श्याम श्रेष्ठको जन्म वि.सं. २०२७ काठमाडौंको क्षेत्रपाटीमा भएको थियो । पढाईमा सानैदेखि अब्बल रहेका श्यामले सिद्धार्थ बनस्थली हाईस्कुलबाट एसएलसी परीक्षा पास गर्न सफल भए । त्यसपछि उनले विज्ञान विषय लिएर आईएससी र बिएससी त्रिचन्द्र कलेजबाट पास गरे । आफू युवा अवस्थामा साह्रै दुब्लो भएकोले व्यायाम गर्न उदयबहादुर श्रेष्ठले तहाचलमा सञ्चालन गरेको काठमाडौं जिम क्लबमा जिम गर्न शुरु गरे । केही समय पछि सो जिमको सञ्चालक परिवर्तन भइ युनिभर्सल जिममा रुपान्तरित भयो ।
उनले आफ्नो बडी बिल्डिङ करियरको सुरुवात युनिभर्सल जिमबाट नै गरे । उनका समकक्षीहरुमा जयेन्द्र राजलवट, अनन्त स्थापित र भुवन जोशी लगाएतका थिए । प्रशिक्षक राजेन्द्र तुलाधरको प्रशिक्षणमा श्यामले जिमखानामा पसिना बगाउन थाले । २०४९ सालमा कुसुम स्पोट्स क्लबको आयोजनामा काठमाडौं खुल्ला शारीरिक सुगठन प्रतियोगिता भएको थियो । जसमा प्रमुख अतिथिका रुपमा सर्वमान्य नेता गणेशमान सिंहको उपस्थिती थियो । श्रेष्ठले यस प्रतियोगितामा ५५ केजी तौल समुहमा कास्य पदक प्राप्त गरेर आफ्नो पदक यात्राको थालनी गरे ।
उनले त्यही साल नै काठमाडौंमै भएको नवौ राष्ट्रिय शारीरिक सुगठन प्रतियोगितामा आफ्नो बजन समुहमा रजत पदक हात पारे । उनले काठमाडौं जेसिसको आयोजनामा वि.सं. २०५४ सालमा भएको मिष्टर काठमाडौं खुल्ला शारीरिक सुगठन प्रतियोगिताको उपाधि उचाल्न सफल भएका थिए । ६२ सालमा काठमाडौंमा भएको बाह्रौ र ६८ सालमा महेन्द्रनगरमा भएको तेह्रौ राष्ट्रिय शारीरिक सुगठन प्रतियोगितामा आफ्नो बजन समुहमा मिष्ट्रर नेपालको उपाधि लगातार उचाले । उनको शारीरिक सुगठन खेलको यात्रा निरन्तर चलि नै रह्यो । काठमाडौंमा ५१ सालमा भएको मिष्टर एभरेष्ट्र क्लासिकको पहिलो देखि ५३ सालमा भएको तेश्रो संस्करण लगातार ३ पटकसम्म उनि बिजेता बन्न सफल भए ।
नेपाल शारीरिक सुगठन तथा फिटनेस संघको आयोजनामा हुने मिष्टर हिमालय राष्ट्रिय शारीरिक सुगठन प्रतियोगिताको वि.सं. २०५२ मा भएको पहिलो देखि ६९ सालमा भएको चौथो संस्करण सम्म श्यामले लगातार चारपटक सम्म आफ्नो बजन समुहमा विजयी हुँदै अल ओभरमा प्रायः उपविजेता बन्न सफल भए । नेपाल व्यायाम मन्दिर आयोजनामा हुने नेपालको सबैभन्दा ठुलो मानिएको धर्म श्री राष्ट्रिय शारीरिक सुगठन प्रतियोगिताको ५७ सालमा भएको सातौ संस्करण देखि ६८ सालमा भएको १२ औ संस्करणसम्म श्यामले लगातार छ पटकसम्म आफ्नो बजन समुहमा विजयी हुदै अल ओभरमा प्रायजसो उपविजेता भए । नेपाल जिम एण्ड फिटनेस सिद्धार्थनगरले २०६२ सालमा आयोजना गरेको डियुरो फ्ल्यक्स मिष्ट्रर नेपाल र २०६९ मा सालमा आयोजना गरेको अम्बुजा दोश्रो मिष्ट्रर नेपालको दुवै संस्करणमा श्याम आफ्नो बजन समुहमा विजेता बन्दै च्याम्पियन अफ दि च्याम्पियन बन्न सफल भए ।
