कुनै पनि विषय वा वस्तुको मानक निर्धारण गरिनु आफैमा राम्रो हो, तर ती मानकहरुलाई सिमित रुपमा आफ्नै वर्ग, विषय, समुदाय वा रुचिमा मात्रै पर्ने गरी सिमा निर्धारण गरिनु आफू नै सर्वेसर्वा हुँ भन्ने भ्रममा यथास्थितिमै जकडिएर रहनु हो । यस्ता मानकले ती सिमाभन्दा बाहिर रहेकाहरुलाई सधैं अन्य वा दोस्रो दर्जाको रुपमा विभेद र वहिष्करणमा पारिरहेको हुन्छ । चाहे त्यो विगतमा नेपाली नागरिकका सम्बन्धमा निर्धारण गरिएको मानक होस् या वर्तमानमा नेपाली साहित्यकारको रुपमा निर्धारण गरिएको मानक होस् । पछिल्लो समय आफ्नो समुदाय, संस्कृति र जातीय पहिचान समेटेर लेखिएका साहित्यलाई केवल जातीय साहित्यको रुपमा मात्रै हेरिनु र त्यस्ता साहित्यकारलाई जातिवादी लेखकको रुपमा मात्रै हेरिनु यसैको ज्वलन्त उदाहरण हो ।
के हो जातीय साहित्य ? को हुन् जातिवादी लेखक ? जातिवादी लेखक नहुनका लागि निर्धारण गरिएका सिमाहरु के के हुन् ? कस्ता विषय, परिवेश र घटनाहरु समेटेर लेख्दा समग्रमा नेपाली साहित्यकार हुन सकिने हो ? साहित्य जमातभित्रै र सञ्चारमाध्यमहरुमा पटकपटक यिनै प्रश्नहरुको सामना गरिरहेकी कवि एवम् कथाकार बिना थिङले यसपटक याम्बुनेर सार्वजनिक गरेसँगै यस्ता प्रश्नहरुको सामना गरिरहेकै छिन् ।
बिना आफूलाई केवल जातिवादी लेखकको रुपमा मात्रै हेर्नेहरुप्रति सहमत छैनन् । उनी आफूलाई समग्रमा नेपाली साहित्यकारका रुपमै स्वीकार्छिन् । नेपाली साहित्यको न्यायाधीश हुँ भन्नेहरुले उनलाई जातिवादी वा पहिचानवादी लेखककको रुपमा हेर्नुको एउटै कारण हो, उनका कथा या कविताहरुमा उनले आफ्नै तामाङ समाज र संस्कृतिको वरपर रहेर राज्यसत्ताप्रति निरन्तर प्रश्न गरिरहनु ।
आजसम्म हामीले विद्यालय तहका पाठ्यपुस्तकदेखि साहित्यका जति पनि पुस्तक पढ्यौं ती प्रायःहिन्दू धर्म र तीनै समुदायसँग सम्बन्धित साहित्य थिए । तर ती साहित्य र साहित्यकार कहिल्यै जातिवादी भएनन् तर त्यसैगरी आफ्नो धर्म र समुदायबारे लेख्ने आदिवासी जनजाति लेखकहरु चाँहि किन जातिवादी लेखक भए ? त्यतिमात्रै होइन एउटा जनजाति लेखकले आफ्नो समुदायबारे लेख्दा जातीय साहित्य हुने तर त्यही साहित्य इतर समुदायका लेखकले लेखिदिए वाह ! नेपाली साहित्य कसरी हुने ? यो प्रश्न निकै गम्भीर छ । हामीले बुझ्नु पर्ने हो, जातिवादी लेखक नहुनु भनेको त नेपाली साहित्यमा राज्यसत्ताद्वारा सिमान्तमा पारिएकाहरुको धेरै महत्वपूर्ण विषयहरु छुटि जानु हो ।
नेपाली साहित्यको मानक निर्धारण गर्नेहरुले लेखकलाई राज्यसत्ताप्रति प्रश्न गर्न मात्रै निषेध गर्दैनन् उसलाई आफ्नो समुदाय र संस्कृतिबारे नलेख्नका लागि पनि बाध्यात्प्रेरित गर्छन् । किनकी उसको इतिहास, संस्कृति र जीवनशैली समेटिएको साहित्यले समग्रमा नेपाली साहित्यको मान्यता पाउँदैन । त्यो त सिमित समुदाय जस्तैः तामाङ साहित्य, गुरुङ साहित्य वा राई साहित्यमा मात्रै सिमित हुनपुग्छ । यसले सम्बन्धित समुदायका लेखकलाई आफ्नो समुदायभन्दा परको साहित्यतर्फ आकर्षण र आफ्नो समुदायको साहित्यतर्फ विकर्षण गर्छ । यसरी हामीले नेपाली साहित्यमा हिजोदेखि आजसम्म यहाँका आदिवासी जनजाति समुदायसँग सम्बन्धित जे-जति साहित्य पढ्यौं ती अधिकांश त इतर समुदायबाट लेखिएका छोक्रे साहित्य नै थिए ।
