‘जहाँ कुनै संघर्ष हुँदैन त्यहाँ कुनै प्रगति हुँदैन, हामी पुतलीको सुन्दरता हेरेर मक्ख त हुन्छौं तर त्यो सुन्दरता पाउन कुन अवस्थाबाट गुज्रिएको छ भन्ने ख्याल गर्दैनै ।’ माथिका भनाइसँग मेल खाने खालको हामी आज एक संघर्षशील खेलाडी जीवन गिरीका बारेमा चर्चा गर्दैछौ । जीवन गिरीको जन्म वि सं २०३० सालमा पोखरामा भएको थियो । यद्यपी उनको मूल थाकथलो भने भानुमती गाउँपालिका तनहुँको कोखे हो ।
नेपाल प्रहरी सेवामा रहेका उनका पिता सरकारी जागिरका शिलशिलमा पोखरा झरेका थिए । पछि ३९ साल तिर जीवनको सपरिवार तौलिहवामा बसाई सर्यो । उनको बाल्यकाल त्यहि बित्यो । ४५४६ साल तिर जीवन कराते खेल्न शुरु गरेको उनी बताउँछन् । बिस्तारै उनको रुझान शारीरिक सुगठन खेल तर्फ बढ्यो । त्यसपछि उनले बुटवलबाट एकथान डम्बेल चार सय पचास रुपैयाँमा खरिद गरेर जिम गर्न सुरु गरेको उनले सुनाए । सोहि क्रममा उनको भेटघाट शिवध्वज राइसँग भयो । जस्ले लुम्बिनी अञ्चलको शारीरिक सुगठन खेलको विकासका लागि विभिन्न प्रतियोगिताहरु आयोजना गर्ने गर्थे ।
गिरिको पहिलो प्रतियोगिता वि. स. २०५१ सालमा उनै शिवध्वज राइले संञ्चालन गर्ने नेपाल व्यायाम मन्दिर शाखा सिद्धार्थनगरको आयोजनामा भएको दोस्रो मिस्टर लुम्बिनी शारीरिक सुगठन प्रतियोगिता थियो । जसमा उनले ७० केजी तौल समूहबाट प्रथम हुँदै उपाधि जित्न सफल भएका थिए । २०५१ सालमा धरानमा सम्पन्न भएको दशौ राष्ट्रिय शारीरिक सुगठनमा उनी आफ्नो वजन समुह दोस्रो हुन सफल भए । त्यहि सालमा नेपाल व्यायाम मन्दिर काठमाण्डौबाट अनुमती लिएर तौलिहवामा शाखा खोले । सोहि क्लबको आयोजनामा तेश्रो मिस्टर लुम्बिनी प्रतियोगिताको आयोजना गरे ।
२०५१ मा भएको प्रथम एभरेष्ट्र क्लासिकमा सहभागी भई उनी पाँचौ भए । २०५२ सालमा भएको दोस्रो एभरेष्ट्र क्लासिकमा गिरि तेस्रो हुन सफल भए । २०५३ सालमा भएको मि हिमालय आफ्नो वजन समुहमा प्रथम भएको उनले बताए । त्यतिबेला उनले तौलिहवा संचालन गरिरहेको जिमको नाम परिवर्तन गरेर ओल्पियन जिम सेन्टर राखे । सोहि क्लबको आयोजनामा २०५४ साल पौष १४ गते कृष्णनगरमा प्रथम मिस्टर पश्चिमाञ्चल प्रतियोगिताको आयोजना गरे । गिरिले २०५५ सालमा भएको छैठौ धर्म श्री खुल्ला राष्ट्र व्यापी शारीरिक सुगठनमा आफ्नो वजन समुहमा विजयी हुदै उपाधि समेत चुम्न सफल भए । विजेता भए बापत उपाधिसँगै नगद ३० हजार पुरस्कार पाएको उनले बताए ।
२०५५ सालमा भएको काठमाडौँ कपमा प्रतियोगितामा ७० केजी तौल समुहबाट उनी प्रथम भए । वि.स २०५६ सालमा भारतको नासिकमा सम्पन्न प्रथम दक्षिण एशियाली शारीरिक सुगठन प्रतियोगितामा उनि संचित प्रधान र राजु दिवाकरले कास्य पदक जितेर शारीरिक सुगठन खेलमा नेपालको अन्तराष्ट्रिय पदक यात्राको थालनी गरे । २०५६ सालमा उनी शारीरिक सुगठन ट्रेनरको रुपमा विदेश तिर लागे । नेपालका धेरै शारीरिक सुगठनका युवा खेलाडीलाई विदेशमा रोजगारीका अवसर दिलाए । १५ वर्ष लामो विदेशको बसाइपछि उनी २०७१ सालमा नेपाल फर्किए । उनी नेपाल फर्किए लगत्तै देशभरिमा जिमहल खोल्न शुरु गरे । हलसम्म उनको भलु भैरब जिम जिम एण्ड फिटनेश सेन्टरको अधिराज्यभर पाँचवटा शाखा रहेको छ ।
विभिन्न समयमा ति शाखाहरु बीच आन्तरिक प्रतियोगिता समेत निरन्तर रुपमा संचालन गरिरहेका उनि बताउँछन् । उनले जीवनमा गरेका संघर्षबाट नयाँ खेलाडीहरुले शिक्षा लिनु पर्ने शारीरिक सुगठनका पुराना खेलाडी तथा राखेप सहायक प्रशिक्षक केशवबहादुर शाक्य बताउँछन् । उनि भन्छन, ‘उतिबेला व्यायाम गर्ने उपकरण लगायत अन्य सुविधा काठमाण्डौ भन्दा बाहिरमा निकै कठिन थियो । यस्तो विषम अवस्थामासमेत गिरिले कपिलवस्तुमा रहेर जुन किसिमको उच्च उपलब्धि हासिल गरे तर आजकालका युवाहरु आफ्ना घर नजिक भएका अत्याधिक जिम हल, सुचनामा सहज पहुंचका बावजुद लगनशील हुन सकेका छैनन् ।’
जीवन गिरी वि.स. २०५२ देखि हालसम्म पनि कपिलवस्तु जिल्ला शारीरिक सुगठन तथा फिटनेस संघका अध्यक्षका रुपमा जिम्मेवारी निर्वाह गरिरहेका छन् । यहि संस्थाबाट नै उनले २०७६ सालमा ओझेलमा परेको कपिलवस्तु तिलौराकोटको पहिचान दिन कपिलवस्तु श्री राष्ट्रव्यपी शारीरिक सुगठन प्रतियोगिताको आयोजना गरेका उनले बताए । हाल उनि एशियन पावर लिफ्टिङ्ग संघका उपाध्यक्षको जिम्मेवारी निर्वाह गरिरहेका छन् उनको शारीरिक सुगठन खेल प्रतिको लगावको कदर गर्दै रुपन्देही जिल्ला शारीरिक सुगठन संघले उनलाई कदर पत्र ले सम्मानित समेत गरेको छ ।
प्रतिक्रिया