ताजा अपडेट »

मैले चिनेको बाबुराम

सोमबार, १२ असोज २०७७, १९ : ४०
254 Shares
सोमबार, १२ असोज २०७७
254 Shares

२०३० सालतिर अर्घाखाँचीमा घटेका तीनवटा घटना वर्रे संघर्ष, अर्घाको मूर्तिकाण्ड र वचन फिर्ता आन्दोलनमा सदरमुकाम घेराउ कार्यक्रमपछि जिल्ला सरकार कडा रुपमा प्रस्तुत हुन थाल्यो, पार्टिका लिडरहरुलाइ धमाधम गिरफ्तार गर्ने र वारेण्ट काट्न थाल्यो । त्यो स्थितिमा म भागेर दिल्ली गएको थिए । दिल्लिमा संगठनमा जोडिएर मैले काम गर्न थाले । बाबुराम भट्टराई स्कलरशिपमा इन्जिनियरिङ पढ्न चण्डिगढ जानुभएको रहेछ । त्यतिबेला स्कलरसिपबाट थुप्रै नेपाली विद्यार्थीहरु भारतका धेरै कलेजहरुमा पढ्न आउने चलन थियो ।

नेपाली विद्यार्थीहरुको बीचमा ‘अखिल नेपाल विधार्थी संगठन’ नामको संस्था गठन गर्नु भएको रहेछ र त्यसको पहिलो अध्यक्ष बाबुराम जी भएको हुनाले वहाँको नाम मैले सम्भवतः २०३५ सालमा सुनेको थिए । यता हामिले पनि २०३६ सालमा ’अखिल भारत नेपाली एकता समाज’ नामक संस्था खोलेर संगठन विस्तारको काम थालेका थियौं । यी दुई संगठनको बीचमा भावना र वैचारिक एकता थियो । प्रवासमा पार्टी पनि गठन भइ सकेको थियो । म, राजु नेपाली , राजु शर्मा , प्रेम नारायण गौतम , यमलाल पोख्रेल लगायतका साथिहरु दिल्ली जिल्ला कमिटीमा बसेर काम गरेका थियौं ।

मोहन बिक्रमजी पार्टी कामको सिलसिलामा दिल्ली आउनुभयो । त्यतिबेला बाबुरामजी चण्डिगढको पढाई सकेर जेयनयूमा माथिल्लो पढाइको लागि आउनुभएको थियो । मोहन बिक्रमजी कै उपस्थितिमा वहाँले पार्टी सदस्यताको लागि आवेदन गर्नुभएको थियो । वहाँ बुद्धिजीवी वर्गबाट आएको भनेर हामिले छ महिना छि मात्र वहाँलाई पार्टी सदस्यता दिएका थियौं । वहाँको काम र व्यवहार हेरेर केही समयपछि जिल्ला कमिटीमा वहाँलाई बढुवा पनि गरिएको थियो । मोहन बिक्रमजी कै योजनामा भारतको पश्चिमी पश्चिमी पाँच राज्य समेटेर क्षेत्रीय समिती बनाउने समझदारी बन्यो । बाबुराम जी त्यसको अध्यक्ष बन्नुभयो भने तिलक परियार ( हाल २न. प्रदेश प्रमुख) उपाध्यक्षमा रहनु भएको थियो ।

५÷७ महिनापछि मजदुर साथीहरुको संगठनमा मजदुर साथिहरु नै बस्दा राम्रो होला भनेर वहाँले राजिनामा दिनुभयो । म त्यसको अध्यक्ष बने । लगातार तीन सम्मेलनसम्म म नै सभापति रहेको थिए । बाबुरामजीको भाषण हलमा, गोष्ठीमा र सेमिनारमा सुनेको थिए । बाहिर भने २०३८ सालमा चीनमा प्रतिक्रान्ति भयो भनेर नयाँ दिल्ली स्थित चाइनिज राज दूतावासको विरोध पदर्शनमा सुनेको थियो । वहाँको जे.एन.यू.को पूर्वाञ्चलको होस्टेलको कोठा अलि बढी सुविधा भएकाले हामी पटक–पटक त्यहीँ आइ रहन्थ्यौ । दारी पालेको, पातलो मान्छे, धेरै गफगाफ नगर्ने, चाँडै नझिम्मने, गफ खासै नगर्ने तर,अर्काले गरेका गफ जाती मान्ने र मुस्कुराउने स्वभाव, जतिबेला पनि किताब कापिमा टासिइरहने, राती १२ बजेसम्म पढ्ने, खाना पकाउने र खानेकुरामा सारै ध्यान नदिने, भान्सामा पाउरोटी र जामको डिब्बा हुन्थ्यो ।

