बुटवल । ‘स्वयम् उत्पत्तिमान, नेपालकै एक मात्र बोलबमधाम’ तथा ‘पश्चिमको पशुपतीनाथ’ भनिने रुपन्देहीको सैनामैना स्थित बोलबमधाम जाने सडकको अवस्थाले अहिले धामकै प्रतिष्ठामा आँच आएको छ । प्रदेश ५ को राजधानी रहेको बुटवल उपमहानगरसँग जोडिएको सैनामैना नगरपालिका भित्रको सो सडक नगरकै पुरानो र महत्वपूर्ण सडक मध्ये एक हो ।
नगरकै गौरव, प्रतिष्ठा र इतिहास बोकेको धार्मिकस्थल जाने सडकको जिर्ण अवस्थाले नगरपालिकाको वेवास्ता, ढिलासुस्ती र शैलीप्रति नै गम्भीर प्रश्न उठेको छ । वार्ड नं.१ रानीबगियादेखि बोलबमधाम अन्तर्गत रहेको २ किलोमिटर सडक बीचमा पनि सवारी नै फस्नेगरी रहेका खाल्डै-खाल्डा हुनुले अन्य सडकको अवस्था कस्तो होला भन्ने जो कोहीलाई जिज्ञासा लाग्न सक्छ । महेन्द्र राजमार्गको बुटवल–नेपालगञ्ज सडकखण्ड अन्तर्गत रानीबगियादेखि २ किलोमिटर दक्षिण रहेको यस धाम जाने मार्गको बीच भागमा करिब ६ सय मिटर लामो सडक हिलाम्य भएको हो । एक वर्ष अगाडी नै मर्मत सम्पन्न गरिसक्नु पर्ने भएपनि निर्माण कम्पनीको ढिलासुस्ती तथा सरकारी निकायले समयमा चासो नदिँदा सडक अलपत्र परेको हो ।
रानीबगियादेखि बोलबम धामक्षेत्रसम्म २६ सय मिटर सडक कालोपत्रे गर्नु पर्नेमा निर्माण कम्पनीले बीच भागमा रहेको करिब ८ सय मिटर सडकमा पानी जमेका कारण काम स्थगित गरेको थियो । गत वर्ष काम स्थगित गरिएको सडकमा भौगोलिक अवस्थिती अनुसार ढलान गर्नुपर्ने भएपछि सरकारले यही आर्थिक वर्षसम्ममा सम्पन्न गर्ने गरी निर्माण कम्पनीलाई जिम्मा लगाए पनि काम सुरु भएको छैन । पूर्वाधार विकास कार्यालय बुटवलका प्रमुख ललित न्यौपानेका अनुसार अहिले हिलाम्य भएको सडक मर्मतका लागि प्रदिप थापा जेभी कम्नीसँग गत असार ३ गते नै सम्झौता भइसकेको छ । कम्पनीले एक वर्ष भित्र निर्माण सम्पन्न गरीसक्ने गरी २ करोड २९ लाख ८४ हजारमा ठेक्का सम्झौता भएको न्यौपानेले बताए ।
यसैगरी निर्माणको जिम्मा पाएको ठेकेदार कम्पनीका रोजेन्द्र थापाले समय प्रतिकूल भएका कारण काम सुरु नगरिएको बताएका छन् । ‘सम्झौता समयमा भएपनि लकडाउन तथा वर्षाका कारण काम सुरु गरिएको छैन ।’-उनले अघि भने ‘काम गर्नका लागि कोरोना महामारीले कामदार पाउनै गार्हाे छ ।’ निरन्तर वर्षा भइरहेका बेला ढलानको काम गर्दा गुणस्तरीय नहुने भएका कारण दशंै तिहार पछि मात्रै काम थालिने उनले बताए ।
यसैगरी सैनामैना नगरपालिका प्रमुख चित्रबहादुर कार्कीले सडक मर्मतका लागि प्रदेश सरकारबाट बजेट विनियोजन तथा ठेक्का सम्झौता भइसकेको हुँदा मौसमका कारण समस्या भएको बताए । ‘प्रदेशले ठेक्का सम्झौता गरेको ठाउँमा नगरपालिकाले पनि रकम खर्च गर्दा डुप्लेसी हुन्छ । तर, पनि हामीले तत्काललाई वैकल्पिक व्यवस्थापनका रुपमा मिस्कट खन्याएर बाटो सम्याउन लगाएका छौं ।-कार्कीले भने, मौसमका कारण पनि समयमा मर्मतको काम सुरु हुन नसकेको हो ।
यसअघि कालो पत्रे गरेका सडक समेत स्तरिय नभएको बताउँदै स्थानीय नरेन्द्र पाण्डेयले मर्मत बाँकी रहेको सडक हिलाम्य हुँदा दैनिक रुपमा आवत-जावत गर्न समस्या हुने गरेको गुनासो गरे । ‘यसअघि कालोपत्रे गरिएका सडकमा पनि गुणस्तरीय काम भएको छैन, नाली तथा वाल उठाउने काम गरेर मात्रै कालोपत्रे गर्नुपर्ने थियो ।’-उनले भने ‘सडकमा कालोपत्रे गरेपछि नाली बनाउने उल्टो काम गर्दा ठाउँ-ठाउँमा खाल्टो परेका छन् । बीच भागमा बाटो मर्मत नहुँदा पैदल हिड्न समेत गार्हाे हुने गरेको छ ।’ बोलबम धान विकास समितिका अध्यक्ष रामवली चौधरीले धाममा आउने सडकनै हिलाम्य भएपछि भक्तजन तथा स्थानीयहरुलाई समेत आवत-जावत गर्नका लागि समस्या हुने गरेको गुनासो गरे । हिलाम्य बाटो व्यवस्थापनका लागि स्थानीय सरकारले समयमा नै चासो देखाउनु पर्ने उनको सुझाव छ ।
प्रदेश ५ सरकारको ३ करोड १२ लाखमा योजना सम्झौता भई काम सञ्चालन भएको बोलबम मार्ग गत वर्षको वैशाख २१ गते भौतिक तथा पूर्वाधार विकास मन्त्रालयमा टेण्डर स्वीकृत भई बुटवलको सिद्धार्थ दर्शन विल्डर्श प्रा.लि. र श्रीकृष्ण कन्स्ट्रक्शनले मर्मतको जिम्मा पाएका थिए । उनीहरुले सडकमा पानी जमेका कारण बीच भागको करिब ८ सय मिटर सडकमा ढलान गर्नुपर्ने सुझावसहित काम गर्न नसकिने बताएपछि त्यस ठाउँको मर्मत स्थगित भएको थियो । बाँकी रहेका सडक मर्मतमा यसै वर्ष ठेक्का सम्झौता भएको हो । स्मरण रहोस् समयमा काम नसकेका कारण सरकारले निर्माणका जिम्मा पाएका २ कम्पनीलाई १० लाख ६२ हजार ४९६ रुपैयाँ जरिवाना गरेको थियो ।
प्रतिक्रिया