पहिलेदेखि नै शारीरिक सुगठनका अग्रज गुरुहरु शिवलाल श्रेष्ठ, घनश्याम मुखिया र सरोज श्रेष्ठसंग उनको नियमित जसो भेटघाट भई रहन्थ्यो । उनले समयसमयमा उनीहरूबाट व्यायामका आधुनिक कलाहरु सिक्ने अवसर पाए । २०६५ सालमा नेपाल व्यायाम मन्दिरका अध्यक्ष नारायण प्रधानले श्यामलाई नेपाल व्यायाम मन्दिरमा आउन अनुरोध गरे पछि श्यामले नेपाल व्यायाम मन्दिरमा सहर्ष प्रवेश गरे । उनलाई लाग्यो कि त्यो बेलाको नेपाली शारीरिक सुगठन खेलका खेलाडीहरुका लागि उपयुक्त जिमखाना भनेकै नेपाल व्यायाम मन्दिर थियो । किनकी खेलाडीको भविष्यसम्म सहयोग गर्ने कुराको भरपर्दो सुनिश्चितता तत्कालिन अवस्थामा त्यस जिमले मात्र दिन सक्थ्यो ।
राष्ट्रिय प्रतियोगितामा मात्र नभएर झन्डै दर्जन भन्दा बढी अन्तराष्ट्रिय प्रतियोगिताहरुमा पनि आफ्नो जोडदार उपस्थिती जनाएको श्याम बताउँछन् । उनले सन् १९९६ मा भारतमा भएको ३२औं, सन् २०१० मा इरानमा भएको ४४ औ, सन् २०११ मा थाइल्याण्डमा भएको ४५औं तथा सन् २०१२ मा चाइनामा भएको एसियाली शारीरिक सुगठन प्रतियोगितामा आफ्नो सहभागिता जनाएका थिए ।
श्यामले सन् २००० मा इन्डोनेसियामा भएको पहिलो तथा सन् २०१० मा ओमानमा भएको एसियालीबिच गेम्मसमा समेत सहभागि भए । श्यामले सन् २००० मा नेपालमा भएको दोस्रो दक्षिण एसियाली शारीरिक सुगठन प्रतियोगितामा ६५ केजी तौल समूहमा रजत पदक तथा सन् २०१० मा नेपालमा नै भएको सातौं दक्षिण एसियाली शारीरिक सुगठन प्रतियोगितामा ऐतिहासिक स्वर्णपदक प्राप्त गरेका थिए । साथै उनले सन् २०१२ मा मा भारतको लुधियानामा भएको ९ औ दक्षिण एसियाली प्रतियोगितामा समेत सहभागिता जनाएका थिए ।
तीन दशक जति लामो खेल जीवनमा लागेर तीन दर्जन राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगितामा उनले दमदार प्रस्तुती दिइसकेका छन् । सन् २०१० मा इन्डियाको बनारसमा भएको दोस्रो विश्व बडीबिल्डिङ च्याम्पियनशिपमा ऐतिहासिक कास्य पदक प्राप्त गरेको क्षणलाइ उनि जीवनमा असाध्यै खुशी लागेको क्षणको रुपमा लिन्छन् । नेपालले विश्व च्याम्पियनसिपमा पदक प्राप्त गरेको त्यो नै पहिलो प्रतियोगिता भएको उनको दाबि छ ।