सायद भोक लागि हाल्यो भने, त्यसैले निर्वाह चलाउनु हुन्थ्यो होला । हामीले त्यहाँ गएर खाना पकाउने गर्थ्यौ, जस्तो भएपनी मिठा मुखले खाने बानी थियो । अत्यन्तै सरल, सादगी, लोभ लालच र घमण्ड, अहंकार केहि नभएको ब्यक्तिको रुपमा मैले चिनेको छु बाबुरामलाई । नेपाल फर्केपछि घरका र सहरका नक्सा कोरेर जम्मा भएको पैसाले कोटेश्वरमा एउटा घर बनाउनु भएको थियो । पछि पार्टीले सम्पत्ती पार्टिमा बुझाउने निर्णय गर्यो , वहाँले त्यो घर बेचेर इमानदारी पुर्वक आफ्नो सम्पत्ती पार्टिलाइ बुझाउनु भएको थियो । त्यो घर बिक्रि नहुदै त्यो घरमा म खाना खान गएको थियो । वहाँ कि भाई बुहारीले खाना पकाएकी थिइन् ।

खाना खाइसकेपछि वहाँको पछि–पछि मैले पनि थाल लगेर माझेको घटना मलाई सम्झना छ । त्यतिधेरै पढेको विद्धान भएर पनि मजदुरलाई अत्यन्तै माया गर्ने स्वभाव वहाँमा देखिन्छ । वहाँले मर्दानी जुत्ता लगाएको हामीले देखेनौ , सधै हवाई चप्पल र एउटा ऊनीको धागोले बुनेको झोला भिर्ने वहाँको चलन थियो । वहाँलाई हामीले हाम्रो संगठनको मासिक पत्रिका ‘नेपाली आवाज’ को सम्पादक पनि बनाएका थियौं, लामो समयसम्म वहाँले त्यो जिम्मेवारी बहन गर्नुभयो ।

२०४१ सालको पाचौं महाधिवेशनमा अयोध्यामा वहाँ पनि प्रतिनिधि बनेर जानुभएको थियो । त्यो अधिवेशनले मोहन बिक्रमजीलाई छ महिनाको लागि अनुशासनको कारबाही गरेको थियो, त्यो कुरामा वहाँको असहमती थियो । त्यति ठूलो वैचारिक लिडरलाई कारज्ञाही गरिहाल्न हुन्नथ्यो भन्ने वहाँको तर्क थियो । नेपाल फर्केपछि पनि वहाँ राजनीतिमा निरन्तर क्रियाशिल रहनुभयो । पञ्चायतका विरुद्ध र पछि राजतन्त्रात्मक संसदिय ब्यवस्थाका विरुद्ध सक्रिय हुनुभयो । आफ्नै नेतृत्वमा संयुक्त राष्ट्रिय जनआन्दोलन नामक मोर्चा बनाएर अगाडि बढ्नु भएको थियो ।

२००७ सालदेखि विषय उठेको तर क्रियात्मक रुप किन नसकेको संविधान सभाको नारा वहाँले जबर्जस्त उठाउनुभयो । वहाँ माथी दुवैतिरबाट प्रहार भयो , दक्षिण पंथी कोणबाट दक्षिण पंथी नारा भनेर आक्रमण गरियो, तर वहाँले अझ ससक्त रुपमा उठाइरहनु भयो । पार्टी भित्रबाट पनि यसको विरोध भयो, सम्भवतः २०४८ तिर हो कि जस्तो लाग्छ स प्रचण्ड जीले संविधान सभाको नारा पुजिवादी नारा भएकाले कम्युनिष्टहरुले ग्रहण गर्न नसकिने आशयको लेख लेख्नु भएको थियो । २०५२ साल फाल्गुण १ गते जनयुद्धको थालनी भन्दा केही समय अगाडि वहाँको नेतृत्वमा चालीस सुत्रिय माग सहितको मागपत्र तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवाको टेवलमा प्रस्तुत गरिएको थियो, जसको मुख्य माग जनताद्वारा निर्वाचित जनप्रतिनिधिहरुले संविधान लेख्न पाउने कुरा थियो । यो संविधान सभाको नारा लामो बहस पछि २०५७ सालमा गएर बल्ल पार्टिमा सर्वस्विकृत भएको थियो ।

