ताजा अपडेट »

कपिलवस्तुमा साढे सात केजी अफिमसहित दुई पक्राउ

बुधबार, १४ असोज २०७७, १२ : १०
10 Shares
बुधबार, १४ असोज २०७७
10 Shares

कपिलवस्तु । कपिलवस्तु प्रहरीले साढे सात केजी अफिमसहित एक महिला र एक पुरुष अटोचालकलाई नियन्त्रणमा लिएको छ । इलाका प्रहरी कार्यालय कृष्णनगरको टोलीले जाँचका क्रममा मङ्गलबार राति कृष्णनगर नगरपालिका वडा नं २ को चेक प्वाइन्टबाट ती महिला र पुरुषलाई अफिमसहित पक्राउ गरेको हो ।

प्रहरीले चन्द्रौटाबाट कृष्णनगरतर्फ आएको लु १ ह १५७ नम्बरको अटोमा सवार रोल्पा जिल्ला कुलेरी गाउँपालिका-१ कुरेली बस्ने ४९ वर्षीया सीता रोकालाई शङ्का लागि जाँच गर्दा उनिहरुले बोकेको झोलाबाट साढे सात किलो अफिम बरामद गरेको कपिलवस्तुका प्रहरी उपरीक्षक नवराज अधिकारीले जानकारी दिए । चालकको सिट पछाडि अटोमा बसेकी उनले हातमा छोपेको लेडिज ब्यागमा दुई केजी र पछाडि राखेको रेग्जिनको झोलामा रहेको साढे पाँच केजी गरी उक्त परिमाणको अफिम भेटिएको हो ।

पक्राउ परेकी महिला रोकासँगै प्रहरीले अटोचालक कपिलवस्तुको शिवराज नगरपालिका वडा नं ५ का २० वर्षीय सुशील क्षेत्रीलाई पनि नियन्त्रणमा लिई अनुसन्धान अघि बढाएको उपरीक्षक अधिकारीले जानकारी दिए । प्रहरीले बरामद गरेको अफिम भारत पुर्याएपछिको अन्तर्राष्ट्रिय बजार मूल्य एक करोड बढी पर्ने बताइन्छ । यसअघि असोज ७ गते पनि कृष्णनगर नगरपालिकाको वडा नं २ स्थित कृष्णनगर बसपार्कबाट शङ्कास्पदरूपमा भारततर्फ जाँदै गरेका अवस्थामा ३७ केजी चरेससहित दुई महिलालाई प्रहरीले नियन्त्रणमा लिएको थियो ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।