बुटवल । रुपन्देहीको सैनामैनामा निर्माण हुने भनिएको बहुउद्देश्यीय जलासय निर्माणको काम एक वर्षसम्म पनि डिपिआरमै अड्किएको छ । सैनामैनाको ड्रिम प्रोजेक्टका रुपमा रहेको जलाशय निर्माणका लागि गत आर्थिक वर्षभित्रै डिपिआर निर्माण लगाएतका काम सक्ने बताइए पनि हालसम्म उक्त काम सम्पन्न हुन सकेको छैन ।
गत वर्ष कार्तिक महिनामा त्यस क्षेत्रको अध्ययन अवलोकन गर्दै वर्तमान अर्थमन्त्री विष्णु पौडेल र सैनामैनाका मेयर चित्रबहादुर कार्कीले सोही वर्ष डिपिआर लगाएतका काम सम्पन्न गरी ठेक्का प्रक्रियामा जाने बताए पनि कार्यान्वयनमा विलम्ब भएको हो । सैनामैनाले लुम्बिनी सर्किटसँग नगरलाई जोड्ने गरी विभिन्न दिर्घकालिन योजनाहरु अघि सार्दै चुरेसंरक्षण कार्यक्रम अन्तरगत रहेर निर्माण गरिने बहुउद्देश्यीय योजनाको एक वर्षपछि डिपिआर निर्माण गर्न प्रस्तावकहरुसँग सम्झौता भएको छ ।
डिपिआर निर्माणका लागि सितारा जेभी, इन्जिनियरको घर र आइईटिसिओ गरी ३ वटा कम्पनीसँग ३ महिनामा काम सक्ने गरी सम्झौता भएको हो । गत कार्तिक २४ गते सम्झौता भएको बताउँदै राष्ट्रपति चुरे संरक्षण कार्यक्रम बुटवल कार्यालयका विमल महतले डिपिआरको पहिलो प्रतिवेदन केही दिनमा आउने बताए । डिपिआर निर्माणका लागि राष्ट्रपति चुरे संरक्षण कार्यक्रम अन्तरगत रहेर संघीय सरकारले ६० लाख ४२ हजार बजेट विनियोजन गरेको छ ।
यसैगरी योजना निर्माणका लागि वातवरणीय प्रभाव मूल्यांकन गर्न प्रस्ताव आह्वान गरिएको छ । प्रभाव मूल्यांकनका लागि ३ हजार बढी प्रस्तावकहरु आएको बताउँदै महतले एक साता भित्रै प्रस्तावक छनोट गरी काम अगाडी बढाइने बताए । प्रतिवेदन तयार पार्नका लागि सरकारले २० लाख रकम विनियोजन गरेको छ । यसैगरी जलासय निर्माण योजना अन्तरगत नै राष्ट्रिपति चुरे संरक्षण कार्यक्रमबाट १९ लाख ५८ हजार बजेटबाट खोला किनार संरक्षणको काम सुरु गर्न लागिएको उनले बताए ।
डिपिआर निर्माण लगाएतका कार्यमा विलम्ब भएको स्वीकारर्दै महतले कोरोना महामारी तथा नीतिगत प्रक्रियाले ढिला भएको बताए । गतवर्ष राष्ट्रपति चुरे संरक्षणका लागि संघीय सरकारबाट ३० लाख रकम विनियोजन भएपनि जलासय निर्माण गर्ने सैनामैना नगरपालिकाको योजना अनुसार कार्यक्रम संसोधन गर्दा समय थपिएको हो।
सैनामैना-३ मा रहेको घमाहा नदीलाई छेकेर बनाइने जलाशयमा २० फुट चौडा रहेको ७ किलो मिटर पैदल यात्रा गर्ने बाटो बनाइने छ । सैनामैना नगरपालिकाको ड्रिम प्रोजेक्टका रुपमा यो बहुउद्देश्यीय पार्कलाई पहिलो प्राथमिकतामा राखेर सम्भाव्यता अध्ययन गरिएको थियो । यो जलाशययुक्त पार्कको निर्माणले सैनामैना क्षेत्रमा सिँचाइ सुविधा समेत पुग्ने नगर प्रमुख चित्रबहादुर कार्कीले बताए । उनका अनुसार चुरे संरक्षण, पर्यावरण संरक्षण, भूमिगत स्रोतहरुमा पानीको सञ्चितीदेखि हरियाली प्रवद्र्धनमा टेवा पुग्नेछ ।
प्रतिक्रिया