तत्कालिन सरकारले ती मागहरुको सम्बन्धमा कुनै सुनुवाइ नै गरेन, जस्का कारण जनयुद्धको प्रारम्भ भयो । युद्ध निरन्तर अगाडि बढ्यो, सरकार झन कठोर बन्दै गयो । क्रान्ति पनि विस्तार हुँदै अगाडि बढ्यो । सत्ताले नियन्त्रण र निस्तेज गर्न सकेन । राज्यले संविधानसभाको माग गरेकै कारण आतंककारी घोषणा गर्यो । नेताहरुको टाउको काटेर ल्याउने वा समातेर ल्याउनेलाई आर्थिक पुरस्कारको समेत घोषणा गर्यो । तर,पनि युद्ध रोकिएन । दरबार हत्या काण्ड घटाइयो, ज्ञानेन्द्र शाह राजगद्दीमा बसे । बाबुरामले कान्तिपुर पत्रिकामा’ नयाँ कोत पर्वलाई मान्यता नदिउ’ भन्ने लेखमार्फत सत्तालाई च्यालेन्ज गरे । त्यसदिनको कान्तिपुर फोटोकपी समेत पचास रुपैयाँमा बिक्री भएको थियो । अन्य पार्टीका मुख्य नेतृत्व भने राजाको पाउमा दाम चढाएर कोत पर्वलाई मान्यता देख्न परेको थियो ।

युद्ध भयानक बन्दै गयो, तुरुन्तै हार्ने वा जित्ने कुनै संभावना देखा परेन । अन्तराष्ट्रिय परिस्थिति युद्दको पक्षमा देखा परेन । यो स्थितिमा बाबुरामले नयाँ प्रस्ताव राखे ‘अब हामीले हाम्रो प्रतिपक्षमा रहेको शक्तिलाई विभाजित गर्नुपर्दछ । यो लडाई हामी एक्लै लडेर अगाडि बढने सम्भावना देखा परेको छैन, त्यसैले हामी अब राजनीतिक रुपमा एक खुड्किला तल ओर्लनु पर्दछ भने कांग्रेस एमालेलाई एक खुड्किला माथी ल्याउन पर्दछ अर्थात् उनिहरु संवैधानिक राजतन्त्र र बहुदलिय प्रजातन्त्रको एजेण्डा छाडेर लोकतान्त्रिक गणतन्त्रमा ओर्लनु पर्दछ । यसरी संयुक्त मोर्चा बनाएर राजतन्त्रका विरुद्ध घोषणा गर्नुपर्दछ ।’ उता कांग्रेस, एमालेको नेतृत्व भने ज्ञानेन्द्रसगँ हजुरको सरकारमा हामीलाइ राखिनु पर्दछ भनेर निवेदन हालिरहेका थिए ।

उता बाबुरामजीको यो प्रस्ताव आए पश्चात् प्रचण्ड जी लगायतका साथिहरुको दिमाग तातेको थियो । किनकी वहाँहरु राजासँग नै वार्ता गर्ने पक्षमा हुनुहुन्थ्यो । वहाँहरुको तर्क थियो कि कांग्रेस एमाले भनेका भारतिय पक्षधर शक्ति हुन, उनिसँग मिल्नु भनेको भारतीय पक्ष धरताको कुरा हो र नयाँ जनवाद भन्दा तल झर्नु भनेको दक्षिण पन्थी संशोधनवाद हो भन्ने निष्कर्षका आधारमा बाबुराम जीलाइ अनुशासनको कारबाही गरिएको थियो ।

