आज हामी शारीरिक सुगठन खेलको श्रीवृद्धिमा लागेको एक व्यक्तित्व सुरेश सुवेदीका विषयमा चर्चा गरिरहेका छौं । उनी काठमाडौं जिल्ला शारीरिक सुगठन तथा फिटनेश संघका वर्तमान अध्यक्ष हुन् । शारीरिक सुगठनका विकासका लागि केन्द्रीय संघले जिल्ला संघहरुको विस्तार गर्ने अभियान अन्तर्गत देशको मुल प्रशासनिक केन्द्रका रुपमा रहेको काठमाडौंमा जिल्ला संघको गठन गरियो । तर, गठन भएको लामो समय झण्डै १० वर्षसम्म निष्कृय रहे पछि वि.सं. २०७३ साल बैशाख १८ गते जिल्ला संघको अधिवेशन सम्पन्न भयो । २०५५ साल देखी एस एस इण्टरप्राइजेज नामक संस्था खोलेर विभिन मुलुकबाट विविध सामाग्री आयात गर्न कार्य गर्दै व्यवसायिक सफलता हासिल गरिरहेका उद्यमी सुरेश सुवेदीलाई जिल्ला संघको वागडोर सम्हाल्ने अवसर दिईयो ।
उनी नेतृत्वमा आए लगतै जिल्ला संघको गतिशिलता बढाउने तथा खेलमा लागि रहेको खेलाडीहरु उत्साह बढाउने उद्देश्यले जिल्ला संघको तत्वाधानमा प्रथम मिष्ट्रर काठमाडौं जिल्ला स्तरिय शारीरिक सुगठन प्रतियोगिता २०७३ साल भाद्र १८ गते गर्ने निणर्य गरियो । त्यसो त वि.सं. २०३० सालमा नै एमेच्युर एथ्लेटिक्स युनियन क्लबको आयोजनामा प्रथम मिस्टर काठमाडौं शारीरिक सुगठन प्रतियोगिता त्रिभुवन युनिभरसिटीको हलमा आयोजना भएको थियो । सो प्रतियोगितामा भारतको मद्रासबाट आएका खेलाडी हेनरी बबीले उत्कृट प्रदर्शन गरेका भएता पनि उनी भारतिय भएकाले उनलाई अनरी सम्मान दिइयो र प्रथम रधुराज बन्तलाइ घोषणा गरियो, रमेश नाथ खनाल दोश्रो भए । वि.सं. २०३३ सालमा सोहि संस्थाको आयोजनामा नै झन्दै २० जना खेलाडीको सहभागिता खुला समुहमा भृकुटि मण्डपको सभागृहमा दोश्रो मिस्टर काठमाडौं शारीरिक सुगठन प्रतियोगिता भयो । त्यसमा धनश्याम मुखीया बिजेता र शिव लाल श्रेष्ठ उपबिजेता बन्न सफल भएका थिए ।
त्यसपछि वि.सं. २०३८ मा भएको मिस्टर काठमाडौंमा सबै प्रतियोगीलाइ पछि पार्दै शिवलाल श्रेष्ठ उपाधी जित्न सफल भएको उनले बताए । लामो समय उक्त प्रतियोगिता निरन्तरा पाउन सकेन । पछि रधुराज बन्त काठमाडौं जेसिसको अध्यक्ष भएपछि पुनः उनले काठमाडौं जेसिसको आयोजना वि.सं. २०४९ सालमा मिष्ट्रर काठमाडौं खुल्ला शारीरिक सुगठन प्रतियोगिताको आयोजना गरे । सो मिष्ट्रर काठमाडौंको उपाधि ज्ञानेन्द्र नकर्मीले जित्न सफल भएका कुरा सो प्रतियोगितामा छैठौ तथा मिष्टर लेग हुन सफल जयेन्द्र राजलवट बताउँछन । उपविजेतामा इश्वर श्रेष्ठ र तेस्रो श्याम श्रेष्ठ भएका थिए । त्यतिबेला मिष्ट्रर काठमाडौं खुल्ला समुहमा आयोजना हुने र खेलाडीहरु मध्ये ६ जनालाई अन्तिम चरणमा लगि उनीहरु मध्ये ५ जनालाई मुल्याकनका आधारमा मि आमश् मि लेग मि एब्डमिन लगायतको टाइटल र उत्कृष्ट एक जनालाई मिष्ट्रर काठमाडौ उपाधि दिइन्थ्यो , जसमा उतिबेलासम्म कै सर्वाधिक धनराशी रु ३० हजार कुल पुरस्कार रहेको उक्त कार्यक्रमका संयोजक समेत रहेको अग्रज शिवलाल श्रेष्ठ बताउँछन् ।
