ताजा अपडेट »

परिश्रमी खेलाडी सञ्जीव

सोमबार, ०८ मंसिर २०७७, १८ : ००
22 Shares
सोमबार, ०८ मंसिर २०७७
22 Shares

वि.सं. २०४० सालमा पिता लक्ष्मण कुमार र माता निर्मलको माइलो सन्तानका रूपमा सञ्जीव श्रेष्ठको जन्म म्याग्दी जिल्लाको बेनीमा भएको थियो । सरकारी जागिरे पिता लक्ष्मण कुमारको जागिरका सिलसिलामा पछि कपिलवस्तुमा सरुवा भयो । कपिलवस्तुमा नै संजिवको माध्यमिक शिक्षा लिए । त्यती बेला कपिलवस्तुमा मिष्टर लुम्बिनी, मिस्टर पश्चिमाञ्चल र मिष्टर धर्मश्री विजेता भइसकेका जीवन गिरी कपिलवस्तुमा निकै चर्चित बडी बिल्डर का रुपमा मानिन्थ्यो ।

उनले त्यहाँ Olympian Gym Center सञ्चालन गरेका थिए । लक्ष्मण कुमार श्रेष्ठलाई आफ्नो छोरो सञ्जीवलाई समेत बडी बिल्डिर बनाउने चाहना जाग्यो । उनले ०५४ सालमा सञ्जीवलाई जीवन गुरु कहाँ लिएर गए । सञ्जीवले व्यायामशालामा च्याम्पियन जीवन गिरीबाट व्यायामका सिपहरु सिक्न थाले । केही वर्षपछि उनी वैदेशिक रोजगारीको सिलसिलामा विदेश तिर समेत लागे । विदेशमा समेत उनलाई व्यायाम ट्रेनर कै रुपमा काम गर्ने अवसर मिल्यो ।

नेपाल फर्किने क्रममा सन् २०११ मा भुटानमा हुन लागेको आठौ दक्षिण एसियाली शारीरिक सुगठन प्रतियोगिताका लागि काठमाडौंमा खेलाडी छनौट हुँदै थियो । संयोगवश उनीपनि छनोटमा परे । आफ्नो डेब्यु अन्तराष्ट्रिय प्रतियोगितामा नै उनले कास्यपदक जित्ने सफलता हात पारे । सन् २०१३ मा भियतनाममा सम्पन्न ४७ औँ एसियाली शारीरिक सुगठन प्रतियोगितामा संजिवले ६५ केजी तौल समूहमा सहभागी हुँदै छैटौं स्थान हात पार्न सफल भए ।

वि.सं. २०६८ सालमा नेपाल व्यायाम मन्दिरद्वारा आयोजित बाह्रौ धर्मश्री राष्ट्रव्यापी खुला शारीरिक सुगठन प्रतियोगितामा उनी ७० केजी समुहमा प्रतिस्पर्धा गर्दै प्रथम पटक स्वर्णपदक जित्न सफल भए । ०६९ सालमा नेपाल जिम सिद्धार्थनगरद्वारा आयोजित अम्बुजा दोश्रो राष्ट्रव्यापी खुला शारीरिक सुगठन प्रतियोगितामा ७० केजी तौल समूहबाट स्वर्णपदक जित्न सफल भए । सोही साल नेपाल शारीरिक सुगठन संघको आयोजना धरानमा भएको चौथौं मिस्टर हिमालयमा उनले ७५ केजी तौल समूहमा प्रतिस्पर्धा गर्दै रजत पदकमा चित्त बुझाए । वि.सं. २०७० सालमा पोखरामा आयोजना भएको पश्चिमाञ्चल स्तरीय मिष्टर माछापुच्छ्रे क्षेत्रीय शारीरिक सुगठन प्रतियोगितामा ७० केजी तौल समूहबाट विजेता बन्दै उपाधि समेत कब्जा गर्न सफल भए ।