यो घटनाको केही समय पश्चात राजा ज्ञानेन्द्रले मन्त्री मण्डल विघटन गरि वाकिटकी अधिकार पनि आफ्नो हातमा लिई मन्त्री मण्डलको नेतृत्व आफंैले गरेको घोषणा गरे ! यो घटनाले कतिपयले आधा प्रतिगमन सच्चिएको विश्लेषण गरे भने प्रचण्डको पनि चेतना खुल्यो । तपश्चात् तुरुन्तै पार्टी कारवाही फुकुवा गरी कांग्रेस, एमालेसँग वार्ताको वातावरण बनाउने समझदारी बन्यो । जसको परिणाम दलहरुसगंँ १२ बुदे सहमती बन्यो, त्यसैको जगमा ०६२/६३ को आन्दोलनले राजतन्त्रात्मक राज्य ब्यवस्थाको अन्त्य गर्याे । संविधान सभाको निर्वाचन सम्भव भयो । कतिपय साथीहरु बाबुराम माथि यो आरोप लगाउने गर्दछन कि बाबुरामले कार्यकर्ताको रक्षा गर्दैनन् र उनी हठि स्वभावका छन्, कसैको कुरा उनले खाँदैनन् ।

यी दुबै कुरा मेरो अनुभवमा पनि सत्य नै देखिन्छन् । उनले विचार र एजेण्डाको पक्षमा कुनै सम्झौता गर्दैनन् र आफ्नो अडान कायम राखी रहन्छन् । कार्यकर्ताको प्रश्नमा भने उनले यो व्यक्ति जसरी पनि हुनपर्छ भनेर लडि रहन्नन्, उनले गुण र दोषका आधारमा विषयलाई हेर्दछन् र गुटको वचावटको लागि उनले त्यति ध्यान दिँदैनन् । तर, अहिलेको कन्टेस्ट जो छ, जसरी पनि आफ्नो मान्छे राख्नै पर्ने जो संस्कृतिको विकास भएको छ, यहाँबाट हेर्दा उनी कमजोर देखिन्छन् । उनको विचारमा कुनै व्यक्ती खराब लागेको छ भने कैयौं प्रयत्न गरेर पनि उनलाई सहमत गराउन सकिँदैन ।

संविधान सभाको माध्यमबाट उनले जुन खालको संविधानको परिकल्पना गरेका थिए । संविधानको बारेमा उनले जे सपना बोकेर झण्डै बीस वर्ष संविधान सभाको लागि लडेका थिए , संविधान निर्माणको समयमा संविधान बिरोधी चिन्तन बोकेका पुरातन पन्थिहरुको बहुल्यताका कारण निर्देशक बिनाको सिनेमा जस्तो स्थिती बन्न पुगेको हामी देख्न सक्दछौ । यतिबेला जसले बच्चा जन्माएको हो उसैलाई बच्चाको पालनपोषण गर्ने जिम्मेवारी दिदा बच्चाको विकास राम्रो हुन्छ जब कि गर्भवती नै नभएकी सौतेनी आमाको जिम्मा दिँदा त्यो बच्चाले दूध खान पाउदैन र राम्रो प्रगति गर्न सक्दैन । यतिबेला हामी यहि स्थितिबाट गुज्रिरहेका छौं, किनकी संविधानले पूर्णता पाउन सकेको छैन । संविधान जारी गर्ने दिन पत्रकारको जवाफमा बाबुरामले भनेका थिए कि यो संविधान आधा गिलास भरी छ र आधा गिलास खाली छ ।

तपाईं गहिरोसगँ इतिहास र वर्तमानलाई हेर्नुभयो भने देख्नु हुनेछ कि उनी जहिले पनि कमजोरको पक्षमा, महिलाको पक्षमा, दलितको पक्षमा, थारु मधेसी र मुस्लिमको पक्षमा आफ्नो विचार निरन्तर राखिरहेका देखिन्छन् । सबै प्रकारका विभेदहरुको अन्त्य हुनुपर्दछ भन्ने उनको विचार प्रष्टसगँ देख्न सकिन्छ । कतिपय उनका समकक्षीहरुले यी स्थापित एजेण्डा नै छाडेर अर्को विचारमा विलय भइरहेको हामी देख्दछौ भने बाबुराम तिनै विचार र एजेण्डाको निम्ति निरन्तर लडिरहेका हामी देख्दछौ । कतिपय अल्पज्ञानी मान्छेहरु उनलाई इसाइ धर्मसगँ जोड्ने कोसिस गरेको पनि देखिन्छ ।

