‘राशी सिंह भएर हो वा प्राथमिक शिक्षामा नै “हट्ने होइन डटि लड्ने नेपालीको बानी हुन्छ’ भन्ने राष्ट्रभक्ति गीतका प्रभावले, स्वभावले नै म अलिक हक्कि थिए जस्तो लाग्छ । अन्याय सहन पटक्कै नसक्ने, गलतलाई गलत भन्न सारै हतारिने, ताली र गालीले असाध्यै छिट्टो प्रभाव पर्ने खालको थिएँ । वयस्क हुने क्रमसंगै रगतमा हुने हार्मोनको प्रभाव वा भनै साथीभाईका संगतका असर, कलिलो उमेर मै शारीरिक व्यायामतर्फ रुचि जागृत भयो ।
बुटवलको उजिरसिंह माविको एउटा कोठामा सञ्चालित बुटवल जिम तिर धाउन थाले । क्रमशः जिम जान लागे पछि यस प्रति आशक्ति बढ्दै जान थाल्यो । कहिले बिहान होला र झोला लिएर जिम जान पाईएला भनेर आधा रातदेखि निद्रा लाग्दैन्थ्यो । व्यायाम गर्न क्रममा वि.सं. २०५२ सालमा नेपाल व्यायाम मन्दिर शाखा तौलिहवाको आयोजनामा तेश्रो मिष्ट्रर लुम्बिनी प्रतियोगितामा हुने भयो । व्यायाम गुरु केशव बहादुर शाक्यले अन्य खेलाडीसँगै ५५ केजी समुहमा खेल्न मलाई समेत लाने सल्लाह गर्नुभयो । पहिलो प्रतियोगिता भएकोले निकै उत्साहसँगै डर मिश्रित भाव मनमा आइरहेको थियो ।
प्रतियोगितामा छनोट चरणमा पार गर्न सफल भए पनि पदक भने हात परेन् । वि.सं. २०५४ साल बैशाख ६ गते जीवन घिमिरे दाजुहरुको टोलीले पोखरामा प्रथम मिष्टर पश्चिमाञ्चल तथा मिष्टर पोखरा शारीरिक सुगठन प्रतियोगिताको आयोजना गर्नुभयो । सो प्रतियोगितामा हामी लुम्बिनी अञ्चलबाट रुपन्देही, पाल्पा र कपिलवस्तुका खेलाडीहरुले प्रतिनिधित्व गरेका थियौं । जसको नेतृत्व यस क्षेत्रका अग्रज शिवध्वज राईले गर्नु भएको थियो । प्रतियोगिताको प्रिजजिङ राउण्ड सम्पन्न भयो । अघिकांश पदक लुम्बिनी अञ्चलले हात पार्ने अवस्था देखियो । आफुहरुले हार्ने निश्चित भएपछि स्थानीय खेलाडीले प्रतिरोध गर्न शुरु गरे । लुम्बिनीका खेलाडीहरु माथि हातपात समेत हुन थाल्यो ।
अन्त्यमा, अग्रज दाजुहरुको सल्लाह अनुसार हामीले सो प्रतियोगिता बहिष्कार गर्ने निर्णयमा पुग्यौ । जित निश्चित रहेको खेल बीचमा छाडेर फर्किनु पर्दाको पिडासंगै पुनः झडपको संभावना रहेकाले केशव गुरु र शिव दाईको सल्लाह अनुसार हामी पहिले बसेको होटल छाडेर अन्यत्र सर्ने निधोमा पुग्यौं गर्यौ । जीवन घिमिरे दाई बाटोसम्म हामिलाई फर्काउन आउनु भयो तर खेलाडीका सुरक्षाको जिम्मा आयोजकले नलिँदा सम्म हामी नफर्कने निर्णयमा पुग्यौं । खेल पुरा नहुँदै बिचमा हिडेकाले हामीले आयोजकबाट पाउनु पर्ने सामान्य भत्ता लगाएतका सुविधा समेत पाएनौं ।
