ताजा अपडेट »

दशौं र एघारौ धर्मश्री विजेता : मिजाशिला सानु गुरुङ

मंगलबार, २७ असोज २०७७, २० : ०३
16 Shares
मंगलबार, २७ असोज २०७७
16 Shares

सानु गुरुङ्ग नेपालको शारीरिक सुगठन खेलमा चिर–परिचित नाम हो । उनको जन्म लाहुरे परिवारमा भएको थियो । उनका भिनाजु दाजु र बुवा सबै बेलायती सेनामा जागिरे थिए । उनका दाजु छुट्टीमा घर आउँदा व्यायाम गरेको सानुले रुचि पुर्वक हेर्ने गर्थे । दाजुले विदेशबाट आउँदा अंग्रेजी चलचित्रका सिडीहरु उनका लागि कोसेली लिएर आउने गर्थे ।

तीनै अंग्रेजी चलचित्रका नायकहरुको लोभलाग्दो शरीर देखेर उनलाई पनि आफ्नो शरीर बलिष्ठ बनाउने रहर जागेको उनी बताँउछन् । काठमाडौं बसाईको क्रममा उनको संगत नेवारी समुदायका युवाहरुसँग भयो । साथीहरु जिम गर्न व्यायामशाखा धाउने गर्थे । विस्तारै उनी पनि साथीहरुसँग जिम जान थाले । उनले खेलेको पहिलो प्रतियोगितामा ११ जना सहभागी मध्ये उनी १० औं स्थानमा आएको उनी बताउँछन् ।

वि.सं. २०६२ सालमा सानु नेपाल व्यायाम मन्दिरद्वारा आयोजित दशौं धर्म श्री खुल्ला राष्ट्रव्यापी शारीरिक सुगठन प्रतियोगिताको उपाधिसँगै नगद पुरस्कार एक लाख हात पार्न सफल भए । सोही प्रतियोगितामा उपविजेताहरु क्रमशः दोस्रो भएका राम दाहालले ५० हजार, तेस्रो श्याम श्रेष्ठले ४० हजार, चौथो सचित प्रधानले ३० हजार, पाँचौ हरिस श्रेष्ठले २५ हजार र छैठौ अनिल श्रेष्ठले २० हजार प्राप्त गरेको थिए । सोही प्रतियोगिताको एघारौं संस्करणम २०६४ सालमा पुनः सानु विजेता बनेर लगातार दुई पटक धर्मश्री उपाधि जित्ने पहिलो खेलाडी बन्न सफल भए । यसअघि नरेश महर्जनले सातौँ र नवौ संस्करण जितेका थिए ।

वि.सं. २०६४ सालमा नै काठमाडौंमा भएको एघारौं राष्ट्रिय शारीरिक सुगठन प्रतियोगितामा उनि आफ्नो बजन समुहमा स्वर्ण पदक जितेर मिष्टर नेपालको उपाधि हासिल गर्न सफल भए । सोही प्रतियोगिता उनी च्याम्पियन अफ द च्याम्पियन समेत घोषणा भए । जुन एम्याच्योर खेलमा पहिलो पटक घोषणा गरिएको उनको दाबी छ ।

वि.सं. २०६९ मा नेपाल शारीरिक सुगठन संघको अयोजनामा धरानमा भएको चौथो मिस्टर हिमालय प्रतियोगितामा उनी आफ्नो बेटमा प्रथम हुँदै अन्तिम चरणमा उपविजेता हुन सफल भएका थिए ।सानु नेपालमा मात्र नभएर विदेशमा भएको प्रतियोगिताहरुमा समेत सहभागी भएका छन् । चाइना बडी बिल्डिङ् एशोशियशनको अयोजनामा हुने मिष्ट्रर हङकङमा उनी सन् २००९, २०१० र २०१४ मा सहभागी भएर वेष्ट पोजर सहित विजेता पनि बनेको उनी बताउँछन । उनले बेलायतमा भएको शारीरिक सुगठन प्रतियोगिता समेत उनले डेमोष्ट्रशन गरिसकेको उनी बताउँछन् । अमेरिका युरोप भन्दा नेपाल शारीरिक सुगठन खेलको सन्दर्भमा ५०/६० वर्ष पछाडि रहेको उनको ठम्याइ छ ।

नेपालमा शारीरिक सुगठन खेलका खेलाडीहरुलाई विदेशको तुलनामा उचित खानपानको अभाव रहेको उनको बुझाई छ । बडीबिल्डरहरुले आफ्नो आहारका रुपमा खाने सकरखण्ड, तरुल र ब्रोकाउली जस्ता खाद्यान्नहरु नेपालमा सबै मौसममा समान रुपमा उपलब्ध नहुने अवस्था छ ।

उनी भन्छन, “सुगठित शरीर एकै रातमा तयार हुँदैन । वर्षैको मेहनत र कठोर खानापान र विश्राम सहितको कठिन अनुशासन पालनाबाट मात्र आफुले चाहे जस्तो शरीर बन्छ । शारीरिक सुगठनले मानिसलाई अनुशासनमा बस्न र शरीरलाई माया गर्न सिकाउँछ ।"

उनले यस खेलकोमा पुर्याएको योगदानको उच्च मुल्यांकन गर्दै एनआरएन युके लगायत विभिन्न संघ संस्थाहरुले उनलाई कदर पत्रले सम्मान समेत गरेको छ ।

(सानु गुरुङसँग सम्पर्क गर्न गरिएको कोशिस असफल भए पछि विभिन्न पत्रिकामा प्रकाशित लेखहरु र युट्यूबमा भेटिएका भिडियोहरुका आधारमा तयार गरिएको सामाग्री)

सितु प्रसाद श्रेष्ठ
लेखकको बारेमा
सितु प्रसाद श्रेष्ठ
स्तम्भकार