वि.सं. २०७१ सालमा पोखरामा नै आयोजित प्रथम बुल्समैन राष्ट्रव्यापी खुला शारीरिक सुगठन प्रतियोगितामा ६५ केजी तौल समूहमा रजत पदक लिए । त्यही साल आयोजना भएको तेह्रौ धर्मश्रीमा ६० केजी तौल समूहमा स्वर्ण पदक जिते । वि.सं. २०७२ सालमा काठमाडौंमा आयोजना भएको पन्ध्रौं राष्ट्रिय शारीरिक सुगठन प्रतियोगितामा ६० केजी तौल समूहमा स्वर्ण पदक जित्दै मिस्टर नेपालको पदवी लिन सफल भए । त्यही साल Himalayan kingdom Nepal  Bodybuilding Federation बाट आयोजना भएको National Championship मा ६० केजी तौल समूहमा स्वर्ण पदक जिते । ०७३ सालमा भएको चौधौं धर्मश्री प्रतियोगिता र दोस्रो बुल्समैन राष्ट्रव्यापी शारीरिक सुगठन दुवै प्रतियोगितामा ६० केजी तौल समूहमा स्वर्णपदक लिए ।

वि.सं. २०७५ सालमा आयोजित तेस्रो बुल्समैनमा भने ७० केजीमा रजत पदक पाए त्यही साल आयोजना भएको पन्ध्रौं धर्मश्री ७० केजी तौल समूहमा स्वर्णपदक जित्न सफल भए । सोही साल आयोजना भएको मिष्टर एभरेष्ट राष्ट्रिय शारीरिक सुगठन प्रतियोगितामा समेत ७० केजी तौल समूहमा स्वर्णपदक जिते । सन् २०१६ मा चाइनामा आयोजना भएको ५० औं एसियाली शारीरिक सुगठन प्रतियोगितामा उनि पाँचौं स्थान लिन सफल भएका थिए । जीवनमा सबैभन्दा सुखद क्षणको चर्चा गर्दै उनी भन्छन्, ‘जति जतिबेला प्रतियोगिताहरुमा मैले पदक जितेर घर फर्कंदा परिवारको आँखामा देखिने चमकहरु नै मेरा जीवनका सुखद क्षणहरु हुन् ।’ उनलाई आफ्नो शारीरिक पोजहरु मध्ये मोष्ट मस्कुलर पोज सबैभन्दा बढी मनपर्छ ।

जीवनमा सबैभन्दा बढी दुखः लागेको क्षणका रूपमा सिद्धार्थनगरमा सम्पन्न दोस्रो अम्बुजा राष्ट्रव्यापी शारीरिक सुगठन प्रतियोगितामा उपाधिको असाध्यै नजिक पुगेर पनि उपविजेतामा चित्त बुझाउनुपरेको पललाई मान्छन् । अफ सिजनमा सामान्यतयः उनको दैनिक खुराकमा २० देखि २५ अण्डा, आधा केजी chicken breast, आधा केजी माछा, भात, ब्रेड, पिज्जा, बर्गर र चिज हुन्छन् भने प्रतियोगिता सिजनमा ३० देखि ३५ अण्डा, एक केजी chicken breast, आधा केजी माछा, न्यून कार्व्रोहाइडेट उच्च प्रोटिनयुक्त खाध्य पदार्थहरु हुन्छन् ।

नेपालको जेठो व्यायामशाला नेपाल व्यायाम मन्दिरमाको सदस्य रहेका संजिबका बारेमा चर्चा गर्दै व्यायाम मन्दिरका अध्यक्ष नारायण प्रधान भन्छन्, ‘संजिव एक अनुशासित र मेहनती खेलाडी हुन् । हक्की स्वभावका उनी आफ्नो कुरा स्पष्ट राख्ने व्यक्ति हुन ।’ संजिब हिजोआज Oyster Spa and Fitness सिनामंगलमा व्यायाम प्रशिक्षकका रुपमा समेत कार्यरत छन् ।

सितु प्रसाद श्रेष्ठ
लेखकको बारेमा
सितु प्रसाद श्रेष्ठ
स्तम्भकार