एउटा लेखक जुन माटो र धरातलमा उभिएको हुन्छ उसले त्यहीँ माटोबारे जति इमानदारीताका साथ बोल्न र लेख्न सक्छ त्यति नै बोल्न र लेख्न अर्को धरातलको लेखक या वर्षाैंको विश्वविद्यालयको ज्ञान पनि अपूर्ण हुनसक्छ । पछिल्लो समय नेपाली साहित्यमा आफ्नो समुदाय र संस्कृतिबारे आफै लेख्न सक्षम साहित्यकारहरुको आगमन हुनु भनेको पाठकले अब उखुको छोक्रा नभई सिधै रसपान गर्न पाउनु जस्तै हो । यसले नेपाली साहित्यको शब्द भण्डार समृद्ध हुनुका साथै नेपाली साहित्यमा विविधताको सुगन्ध पनि थप्छ ।
कोरोना कहरले विश्व नै ठप्प प्रायः भइरहेको बेला पुस्तक विमोचनमा विगतमा हुँदै आएका अनेक तामझामबाट पर रहेर केही हप्ता अघि कथाकार गृहबाटै सार्वजनिक भएको याम्बुनेरको चर्चा दुई किसिमले चुलिदो छ । पहिलो, नेपालको सिमाभित्र तामाङ समुदायकै लेखकबाट तामाङ समाज र संस्कृतिलाई विस्तृत रुपमा समेटेर लेखिएको यो पहिलो कथा सङ्ग्रह हो भने दोस्रो भनेको सम्बन्धित समुदायकै केही पाठकबाट तामाङ सभ्यता, इतिहास लगायतका विषयहरु समेटिन सकेनन् भन्ने अपेक्षाकृत असन्तुष्टि हो ।
हामी अझै पनि कालो वर्ण भएका मधेसी मूलका नागरिकलाई नेपाली नागरिकका रुपमा स्वीकार्न वा साथी बनाउन चाहन्नौं । किनकी हाम्रो मानसिकतामा नेपाली नागरिक भनेको पहाडी मूलका नागरिक मात्रै हुन् ।
जंगबहादुर राणाको वि.सं. १९१० को मुलुकी ऐनमा नै लिखित रुपमा मासिन्या जातका रुपमा रहेका तामाङहरुले राज्यसत्ताबाट भोगेका विभेद, दमन, उत्पीडन, शोषण र दुःखका कहानी नेपालको इतिहास जत्तिकै लामो र गहिरो छ । याम्बुनेरले तामाङ समुदायको यहीँ लामो अनि गहिरो दुःखसँगसँगै मूलत : राज्य र समुदायको दोहोरो मारमा परिरहेका तामाङ महिलाको अवस्थालाई उजागर गरेको छ ।
आदिवासी जनजाति महिलाहरु स्वायत्त छन् स्वतन्त्र छन् र आर्थिक रुपमा पनि सक्षम छन् भन्ने हाम्रो सतही बुझाइलाई याम्बुनेरले गलत सावित गरिदिन्छ । महिला स्वतन्त्रता भनेको सामान्य पेवा र महिनावारी हुँदाको छुट मात्रै होइन । पुरुष सरह मान्छे भएर बाँच्न पाउनु पनि हो । राज्यसत्ता र आफ्नै समुदायको दोहोरो मारमा परेका तामाङ महिलाका दुःखको पहाड छिचोली नसक्नु छन् ।
गरिबी, अशिक्षा, विभेद, उत्पीडन र भौगोलिक विकटताको गह्रौं भारमा तामाङ समुदाय परेकै छन्, तर त्यसभित्र पनि तामाङ महिलाको दुःखको भार पुरुषकोभन्दा बढी नै छ । एउटा नामर्द पुरुषले समेत आफ्नो कमजोरी र पुरुष अहम लुकाउन कसरी महिलाको रुप, गुण र चरित्रमाथि प्रश्न उठाउँछ र आफु वषौंदेखि विवाहित स्वास्नी छोडेर वेपत्ता हुन्छ भन्ने यर्थालाई ब्याडभाले शीर्षकको इरमान पात्रको माध्यमबाट देखाइएको छ ।
