ताजा अपडेट »

२७ प्रतिशतले शुल्क बढाउन निजी विद्यालयलाई स्वीकृति

शुक्रबार, २९ चैत्र २०७५, ११ : ३९
16 Shares
शुक्रबार, २९ चैत्र २०७५
16 Shares

चैत २९,

काठमाडौं । काठमाडौं महानगरपालिकाले आफ्नो क्षेत्रभित्र सञ्चालनमा रहेका निजी विद्यालयलाई मासिक शिक्षण शुल्क २७ प्रतिशतसम्म बढाउन स्वीकृति दिएको छ । नयाँ शैक्षिक सत्रदेखि लागू हुने महानगरपालिकाको यो निर्णयबाट निजी विद्यालय थप मोटाउने र अभिभावक आर्थिक मारमा पर्ने निश्चित छ ।

महानगरपालिका विद्यालय वर्गीकरण तथा शुल्क अनुगमन समितिको फागुन २६ गतेको बैठकले निजी विद्यालयले हाल लिँदै आएको शिक्षण शुल्कमा औसतमा २७ प्रतिशत बढाउन दिनेगरी नयाँ शुल्कदर तोकेको हो । नयाँ शैक्षित्र सत्र वैशाख २ देखि सुरु हुने छ । महानगरभित्र सञ्चालित ६ सय ४५ निजी विद्यालयमा अब नयाँ शुुल्क दर कार्यान्वयन गरिने महानगर शिक्षा विभाग प्रमुख निर्मला केसीले बताइन् । काठमाडौं महानगरपालिकाभित्र सञ्चालित ७ सय ३६ विद्यालयमध्ये ६ सय ४५ निजी छन् । संघीय सरकारले मुलुकमा निजी र सरकारी शिक्षा समायोजन गरी एकैखाले शिक्षाको व्यवस्था गर्न संघीय शिक्षा ऐन ल्याउने तयारी गरिरहेका बेला स्थानीय सरकारले निजी विद्यालयलाई शुल्क बढाउन छुट दिएपछि विरोधाभासको स्थिति सिर्जना भएको छ । घुमाउरो तरिकाले निजी विद्यालयलाई पोस्ने काम भइरहेको सरोकारवाला बताउँछन् ।

मुद्रास्फीति दर ४.४ प्रतिशत रहेका बेला महानगरपालिकाले भने निजी विद्यालयलाई मासिक शुल्क २७ प्रतिशतसम्म बढाएर अधिकतम शुल्क निर्धारण गर्दा अभिभावक मारमा पर्ने अभिभावक संघ नेपालका काठमाडौं जिल्ला अध्यक्ष बेचन कापरले बताए । महानगरपालिका शिक्षा विभागले उपलब्ध गराएको तथ्यांक अनुसार विद्यालय वर्गीकरण तथा शुल्क अनुगमन समितिले निजी विद्यालयको अवस्था र व्यवस्थालाई आधार मानेर ‘क’ देखि ‘घ’ वर्गसम्म विभाजन गरेको छ । समितिले सोही अनुसार शुल्क निर्धारण गरेको महानगर शिक्षा विभाग प्रमुख केसीले बताइन् ।
-नागरिक

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।