मेरो अनुभव र सत्य कुरा यो हो कि उनी कुनै पनि धर्मको पक्षधरता होइनन, उनी विचार र दर्षनको हिसाबले भौतिकवाद अर्थात विज्ञानमा विश्वास गर्ने व्यक्ती हुन । उनको विचार यो छ कि राज्यले सबै धर्म र संस्कृतिहरुलाइ समान व्यवहार गरिदिनुपर्दछ र हिन्दु धर्ममा भएका जाती प्रथालाई हटाउदा हिन्दु धर्म अझ सुन्दर बन्दथ्यो भन्ने उनको विचार हामी देख्न सक्दछौ । आश्चर्यको कुरा यो छ कि जस्ले इसाइ धर्मको कार्यक्रममा पुगेर नाम भन्न अफ्ठ्यारो पर्ने वस्तु सम्मिलित वाइन सेवन गर्ने र एक करोड नेपाली रुपैयाँ इसाइ धर्मबाट पुरस्कार लिनेहरु पो इसाइ धर्मका पक्षधर भनेर भन्न सकिन्थ्यो । बाबुराम माथि यो शंका गर्नु अल्पज्ञान वा पुर्वाग्रह मात्र हो ।

वहाँले जतिबेला सरकारको नेतृत्व गर्नु भएको थियो,त्यो समय अत्यन्तै जटिल अवस्था थियो।एकातर्फ सरकार संचालनको लागि स्पष्ट बहुमत थिएन भने अर्कोतिर पार्टी भत्रैबाट सडक संघर्ष गरिएको सन्दर्भ थियो। त्यो सरकारलाई बजेट नै प्रस्तुत गर्न दिइएको थिएन। त्यस खालको अप्ठ्यारो परिस्थितिमा पनि त्यस्ले गरेका कैयौं महत्त्वपुर्ण कामहरु मध्ये शान्ती प्रक्रियाको मुख्य काम सेना समायोजनको काम, थुप्रै राष्ट्रिय गौरवका आयोजनाहरु र काठमाण्डौका अतिक्रमित ठाउँहरु तोडेर फराकिलो सडक बिस्तारको काम उल्लेखनीय रहेका छ्न । जुन काम आजसम्म कसैले हिम्मत गरेको थिएन।त्यस भन्दा अगाडि वहाँ अर्थमन्त्री हुँदा वहाँको दूरदर्शिता र क्षमतालाई सबैले तारिफ गरेकै थियौं ।आज वहाँलाई बिगतमा सुधारबादी भन्नेहरु प्रतिगमनको यात्रा हिडिरहेका त छैनन? भन्ने प्रश्न उठिरहेको छ भने बाबुराम आफ्ना विचार र एजेण्डामा निरन्तर अगाडि बढेको देख्न सकिन्छ ।

कतिपय व्यक्तिहरु यो सोचाई राख्दछन् कि बाबुराम पनि यहि सरकार अन्तरगत आएर विकास निर्माणमा सहभागी भइदिए हुन्थ्यो । उनले त्यसो नगर्दा अनेकौं थरी गाली गर्न थाल्दछन र उनलाई सराप्छन, बुद्धि नभएको, बहुलाएको, असफल भएको, मधेसी र मगर गुरुङहरुलाइ उचालेको, डिग्री भएर पनि ज्ञान नभएको आदि आदि । बाबुरामलाइ गाली गरेको अहिले मात्र कहाँ हो र ! पञ्चायत कालमा पनि वरिष्ठ भनिएका ठूलाठूला, पञ्चेहरुले अनेकौं गाली गरेका थिए, युद्ध प्रारम्भ भएपछि त उनलाई गालि गर्नेको मात्रा अझ बढेर गएको थियो । पार्टी भित्र पनि उनलाई गालि गर्नेहरु प्रशस्त थिए ।

