बुटवल । करिब ८ महिना लामो अन्योलता र अनिश्चिततापछि कक्षा १२ को परीक्षा सुरु भएको छ । कोरोना भाइरसको महामारीको त्रासले सरकारले गत वर्षको चैतमा लकडाउन शुरु गरेसँगै वैशाखमा हुनुपर्ने कक्षा १२ को परीक्षा रोकिएको थियो । त्रासकै बीच लामो प्रतीक्षापछि विद्यार्थी परीक्षामा सहभागी हुन पाएका छन् ।
यस पटकको परीक्षा विगतका वर्षहरुको तुलना धेरै किसिमले फरक छ । पहिलोपटक विद्यार्थीहरु मास्क र फेस सिल्ड लगाएर परीक्षामा सामेल भएका छन् । एक सय पूर्णाङ्कको परीक्षा दिने विद्यार्थीहरुले यस पटक ४० पूर्णाङ्कको परीक्षा दिनेछन् । बाँकी रहेको ६० पूर्णाङ्कको भने आन्तरिक मूल्याङ्कन गरिनेछ । अन्योलतामा लामो समय बिताएका विद्यार्थीहरु संक्रमण र परीक्षा दुबैको त्रास बीच परीक्षामा सहभागी भएको बताए ।
फेस सिल्ड र मास्क लगाएर परीक्षामा बस्नु पर्दा केही असहज भए पनि शैक्षिक सत्र खेर नजाने भएकोमा विद्यार्थीहरुले खुसी व्यक्त गरे । परीक्षामा सहभागी हुने विद्यार्थीको अनिवार्य रुपमा ज्वरो मापन गर्नुपर्न, मास्कको अनिवार्य रुपमा प्रयोग गर्नुपर्ने र कक्षा कोठामा कम्तीमा २ मिटरको दूरी कायम गर्नुपर्ने राष्ट्रिय परीक्षा बोर्डले निर्देशन दिएको छ ।
प्रतिक्रिया