ताजा अपडेट »

नारायणगढ-बुटवल सडक विस्तारको गति सुस्त

शनिबार, ०१ कार्तिक २०७७, १४ : ०२
88 Shares
शनिबार, ०१ कार्तिक २०७७
88 Shares

नवलपुर । पूर्वपश्चिम राजमार्गअन्तर्गत नारायणगढ-बुटवल सडक विस्तारले गति लिन सकेको छैन । प्रधानमन्त्री केपी शर्मा ओलीले वि.स. २०७५ चैत ८ गते शिलान्यास गरेपछि शुरु भएको विस्तारको काम साढे एक वर्षमा डेढ प्रतिशत पनि सकिएको छैन ।

नारायणगढ–बुटवल सडक आयोजनालाई दुई खण्डमा विभाजन गरेर ठेक्का सम्झौता गरिएको छ । कूल ११३ किलोमिटर सडकमध्ये नवलपरासी (बर्दघाट-सुस्तापूर्व) को गैंडाकोटदेखि दाउन्नेसम्म ६४.४२ किलोमिटर सडकलाई खण्ड ‘क’ र दाउन्नेदेखि बुटवलसम्मको बाँकी सडकलाई खण्ड ‘ख’ मानेर ठेक्का सम्झौता गरिएको छ । दुवै खण्ड निर्माणको जिम्मा चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनीयरिङ कर्पोरेसन लिमिटेडले पाएको छ ।

नारायणगढ–बुटवल सडक आयोजनाअन्तर्गत खण्ड ‘क’का सूचना अधिकारी इन्जिनीयर कृष्ण आचार्यले असोज मसान्तसम्म नवलपुर खण्डमा १.४२ प्रतिशत मात्रै भौतिक प्रगति भएको जानकारी दिए । यो खण्डमा रूख कटानमा स्वीकृति नपाउँदा सडक विस्तारमा ढिलार्इ भएको अधिकारीको भनाइ छ । सडकखण्डको उत्तरतर्फको रूख कटानमा अनुमति पाएर धेरै रूख काटिएको भए पनि दक्षिणतर्फ चितवन राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्र पर्ने भएकाले रूख कटानमा समस्या भएको उनले बताए ।

‘हामीले सडकको उत्तरतर्फको रूख कटानको अनुमति पाएपछि धेरै रूख काटिसकेका छौं ।’, सूचना अधिकारी आचार्यले भने, ‘बाटोदेखि दक्षिणतर्फको रूखहरु मध्यवर्ती क्षेत्रमा पर्ने भएकाले काट्न पाएका थिएनौँ । केही दिन अगाडि मात्रै मन्त्रिपरिषद्बाट रूख काट्न स्वीकृति दिने निर्णय भएर आएको छ ।’ मन्त्रिपरिषद्ले रूख कटानको स्वीकृति दिएसँगै दक्षिणतर्फको रूखसमेत काट्न शुरु गरिएको उनले बताए । सो सडकमा सानाठूला गरी ३३ हजार ८९२ रूख काट्नका लागि स्वीकृत पाएको भन्दै उनले ६ हजार ४७८ वटा रूख काट्ने काम सकिएको बताए ।

गैँडाकोटदेखि कावासोतीको जङ्गलसम्म धेरै रूख काटेर सकिएको बताउँदै उनले भने, ‘अब हामीले डण्डाबाट पश्चिमतर्फ रूख काट्न शुरु गरेका छौँ, रूख काटेर सक्ने बित्तिकै बाटो फराकिलो बनाउने काम शुरु हुन्छ ।’ सो सडक चार लेनमा विस्तार हुनेछ भने शहरी क्षेत्रमा अतिरिक्त सर्भिस लेनसमेत निर्माण हुने जनाइएको छ । यस सडकको अधिकांश भाग वन क्षेत्रमा पर्ने भएकाले मध्यवर्ती क्षेत्रमा वन्यजन्तुमैत्री पुलसमेत निर्माण हुने गरी ठेक्का सम्झौता भएको छ ।

आयोजनाका सूचना अधिकारी आचार्यले यो सडकको ४२.७ किलोमिटर खण्ड चार लेनमा विस्तार हुने उल्लेख गर्दै शहरी क्षेत्रको करीब १७।६ किलोमिटरमा चार लेनका अतिरिक्त दुवैतर्फ ६÷६ मिटरको सर्भिस लेनसमेत निर्माण हुने जानकारी दिए । त्यस्तै, दाउन्नेको ४.१ किलोमिटर सडक भने तीन लेनमा मात्रै विस्तार हुनेछ । जटिल भूगोलका कारण दाउन्नेको सडक चार लेनमा विस्तार गर्न नसकिने भएकाले तीन लेनमा मात्रै विस्तार गर्ने गरी ठेक्का सम्झौता भएको उनले बताए ।

सडक विस्तारका क्रममा मध्यवर्ती क्षेत्र पर्ने स्थानका वनमा ६ वटा वन्यजन्तुमैत्री पुल निर्माण हुनेछ । त्यसैगरी, सो सडकमा ८७ वटा कल्भर्ट निर्माण हुने भन्दै २८ वटा कल्भर्ट निर्माणको काम भइरहेको सूचना अधिकारी आचार्यले बताए । गैँडाकोट दाउन्ने खण्डमा १२ वटा ठूला पुल निर्माण हुने भए पनि एउटा पुलको मात्रै निर्माण कार्य शुरु भएको आयोजनाले जनाएको छ ।

सडक विस्तारका क्रममा गैँडाकोटबाट १४ किलोमिटर पश्चिमको भेडाबारीमा नाला तथा माटो फिलिङको काम भइरहेको छ भने सडक विस्तारका लागि ७५ जना कामदारले काम गरिरहेका आयोजनाले जनाएको छ । सडक विस्तारको शुरुआती अवस्थामा सडक सीमाभित्र पर्ने रूख हटाउने प्रक्रिया लामो हुनु तथा विद्युत्का पोलहरु सडकभित्रै पर्दा काम गर्न ढिलार्इ भएकामा त्यसलगत्तै विश्वभर महामारीका रुपमा फैलिएको कोभिड-१९ का कारणले पनि निर्माणले गति लिन नसकेको उनको भनार्इ छ । एसियाली विकास बैंक (एडिबी)को ऋण सहयोगमा विस्तार हुन लागेको सो सडकको गैँडाकोट-दाउन्ने खण्ड रु नौ अर्ब १३ करोडमा ठेक्का सम्झौता भएको थियो ।

कूल लागतमध्ये एडिबीले ८५ प्रतिशत रकम ऋण उपलब्ध गराउने छ भने बाँकी रकम नेपाल सरकारकै हुनेछ । एडिबीले नेपाल सरकारलाई १.५ प्रतिशत ब्याजदरमा ३२ वर्षमा चुक्ता गर्ने गरी ऋण उपलब्ध गराएको हो । ठेकेदार कम्पनी चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनीयरिङ कर्पोरेसन लिमिटेडले आगामी २०७९ साउन २२ भित्र निर्माण सक्नुपर्ने गरी ठेक्का सम्झौता भएको छ । साढे तीन वर्षमा सडक निर्माणको काम सके पनि पाँच वर्षसम्म निर्माण कम्पनीले नै मर्मतको काम गर्नुपर्ने गरी सम्झौता भएको छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।