ताजा अपडेट »

लक्ष्य प्रति एकाग्र जयेन्द्रमान

सोमबार, १५ मंसिर २०७७, १८ : ०१
34 Shares
सोमबार, १५ मंसिर २०७७
34 Shares

वि.सं. २०२९ सालमा माता राधा र पिता देवेन्द्रमानका सुपुत्रका रुपमा जयेन्द्रमान राजलवटको जन्म टक्सारटोल तानसेन पाल्पामा भएको थियो । किशोरावस्थामा साथीभाईको संगतले उनी व्यायाम तर्फ आकर्षित भए । वि.सं. २०४५ सालमा उनी काठमाडौं जिम ताहचल जान थाले । पहिलो प्रतियोगिता रुपमा उनले वि.सं. २०४९ सालमा नेपाल व्यायाम मन्दिर शाखा सिद्धार्थनगरद्वारा आयोजित प्रथम मिस्टर लुम्बिनी शारीरिक सुगठन प्रतियोगितामा सहभागी भए । जसमा उनी ६५ केजी तौल समूहमा प्रथम हुँदै मिष्टर लुम्बिनीको उपाधि जित्न सफल भएका थिए ।

सोही सालमा कुसुम स्पोर्टस क्लब काठमाण्डौको आयोजनामा भएको Man of The strong Physique प्रतियोगितामा उनी ६० केजी तौल समूहमा रजत पदक प्राप्त गरे । सोही साल राष्ट्रिय खेलकुद परिषदद्वारा काठमाडौंमा आयोजित नवौं राष्ट्रिय शारीरिक सुगठन प्रतियोगितामा ६० केजी तौल समूहमा प्रतिस्पर्धा गर्दै रजत पदक प्राप्त गर्न सफल भए । उक्त सालमा नै काठमाडौँ जेसिसको आयोजनामा भएको मिष्टर काठमाडौं खुला शारीरिक सुगठन प्रतियोगितामा उनले वेष्ट थाइको उपाधि सहित छैटौं स्थान प्राप्त गरे । २०५१ सालमा धरानमा भएको दशौं राष्ट्रिय शारीरिक सुगठन प्रतियोगितामा ७५ केजी तौल समूहमा उनले रजत पदक प्राप्त गरे । त्यही सालमा नै बडी बिल्डिङ्ग ग्रुप अफ काठमाडौंको आयोजनामा भएको प्रथम एभरेस्ट क्लासिक खुला शारीरिक सुगठन प्रतियोगितामा ७० केजी भन्दा माथिको समूह प्रतिस्पर्धा गर्दै स्वर्ण पदक प्राप्त गर्न सफल भए ।

वि.सं. २०५२ सालमा नेपाल शारीरिक सुगठन संघको आयोजनामा भएको प्रथम मिष्टर हिमालय शारीरिक सुगठन प्रतियोगितामा ७५ केजी तौल समूहमा दोस्रो भए । २०५४ सालमा काठमाडौं जेसिसको आयोजनामा भएको खुला मिष्टर काठमाडौंमा तेस्रो स्थान प्राप्त गर्न सफल भए । सोही सालमा बडी बिल्डिङ्ग ग्रुप अफ काठमाडौंद्वारा आयोजित तेस्रो एभरेष्ट क्लासिक खुला शारीरिक सुगठन प्रतियोगितामा ७० केजी भन्दा माथिको समूह प्रतिस्पर्धा गर्दै स्वर्ण पदक प्राप्त गर्न सफल भए । त्यही सालमा जिल्ला खेलकुद विकास समिति काठमाडौंले आयोजना गरेको काठमाडौं फ्रेन्डसिप खुला शारीरिक सुगठन प्रतियोगितामा ७० केजी तौल समूह प्रथम भए ।

नेपाल व्यायाम मन्दिरको आयोजनामा २०५७ सालमा भएको सातौँ धर्मश्री राष्ट्रव्यापी खुला शारीरिक सुगठन प्रतियोगितामा ७५ केजी तौल सम्ममा उनी प्रथम हुन सफल भए । उनका समकालीन साथी र जिम पार्टनरहरुमा श्याम श्रेष्ठ. अनन्त स्थापित र भुवन जोशी थिए । उनले आफ्ना जिम गुरुहरुमा उदय बहादुर श्रेष्ठ, राजेन्द्र तुलाधर र शिव लाल श्रेष्ठलाइ मान्छन् । जीवनमा सबैभन्दा सुखद क्षणको स्मरण गर्दा उनलाई मिष्टर लुम्बिनीको उपाधि जित्न सफल भएका पल याद आउँछ । जीवनमा सबैभन्दा बढी दुखः लागेको क्षणका रूपमा सातौँ धर्मश्री राष्ट्रव्यापी खुला शारीरिक सुगठन प्रतियोगिता भन्दा दुई हप्ता अगाडी उनको ठुलो दुर्घटना भयो । उनी करिब प्रतियोगिता छाड्ने अवस्थामा पुग्दा पनि दृढ सकल्पका साथ प्रतियोगिताको स्टेजमा उक्लिएको अबस्थालाइ संझन्छन् । उनका समकक्षी श्याम श्रेष्ठ उनका बारेमा भन्छन्, ‘जयेन्द्रको र मेरो खेलयात्रामा लामो सहकार्य रह्यो । उ असाध्यै कम बोल्ने तर आफ्नो लक्ष्य प्रति एकाग्र हुने स्वभावका थिए । हामीले धेरै प्रतियोगितामा सँगै सहभागिता जनायौ तर हामी वीच प्रतिस्पर्धी भाव कहिले पनि आएन । हरेक पटक हामी दुईले हरजितलाइ असाध्यै सहजता साथ लियौं ।’

आफ्नो शरीरिक पोजहरु मध्ये मोष्ट मस्कुलर पोज जयेन्द्रलाई बढी मनपर्छ । आफ्नो बेलाको डाइट प्लानबारे चर्चा गर्दै उनी भन्छन्, ‘हाम्रो पालामा अहिले जस्तो सप्लिमेन्ट सहजतापुर्वक उपलब्ध थिएन । प्राकृतिक आहारबाट नै protein carbs तथा vitamin आदी शरीरलाई आवश्यक मात्रा मिलाइँ लिने गर्थौ । हाल उनी आफ्नै लगानीमा सञ्चालित काठमाडौं– १५ डल्लुमा रहेको कान्तिपुर फिटनेशमा आफु जस्तै अन्य प्रतिभाशाली खेलाडी तयारी गर्न लागि परेका छन् । उनले विगत २३ वर्ष देखि लिटल एन्जलस् स्कुलमा व्यायाम प्रशिक्षकका रुपमा समेत काम गरिरहेका छन् ।

सितु प्रसाद श्रेष्ठ
लेखकको बारेमा
सितु प्रसाद श्रेष्ठ
स्तम्भकार