हामी अझै पनि कालो वर्ण भएका मधेसी मूलका नागरिकलाई नेपाली नागरिकका रुपमा स्वीकार्न वा साथी बनाउन चाहन्नौं । किनकी हाम्रो मानसिकतामा नेपाली नागरिक भनेको पहाडी मूलका नागरिक मात्रै हुन् । राज्यसत्ताले नै निर्माण गरेको यस्तो खाले मानकले नेपाली नागरिकलाई आफ्नै देशमा अनागरिक मात्रै बनाएको छैन, अपमान र शंकाको घेरामा राखेको छ-गंगारामको साइकल कथाले देखाएको छ ।
सामान्य र बौद्विक दुवै खाले पाठकलाई समेट्ने गरी लेखिएको यस कथा सङ्ग्रहभित्रका सिकोफाइभ, आनी पेमा, ब्याड भाले, गन्धे झार, सिफनको फेरो र मूल शीर्ष कथा याम्बुनेरले बौद्विक खालका पाठकलाई समेट्दै कथाकारको फराकिलो ज्ञानको दायरालाई प्रतिबिम्वित गर्छ भने ड्राइभरको आँखा, गंगारामको साइकिल, आयाम,घडी फूल, जुनेदो, भगवान निवास र आइतिमाया जस्ता कथाहरुले साहित्य नबुझेका सामान्य पाठकलाई समेत आकर्षित गर्छ ।
धर्म अफिम हो । यसले मान्छेलाई चेतना भएर पनि चेतनाविहीन जस्तो र विवेक भएर पनि विवेकविहीन जस्तो बनाउँछ । हामी अझै पनि धर्मका नाउँमा छोरी, चेलीहरुलाई गुम्बा र मन्दिरहरुमा देवी, आनी, कुमारी या देउकी बनाउँछौं र पूजा गछौं तर समाजमा उनीहरुलाई मान्छे भएर बाँच्न समेत दिँदैनौ । एउटा अबोध बालिका आफ्ना सबै इच्छा, चाहनाहरु मारेर परिवार या समाजका लागि बलिको बोको हुन बाध्य हुन्छे । तर अबका छोरीहरु बलिको बोको बनेर बस्दैनन् । प्रचलित प्रथा, परम्पराको साँध सिमा नाघेर मन्दिर र गुम्बाहरुबाट निस्कने हिम्मत गर्छन् र खुल्ला आकाशमा स्वच्छन्द बाँच्छन्, कथाकारले ‘आनी पेमा’ कथा मार्फत तामाङ समुदायमा प्रचलित आनी परम्परामाथि विद्रोह गरेकि छिन् ।
छोरीहरु असुरक्षित छन् भने आफ्नै परिवार र आफन्तबाटै छन् । अधिकारविहीन छन् भने राज्यबाटै छन् । नेपालमा हुने गरेका महिला बेचबिखन र बलात्कारका घटनाको तथ्यांकले यस्ता घटनामा अधिकांश परिवारकै या नजिकैको आफन्तको संलग्नता रहेको देखाउँछ । तामाङ छोरी चेलीहरु राणा कालमा दरबारका खोपीहरुदेखि पञ्चायतकालमा प्रधानपञ्चहरुको पछि लाग्दै र गण्तन्त्रमा मानव तस्करहरुको चंगुलमा परेर खाडी र अफ्रिकी मुलुकतिर बेचिन र लुटिन बाध्य छन् ।
राज्यको विभेदपूर्ण नीतिकै कारण एउटी तामाङ महिला आफुले जिन्दगीभर दूःख गरेर कमाएको सम्पत्तिको मालिक हुनबाट कसरी वञ्चित हुन्छे र भाइको नाममा घर किन्न बाध्य हुन्छे भन्ने यथार्थ सिफनको फेरो कथाकी मूख्य पात्र सेर्मोमार्फत प्रस्तुत गरिएको छ । भाइको नाममा नागरिकता हुनु तर दिदीसँग नागरिकता नहुनुका पछाडि राज्यले महिलालाई कस्तो किसिमको व्यवहार गरेको गरेको छ भन्ने मात्रै देखाउँदैन बरु तामाङ समुदायभित्रै पुरुषको तुलनामा महिलाहरु कति अधिकार प्राप्त र स्वतन्त्र छन् ? भन्ने देखाउँछ ।
कथा सङ्ग्रहमा तामाङ जातिबारे उठाउनु पर्ने अझै धेरै कुराहरु बाँकी नै होलान् । सम्बन्धित समुदायको अपेक्षा र असन्तुष्टिको चाङ नै होलान् र पनि सत्य यो हो कि याम्बुनेरले नेपाली साहित्यमा तामाङ समुदायसँग सम्बन्धित साहित्यको जुन अभावको खाडल थियो ।
