चैत २१,
बुटवल । बुटवलका एक शिक्षाप्रेमीको अगुवाईमा अमेरिका स्थित न्युयोर्कको कोरोनामा रहेको लेफ्राक सिटी क्वीन्स लाइब्रेरीमा नेपाली मूलका अमेरिकी बालबालीकालाई नेपाली भाषा र नैतिक शिक्षाको कक्षा संचालन गरिएको छ । क्वीन्स नेपलिज लायन्स क्लब अमेरिकाका अध्यक्ष एवम् बुटवलका शैक्षिक ब्यक्तित्वपुरुषोत्तम पन्थीको पहलमा नेपाली बालबालिकाका लागि भाषा, साहित्य तथा नैतिक शिक्षा कक्षा संचालन गरिएको हो ।
साप्ताहिक रुपमा संचालन गरिने उक्त कक्षामा कखरा नजान्ने नेपाली मूलका अमेरिकी बच्चाहरुलाई कखराबाटै नेपाली भाषा सिकाइने गरिएको छ । नेपाली भाषामा नमस्ते, स्वागतम, धन्यबाद, अभिवादन लगाएतका आम जीवनमा लागू हुने नैतिक शिक्षासँग सम्बन्धित कुराहरु पनि सिकाइने तथा नेपालको ईतिहास र बर्तमान बस्तुस्थितीका बारेमा जानकारी दिइने गरिएको अध्यक्ष पन्थीले जानकारी दिनुभयो ।
हरेक शनिबार ३ बजेदेखि सुरुहुने सो भाषा, साहित्य तथा नैतिक शिक्षा कार्यक्रममा ति बिषयमा नेपाली मुलका शिक्षक शिक्षिकाहरु सम्पूर्ण थापा, रुपा भण्डारी, चेतनारायण पाण्डे र आस्था भण्डारीले बालबालीकाहरुलाई सिकाउने गर्नुभएको छ । ४ बर्षदेखि १९ बर्षसम्मकालाई सिकाइने उक्त कक्षामा आफ्ना बालबालिकाहरुलाई सामेल गराउन चाहने अभिभावकहरुले क्वीन्स नेपलिज लाइन्स क्लब वा त्यसका अध्यक्ष पुरुषोत्तम पन्थीलाई सम्पर्क गर्न सकिने बताइएको छ ।
अमेरिकामा रहने नेपाली मुलका अभिभावकहरुको आग्रहमा संचालन गरिएको सो नेपाली भाषा, साहित्य र नैतिक शिक्षा कार्यक्रमको औपचारिक उद्घाटन कार्यक्रममाक्लवका अध्यक्ष पुरुषोत्तम पन्थी, क्वीन्स नेपलिज लाइन्स क्लबका पूर्व अध्यक्ष मंगलदाश श्रेष्ठ, लायन सुनिता श्रेष्ठ, द्धितिय उपाध्यक्ष बाबुराम गुरुङ, लायन राजेन्द्र खड्का, साहित्यकार कमला प्रसाई, अभिभावककोतर्फबाट सबु सापकोटा लागायतले अमेरिका नेपाली भाषाको महत्व र बिशेषताबारे चर्चा गर्नु भएको थियो । क्लवका अध्यक्ष पन्थीका अनुसार अहिले ३० जना बालबालिकाले कक्षामा सहभागिता जनाइसकेका छन् । अन्यले नाम दर्ता गराउने क्रम पनि जारी रहेको उहाँले बताउनु भयो ।
प्रतिक्रिया