उनले जीवनको सबैभन्दा बिर्सन नसकिने घटना आठौं धर्मश्री शारीरिक सुगठन प्रतियोगिता भएको सम्झन्छन् । प्रतियोगिताको अन्तिम चरण हुनु अगाबै उनका प्रतिस्पर्धी नरेश महर्जनले यस पटकको धर्मश्रीको विजेता तिमी नै हो भनेर प्रतियोगिता सकिनु अगावै श्यामलाइ बधाइ दिए । तर, अन्तिममा नतिजा घोषणा गर्दा नरेश महर्जन विजयी घोषित भए । खेलमा हारजीत हुन्छ तर आफू प्रतियोगितामा असफल भयो भन्दैमा निर्णायकको निर्णय गलत हो भन्न नहुने, उनको भनाइ छ ।
श्याम श्रेष्ठले शारीरिक सुगठन खेलका विभिन्न तालिमहरु समेत लिएका छन् । सन् २०१० मा राष्ट्रिय खेलकुद परिषदबाट आयोजित सहायक प्रशिक्षक तालिममा श्याम सहभागी भएका थिए । त्यस्तै गरेर सन् २०१५ मा Advance Sport Science Course of Elite Coaches तालिममा पनि उनी समाबेश थिए । त्यस्तै राष्ट्रिय खेलकुद परिषदबाट सञ्चालित खेलकुद विज्ञान एकेडेमी नेपालबाट पनि उनले तालिम लिएका छन् ।
उनले २०७० सालमा नेपालगंजमा भएको चौधौ राष्ट्रिय शारीरिक सुगठन प्रतियोगितामा उनले सक्रिय खेल जीवनबाट औपचारिक रुपमा सन्यास लिने घोषणा गरे । त्यसपछि उनी शारीरिक सुगठन खेलको राष्ट्रिय निर्णायक हुदै क्रमश ध्द्यएँ बाट अन्तर्राष्ट्रिय निर्णायकको लाइसेन्स समेत प्राप्त गरे । हाल देशविदेशमा हुने शारीरिक सुगठन प्रतियोगिताहरु निर्णायकको भुमिका निवार्ह गरिरहेका छन् । राज्यले शारीरिक सुगठन खेललाई अन्य राष्ठ्रिय खेल सरह समान दृष्टिले नहेरेकोमा श्रेष्ठ दुःखि छन् । उनी यो राष्ट्रका लागि थुप्प्रै अन्तराष्ट्रिय पदक भित्र्याई सकेको यस खेललाई समयमै सरोकारवाला निकायले उचित मूल्यांकन गर्नुपर्ने अन्यथा यस खेलबाट नयाँ खेलाडीहरु पलायन हुने सम्भावना रहेको उनको ठमम्याई छ ।
कुनै बेला नेपालमा हुने शारीरिक सुगठन प्रतियोगिताको स्टेजमा एकछत्र राज गरेर सबैजसो मासिक खेल पत्रिकाको मुख्य पृष्ठमा छाउन सफल श्याम एक किर्तिमानी खेलाडी हुन् । हाल काठमाण्डौ जिल्ला शारीरिक सुगठन तथा फिटनेस संघका उपाध्यक्ष रहेका श्यामलाइ शारीरिक सुगठन खेलको विकास लामो समय योगदानको कदर गर्दै राष्ट्रिय खेलकुद परिषद, नेपाल शारीरिक सुगठन तथा फिटनेस संघ र नेपाल व्यायाम मन्दिर लगायत विभिन्न संघ संस्थाले उनलाइ सम्मान गरिसकेको छ । उनलाई वल्ड बडी बिल्डिङ एण्ड फिजिक्स स्पोर्टिङ फेडरेशनले स्वर्ण पदकबाट उनलाई सम्मान समेत गरिसकेको छ ।
प्रतिक्रिया