त्यसपछि वि.सं. २०५४ सालको मी काठमाडौंमा श्याम श्रेष्ठ बिजयी भएका थिए । पुनः लामो समय उक्त प्रतियोगिताले निरन्तरता पाएन । वि.सं. २०७३ सालमा काठमाडौं जिल्ला शारीरिक सुगठन तथा फिटनेश संघले पुन प्रथम मिष्ट्रर काठमाडौं नाम राखेर जिल्ला स्तरिय शारीरिक सुगठन प्रतियोगिताको आयोजना गर्यो । नेपालको सन्दर्भमा सबैभन्दा पहिला शारीरिक सुगठन प्रतियोगितामा महिला विधा समावेश गर्ने श्रेय काठमाडौं जिल्ला शारीरिक सुगठन तथा फिटनेश संघलाई जान्छ । वि.सं. २०७३ सालमा आयोजित प्रथम मिष्ट्रर काठमाडौंमा नेपालमा प्रथम पटक महिला फिजिक विधा प्रतियोगितामा समावेश गरिएको कुरा सो संघका अध्यक्ष सुरेश सुवेदी बताउँछन् । ‘हामीले प्रतियोगिताको तयारी शुरु गरि रहँदा थुप्रै आलोचनाको सामना गर्नुपर्यो । प्रतियोगितामा महिलाहरु सहभागिताका विषयमा धेरैले शंका व्यक्त गरे । प्रथम पटक भएपनि ६ जना महिला खेलाडीहरु सहभागीता जनाए ।’ उनले भने । प्रतियोगिताको पुरुष तर्फ नवीन राना र महिला फिजिक बिधा ननिता महर्जनले जितिन् ।
त्यस प्रतियोगिता लगत्तै २०७३ सालमा नै ननिताले थाइलेण्डको पतायामा भएको आठौं विश्व शारीरिक सुगठन प्रतियोगितामा महिला एथलेट्रिक्स फिजिक्समा कास्य पदक जितेर शारीरिक सुगठन प्रतियोगिता पहिलो अन्तराष्ट्रिय पदक भित्र्याउने महिला खेलाडीको इतिहास रचिन् । त्यसपछि सुरेशकै अगुवाइमा काठमाडौं जिल्ला संघले वि.सं. २०७४ साल भाद्र २४ गते दोश्रो मिष्ट्रर काठमाडौं जिल्ला स्तरिय शारीरिक सुगठन प्रतियोगिता सफलता पुवर्क सम्पन्न गरियो । जसमा पुरुष तर्फ प्रणय शाही विजेता बने । र, त्यही संस्करणदेखि नेपालमा पहिलो पटक पुरुष जुनियर विधा समेत थप गरियो जसमा दामोदर श्रेष्ठ विजेता भए । महिला तर्फ रजनी श्रेष्ठ विजेता बने । पछि रजनी श्रेष्ठले २०७६ सालमा इण्डोनेशियामा भएको ५३ औं एशियाली शारीरिक सुगठन प्रतियोगितामा दोहोरो अन्तराष्ट्रिय पदक रजत र कास्य पदक जित्न सफल भएकी थिइन् । ०७५ साल भाद्र २३ गते तेश्रो संस्करण मिष्ट्रर काठमाडौं सम्पन्न भयो । जसमा पुरुष तर्फ बिसन गुरुङ र किशोर कार्की जुनियर च्याम्पियन बने । शोभा मानन्धर महिला तर्फ विजेता भइन् ।
