रहेको छ । यसरी साना ठूला प्रतियोगिताहरु सञ्चालन हुँदा खेलाडी मैदान फर्किएर व्यस्त हुने अवसर जुट्न लागेका छन् ।
यस क्षेत्रमा फुटबलको विकासका लागि भन्दै गत वर्षदेखि कक्षा सञ्चालान गर्ने तयारी गरेको तिलोत्तमा फुटवल एकेडेमीले पनि छिट्टै गतिविधि सञ्चालनमा ल्याउने तयारी गरेको छ । विभिन्न विद्यालयका विद्यार्थीलाई समेटेर व्यवसायिक रुपमा प्रशिक्षण सञ्चालन गर्ने योजना बनाउँदै गर्दा कोरोना महामारीले रोकिएका योजनालाई पुनः सञ्चालनमा ल्याउने गरी तयारी भएको एकेडेमीका अध्यक्ष तिलक नेपालीले बताए । महामारीले लामो समय गतिविधि शुन्य हुँदा खेल क्षेत्रका व्यक्तिहरुले ठूलो आर्थिक क्षति ब्यहोर्नुका साथै खेलस्तरमा समेत ह्रास आएको उनले बताए । यसलाई पुरानै अवस्थामा लगेर थप विकास गर्नका लागि निजी संघ-संस्था तथा क्लबहरुले मात्रै पहल गरेर नहुँने बताउँदे उनले सरकारको विशेष ध्यान जान जरुरी रहेको बताए ।
सैनामैना नगरपालिकाले खेलकूद गतिविधि सञ्चालनका लागि यो वर्ष १९ लाख बढी बजेट विनियोजन गरेको छ । नगरले वार्षिक कार्यक्रममा नै राखेर मेयर कप फुटबल प्रतियोगिता तथा विद्यालय स्तरमा सप्ताहव्यापी खेलकूद प्रतियोगिताका लागि १९ लाख रकम विनियोजन गरिएको सैनामैना शिक्षा तथा जनस्वास्थ्य शाखाका हेमराज अर्यालले जानकारी गराए । यस्तै नगरमा शनिबारदेखि सैनमैना व्याटमिन्टन क्लबले राष्ट्रिय स्तरको प्रतियोगिता सञ्चालन गर्दै छ । दुई दिनसम्म सञ्चालन हुने प्रतियोगितामा भेट्रान तथा खुल्ला गरी ६० बढी टिमको सहभागीता रहने क्लबका अध्यक्ष नन्दु थापाले जानकारी गराएका छन् ।
विगतका वर्षहरुमा विभिन्न सामाजिक संघ-संस्था तथा शैक्षिक संस्थाहरुमा सञ्चालन गरिने गतिविधिहरुले खेलकूदमय बन्ने यो अवधि पुरानै अवस्थामा फर्किएमा खेल क्षेत्रले राम्रै फाइदा लिन सक्ने छ । राष्ट्रिय स्तरका फुटबल प्रतियोगिताहरुले व्यस्त भइरहने रुपन्देहीको बुटवल-११ देविनगरमा अवस्थित एन्फा एकेडेमीमा केही दिनमै प्रशिक्षण लगायतका गतिविधि सञ्चालनमा आउने भएको छ । कोरोना महामारीसँगै आइसोलेशनका रुपमा परिणत भएको एकेडेमीमा गतिविधि सञ्चालनका लागि आइसोलेशन हटाउन स्थानीय नीकाय तथा जिल्ला प्रशासन कार्यालयमा पत्र पठाइएको एकेडेमीका दिर्घकुमार केसीले बताए ।
नेपाल ओलम्पिक कमिटीका केन्द्रिय सदस्य केसीले एकेडेमीमा छिट्टै खेलकूद गतिविधि सञ्चालन गरिने बताए । कोरना महामारीले घरमा बसेका विद्यार्थीलाई प्रशिक्षणका लागि तयारी अवस्थामा रहन जानकारी गराइएको बताए । ‘अन्य देशहरुमा समेत दर्शक राखेरै खेलकूद गतिविधि सञ्चालन गर्न लागिएको छ ।’-उनले भने ‘अब कोरोना त्रासलाई कम गर्नका लागि पनि खेलकूद गतिविधिहरु सञ्चालन गर्नुपर्छ ।’ जिल्लामा व्यवसायीक रुपमा खेलकूद गतिविधिहरु सञ्चालन गर्दै आएका एक दर्जन बढी क्लब तथा संस्थाहरुले गतिविधिलाई बढाउँदै लैजानु पर्ने उनको सुझाब छ ।
प्रतिक्रिया