राज्यसत्ताले आदिवासीहरुको आफ्नै जल, थल, वनमाथिको अधिकारमा कसरी अंकुश लगाउँछ र उसको परम्परागत पेशाबाट विमुख बनाएर उनीहरुलाई आफ्नो भूमि छोडेर विदेश जान बाध्य पार्छ भन्ने यथार्थ याम्बुनेर मूल कथाले देखाएको छ । केही समय अघिदेखि सांसद उषाकला राईले घरेलु कोदोको रक्सीलाई ब्याण्ड होइन ब्रान्ड बनाउनुपर्छ र देशलाई समृद्धितर्फ लानुपर्छ भनेर संसदमा मुद्दा उठाइरहनुभएको बेला नेपाली साहित्यमा बिना थिङले पनि याम्बुनेर मूल शीर्षकको कथामार्फत यहीँ मुद्दाको उठान गर्नु सुखद् संयोग मात्रै नभई यो अहिलेको समयको माग र आवश्यकता हो । गाइको मूतलाई शुद्ध र पवित्र मान्ने राज्यसत्ताले आदिवासी जनजातिहरुको संस्कारमा शुद्ध र अनिवार्य मानिने कोदो या अन्य अनाजका अर्गानिक रक्सीलाई प्रतिबन्ध लगाउने, धरपकड गर्ने, ग्यालिन र ड्रम घोप्ट्याउने होइन कानुनी तवरले आफ्नो परम्परागत पेशा गर्न दिनुपर्छ भन्ने मुद्दा याम्बुनेरले उठाएको छ ।
कथा सङ्ग्रहमा तामाङ जातिबारे उठाउनु पर्ने अझै धेरै कुराहरु बाँकी नै होलान् । सम्बन्धित समुदायको अपेक्षा र असन्तुष्टिको चाङ नै होलान् र पनि सत्य यो हो कि याम्बुनेरले नेपाली साहित्यमा तामाङ समुदायसँग सम्बन्धित साहित्यको जुन अभावको खाडल थियो । त्यसलाई सम्बन्धित समुदायकै लेखकबाट पूर्ति गर्ने काम गरेको छ । यसले आउँदो पुस्तालाई हिँड्न सजिलो हुनेगरी गोरेटो निर्माण त गरेको छ नै कथाकार स्वयंलाई पनि नेपाली साहित्यको इतिहासमा कोड गर्ने गरी स्थापित गरेको छ ।
सामान्य र बौद्विक दुवै खाले पाठकलाई समेट्ने गरी लेखिएको यस कथा सङ्ग्रहभित्रका सिकोफाइभ, आनी पेमा, ब्याड भाले, गन्धे झार, सिफनको फेरो र मूल शीर्ष कथा याम्बुनेरले बौद्विक खालका पाठकलाई समेट्दै कथाकारको फराकिलो ज्ञानको दायरालाई प्रतिबिम्वित गर्छ भने ड्राइभरको आँखा, गंगारामको साइकिल, आयाम,घडी फूल, जुनेदो, भगवान निवास र आइतिमाया जस्ता कथाहरुले साहित्य नबुझेका सामान्य पाठकलाई समेत आकर्षित गर्छ । केही भाषिक कमजोरी र एक दुई ठाउँमा नसुहाउँदा प्रसङ्ग बाहेक रचना विधानका हिसाबले याम्बुनेरका कथावस्तु, पात्र, परिवेश होऊन् या भाषा-शैली पाठकलाई अहिलेसम्म पढिरहेका कथाहरुमध्ये नौलो स्वाद नै हुनेछ ।
तामाङ समुदायमा प्रचलित आनी प्रथादेखि २०४६ सालको जनआन्दोलन, २०५२ मा सुरु भएको माओवादी जनयुद्वकालीन कहाली लाग्दो अवस्था र २०७२ सालको भूकम्प हुँदै किशोरी मनोविज्ञान, एकल महिलाको विषय लगायतका विषयहरु समेटिएको याम्बुनेरको प्रकाशनसँगै नेपाली साहित्यमा नयाँ शब्द भण्डारहरु त थपिएका छन् नै मूलतः यसले नेपाली साहित्य र साहित्यकारको मानक (भनिएको)लाई भत्काएको छ । १३ कथाहरु सहित १७३ पेजको याम्बुनेरलाई फिनिक्स बुक्सले प्रकाशन गरेको हो । यसको बजार मूल्य ३०० रुपैयाँ रहेको छ ।
प्रतिक्रिया