पोखरा बसपार्कमा रहेको होटलमा टोलीका सबैैले खानाको पैसा तिर्ने तर कोठा भाडा छुट गरिदिने शर्तमा बाँस बस्यौं । धेरै साथीहरूले ल्याएको रकम समेत डाईट खानपिन आदिमा खर्च भइसकेको थियो । बाँकी केही पैसा जोहो गरेर जसोतसो घर फर्किएका थियौ । पुनः एक पटक पदकको आशाबाट बिमुख हुनुपर्दा निकै दुःख लागिरहेको थियो । पुर्व मिष्टर लुम्बिनी भईसकेका जीवन गिरी दाईले संचालन गरेको ओलम्पियन जिम सेन्टरको आयोजनामा कृष्णनगरको लक्ष्मी चलचित्र मन्निरमा मिष्टर पश्चिमाञ्चल प्रतियोगिता हुने निधो भयो । बुटवल जिमबाट ५५ केजीमा कृष्ण केसी, ६५ केजीमा म, ७० केजी राजकुमार श्रेष्ठ र ७५ केजीमा बिष्णु थापा र टिम मेनेजरमा निरज भारी सहित ५ जना सहभागी हुने तय गरियो । पुर्व निर्धारण भए अनुसार हामी बिहान ८ बजे बुटवल बसपार्क पुग्यौं । सबै साथीहरू आइपुग्दा समेत बिष्णु थापा देखिएनन् । उनको घरमा टेलिफोन गर्दा उनी राहदानी बनाउन भैरहवामा गएको जानकारी प्राप्त भयो ।
त्यसपछि हामी भैरहवा पुगेर उनलाई लिई कृष्णनगर तिर लाग्यौ । वि.सं. २०५४ पौष १४ गते प्रतियोगितामा तत्कालिन विज्ञान तथा प्रविधि राज्य मन्त्री मिर्जा दिलशाद वेग ज्युको प्रमुख आतिथ्यतामा हुने रहेछ । उहाँ हामी खेलाडीलाई भेट्न भन्दै अघिल्लो दिनमै राति हामी बसेको ठाउँमा आउनु भयो । अंगरक्षकहरुले बोकेको स्वचालित हातहतियार देखेर हामी धेरैलाई अलिक डर समेत लाग्यो । प्रतियोगिताको दिन बजन समुहको प्रतियोगिता सम्पन्न हुदै क्रमशः बिजेताको नाम घोषणा हुदै जान थाले । मेरो तौल ६५ केजीको पालो नजिक आउँदै गर्दा यसपटक जसरी भए पनि पदक जित्नु छ भन्ने अठोट लिएको थिए ।
केही महिना अगाडि प्रकाशित अंग्रेजी पत्रिकामा तेश्रो धर्मश्रीका बिजेता रविन्सन शाक्यले कुनै प्रतियोगितामा खेल्दा ओठमा लिपिष्टिकको प्रयोग गरेको थिए भन्ने पढेको थिए । अन्य खेलाडी भन्दा पृथक देखिने उनले प्रयोग गरेको नौलो शैलीले मलाई आकर्षित परेको थियो । त्यहाँपनि खेलमा मनोरञ्जनका लागि आयोजकले नृत्य गर्ने कलाकार बोलाएका थिए । तिनै मध्ये एक बहिनीसंग लिपिष्टिक मागेर मैले लगाए । स्टेजमा उक्लिना साथ दर्शकको ठुलो हुटिङले मैले बोकेर आएको हिम्मत पलभर मै शुन्यप्रायः भयो । म्युजिकल राउण्डमा मेरो पालो आयो । स्टेजबाट चारै तिर हेरे, निष्पट अध्यारो देखे । आत्मबल मजबुत पारे र मनमा सोच्न थाले बर्षौदेखि मैले यही क्षणका लागि मेहनत गरेको हो, आज जसरी भए पनि मैले आफ्नो शत प्रतिशत प्रस्तुति दिनुपर्छ भन्ने ठाने ।
निर्णायकहरुले प्रतियोगी मध्ये छनौटका लागि पुनः अगाडि बोलाउँदा मेरो ट्याग नम्बर पनि उच्चारण गरे । केहीबेरमा नै नतिजाको घोषणा गरियो । मेरो धेरै वर्ष अगाडि देखिको गलामा मेडल भिर्ने सपना त्यही प्रतियोगिताले पुरा गर्यो । पाल्पाका लालबहादुर गुरुङ (मुन्ना दाइ) ले मिष्टर पश्चिमाञ्चलको उपाधी जित्नु भएको थियो । न आजका जस्ता अत्याधुनिक मेशिन न त इन्टरनेटमा सहज पहुँच । उतिबेला न कुनै सप्लिमेन्ट, न बल्किङ कटिङ फेज झन्झट, न नुन र पानी बार्ने तनाव, विना कुनै डाइट प्लान टन्न मासु भात खाएर गेम खेल्ने चलन थियो, उतिबेला । बढ्दो उमेरसंगै जीवन निर्वाहको जोहो गर्ने उद्देश्यले सरकारी जागिरे भए । जागिरे जीवनको सिमित घेराले म भित्र शारीरिक सुगठन खेल प्रतिको रुझानलाइ क्रमशः रित्याउँदै सिध्याउँदै लग्यो ।