शोभा सन् २०१९ मा नेपालमा आयोजना गरिएको प्रथम दक्षिण एसियाली शारीरिक सुगठन प्रतियोगितामा स्वर्ण पदक जित्दै अन्तर्राष्ट्रिय प्रतियोगितामा स्वर्ण पदक जित्ने पहिलो महिला खेलाडीको इतिहास बनाउन सफल भइन् । चौथों संस्करण मिष्ट्रर काठमाडौंलाई स्तरोन्तरी गरेर राष्ट्रव्यापी बनायो । चौथों मिष्ट्रर काठमाडौं राष्ट्रव्यापी खुल्ला शारीरिक सुगठन प्रतियोगिता २०७६ भाद्र २१ गते सम्पन्न गरियो । जसमा पुरुष तर्फ रमेश कार्की र महिला तर्फ रोजी लामा विजेता बनिन् । यसै संस्करणदेखि नेपालमा पहिलो पटक अन्तराष्ट्रिय नियमानुसार हाइट र वेट अनुसार पुरुष स्पोर्टस फिजिक्स प्रतियोगिताको समेत आयोजना गरियो । जसमा १७० सेण्टिमिटर भन्दा माथिको समुहमा धिरज धर्ती र १७० सेण्टिमिटर भन्दा तलको समुहमा राजन शाही विजेता बने । औजेश जोशी जुनियर च्याम्पियन बने ।
सुरेशले आफुलाई खेलकुदमा लाग्न अभिप्रेरित गर्ने व्यक्तिका रुपमा नेपाल शारीरिक सुगठन तथा फिटनेश संघका वरीष्ठ उपाध्यक्ष दिनेश राज भण्डारीलाई आफ्नो आदर्शका रुपमा मान्छन् । सुरेश सुवेदीको व्यक्तित्वको चर्चा गर्दै शारीरिक सुगठनका किर्तिमानी खेलाडी तथा जिल्ला संघ काठमाण्डौका उपाध्यक्ष श्याम श्रेष्ठ भन्छन्, ‘सुरेश सरसँग मेरो सहयात्रा झन्डै चार वर्ष भन्दा बढी भयो । उहाँ दृढ संकल्पी हुनुहुन्छ । उहाँको जुनसुकै कार्य गर्दा सबैसँग राय सल्लाह लिएर गर्न असाध्यै असल स्वभाव छ ।’
समयक्रमसँगै उपत्यका भित्र संचालित जिम क्लबहरुमा आइपर्ने साझा समस्याहरु समाधान गर्न पहल गर्न तथा व्यवसायिक हक हित प्रवर्धन गर्न एउटा साझा संस्थाको आवश्यकता बोध हुन थाल्यो । उपत्यका भित्र सञ्चालित जिम क्लबहरुको २०७७/०३/२७ गते भएको भेलाले उनकै अध्यक्षतामा व्यायाम व्यवसायी संघ गठन गर्यो । मुलुकमा आईलागेको कोभिड– १९ को प्रकोपको मार सबैभन्दा बढी व्यायाम व्यवसाय नै पर्न गयो । झण्डै आठ महिना भन्दा व्यायामशालाहरु खोल्न सरकारबाट रोक लगाईयो । व्यायाम व्यवसायीहरु ठुलो आर्थिक मार व्यहोर्न बाध्य भए । उनकै पहलमा व्यायाम व्यवसायी संघ काठमाडौंले देश भरिका जिम क्लबहरुको प्रतिनिधित्व गर्दै सरकार समक्ष व्यवसायीहरुका पक्षमा आवाज बुलन्द गर्यो । उनले शारीरिक सुगठन खेल प्रतिको योगदानको कदर गर्दै विभिन्न संघ संस्थाले उनलाई सम्मान गरेको छ ।
जनकपुर ईन्जिनियरिङ कलेजद्वारा नेपालमा पहिलो पटक महिला प्रतियोगिता आयोजना गरेकाले उनलाई YES सम्मान २०७५ ले सम्मानित गरेको थियो । इन्टरनेशनल लाइन्स क्लब अफ क्यालिफोर्निया युएसए, नेपाल व्यायाम मन्दिर र रुपन्देही जिल्ला शारीरिक सुगठन तथा फिटनेश संघ समेतले उनलाई कदर पत्रले सम्मानित समेत गरिसकेको छ । आफ्नो उपनाम क्याप्टेनलाइ सार्थक पार्दै जिल्ला शारीरिक सुगठन संघ काठमाडौंको कुशलतापूर्वक नेतृत्व गरिरहेका सुरेश सुवेदीको थप क्रियाशीलता बढ्दै जाहोस् हाम्रो हार्दिक शुभकामना छ ।
प्रतिक्रिया