इतिहासका पाना पल्टाएर हेर्नुभयो भने ज्ञान हुनेछ कि अगाडिका सपना देख्ने व्यक्तिहरुलाई, सहि र यथार्थ बोल्ने मान्छेहरुलाई इमानदार र स्वभिमानी मान्छेहरुलाइ यथास्थितिवादीहरुले, अवसरवादिहरुले, आफुलाइ पूर्ण ज्ञानी ठान्नेहरुले, अनेकौं गाली गरेका, सत्ता सराप गरेका थुप्रै दृष्टान्तहरु रहेका छन । सत्ता सराप गर्ने मात्र होइन सत्य बोल्नेहरुलाइ मारेका, झुण्डाएका र देश निकाला गरिएका कैयौं उदाहरणहरु रहेका छन । पृथ्वी गोलो छ भन्ने व्यक्तिहरुलाइ मारेकै थिए, गौतम बुद्दलाई यो असफल मान्छे भनेर सबैले छाडेर अन्त्यमा छ जना मात्र उनका अनुयायीहरु बांकी रहेको हामी पाउछौ ।

चावार्क जस्ले भौतिक जगत नै विकास र उत्पतिको कारण बताउदा उनलाई वहिस्कृत गरियो र उनका सबै कृतिहरु समेत आध्यात्मवादिहरुले जलाइ दिएका थिए । सुकरात जस्ले ज्ञानको भण्डार सधै अपुर्ण हुन्छ भन्ने विचार बोकेका थिए, उनलाई सभ्य र ज्ञानी छौं भन्नेहरुले विषको प्याला पिलाएर मृत्यु दण्ड दिएका थिए । कालमार्क्सलाई सभ्य र टाठा बाठा छौं भन्नेहरुले उग्रवादी र समाज भडुवा भनेर देशमा बस्ने वातावरण नभएर कैयौं वर्ष विदेशको शरण लिन परेको थियो ।

भारतमा भगतसिंह जसले समाज परिवर्तनको झण्डा उठाएका थिए , उनलाई त्यहाँका शाषकले मृत्युु दण्ड दिएका थिए । नेपालमा अगाडिको आँखा देखाउने र सत्य बोले बापत गगांलालहरुलाई झुण्डाएको थियो । तर, इतिहासको सत्य के हो भने समाज यथास्थितिमा रहन सक्दैन, त्यो परिवर्तन हुनु इतिहासको नियम हो । कुनै पनि शाषकले अग्रगामी विचारकहरु, सत्यको आँखा देखाउनेहरु माथिको आक्रमणले इतिहासलाइ रोक्न सक्दैन । त्यसरी नै बाबुरामका विचारकहरुलाई पनि हजारौं क्षेप्यास्त्रले प्रहार गरे पनि रोक्न सक्ने छैनन, पंचायतकाल बचाउन खोजेका थिए सकेनन । संवैधानिक राजतन्त्र बचाउन खोजेका थिए, असफल भए र भोलि पनि तिनिहरु असफल नै हुनेछन, किनकि तिनिहरु प्रगति र आगमनको विपक्षमा उभिएका छन् । कुरा यत्तिमात्र हो, समयमै बाबुराम र उनको मार्ग चित्रलाई ठम्याउन नसक्दा देश पछाडी पर्ने र नयाँ पुस्ताले दुःख पाउने अवस्था रहन सक्दछ ।

अतः विन्ध्याचल पर्वत उठाएर मात्रै लक्ष्मणलाई होसमा ल्याउन सकिँदैन ,जबसम्म सन्जिवनी बुटिको पहिचान गरिदैन । राज्यसत्तामा संस्थागत भ्रष्टाचारको माध्यमबाट राज्यको ढुकुटीमा ब्रहमलुट मच्चाउनेहरुको त कुरै छोडौ ! कमसेकम नयाँ पुस्ताले समयमै सञ्जिवनीको पहिचान गर्न सके राम्रो हुन्थ्यो कि !

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।