पछि २०६५ साल तिर म रुपन्देही जिल्ला शारीरिक सुगठन संघको कोषाध्यक्ष पदमा निर्वाचित भए । २०७४ सालमा भएको तेश्रो अधिवेशनबाट जिल्ला संधको अध्यक्ष चयन भए । २०६५ सालमा रुपन्देही जिल्ला संघको तत्वाधानमा शारीरिर सुगठन प्रतियोगिता गर्ने तयारी शुरु गर्यौ । नाम जुराउँने सन्दर्भमा नेपाल व्यायाम मन्दिरले निरन्तर संचालन गर्ने धर्मश्री प्रतियोगितासंग मिल्दोजुल्दो हुने गरि नाम जुरायौ, बुटवल श्री. शुरुमा लुम्बिनी अञ्चल स्तरीय र क्रमशः क्षेत्रिय र अन्तर प्रदेश स्तरिय शारीरिक सुगठन प्रतियोगिताका रुपमा बुटवल श्री प्रथम देखि गत २०७५ सालमा नवौ संस्करण भव्य रूपमा सम्पन्न गरि सकिएको छ । यस प्रतियोगिता मार्फत यस क्षेत्रका नयाँ खेलाडी उत्पादन गर्दै राष्ट्रिय प्रतियोगिता सहभागी गराउने हाम्रो सोंच क्रमशः पूरा हुदैछ ।
रुपन्देही जिल्ला संघ मार्फत नै शारीरिक सुगठन लामो समय निरन्तर योगदान पुर्याउने निर्णायकहरु क्रमशः गोविन्द चित्रकार, प्रतापकाजी वरिया, अनिल लाल श्रेष्ठ, शिवध्वज राई, केशव बहादुर शाक्य, नानीकाजी डंगोल, राजकुमार श्रेष्ठ र सुरज श्रेष्ठ तथा विदेशी भुमिमा पदक जितेर देशको झण्डा उच्च पर्ने सफल खेलाडीहरु जीवन गिरी, बुद्धिजंग कार्की, ननिता महर्जन, रुप कार्की र सन्तोष श्रेष्ठलाई कदर पत्रबाट सम्मानित समेत गरिएको छ । विश्व विजेता महेश्वर महर्जन लाई नगद ५ लाख नगद सहित विशेष सम्मान समेत गरिसकेको छौं । अन्योलताका बावजूद आठौं राष्ट्रिय खेलकुद अन्तर्गत सोह्रौं शारीरिक सुगठन प्रतियोगिताको व्यवस्थापन समेत जिल्ला संघ रुपन्देहीको टिमले सम्पन्न गरिसकेको छ । यस वर्ष हामीले राष्ट्रिय प्रतियोगिता मिस्टर रामापिथेकस गर्ने तयारी गरिरहेको थियौं तर कोरोना रोगको बढ्दो प्रकोपले गर्दा अब सम्भावनाहरु न्युन हुदै गइरहेको छ ।
एकदिन मलाई नेपाली शारीरिक सुगठनको विगतका विविध पाटाहरु केलाउन मन लाग्यो । इन्टरनेटमा सोधखोज गर्दा समेत गुगलबाबाले समेत केही बोलेनन् । त्यसपछि फेसबुकमा History Of Nepal Body Building नामक पेज खोलेर विगतमा शारीरिक सुगठन खेलका नजोडिएका कडीहरुलाइ जोड्न थाले । यस खेलमा आदरणीय अग्रजहरु भोगाई , सिकाई अनुभूतिहरुबाट पक्कै पनि नयाँ पुस्तालाइ शारीरिक सुगठन खेलका गन्तव्य पहिल्याउने सहजता र उर्जा प्रदान गर्नेछ भन्ने विश्वास लिएको छु । जय शारीरिक सुगठन !!!!!
प्रतिक्रिया