ताजा अपडेट »

शारीरिक सुगठन खेलका साधक, अनिल

बुधबार, ०७ असोज २०७७, १९ : १२
38 Shares
बुधबार, ०७ असोज २०७७
38 Shares

अनिल लाल श्रेष्ठको जन्म वि.सं. २०२५ सालमा काठमाडौंको किलागलमा भएको हो । उनी युवा अवस्थामा सानो कद, हात खुट्टा सारै दुब्लो र पातलो भएकोले ज्यान बनाउने विकल्पको खोजि गर्दै ४५ साल तिर ’नेट जिम’, नरदेवी तानिए । त्यस जिममा बिजयलाल कायस्थ, राजेन्द्र तुलाधर, बासु श्रेष्ठ, नायक शिव श्रेष्ठ लगायतले व्यायाम गर्ने गर्थे । पछि बासु श्रेष्ठको प्रशिक्षणमा अनिलले जिम गर्न थाले ।

मेहनती अनिलले छोटो समयमा नै बासु गुरुबाट बडी बिल्डिङ्गका शिपहरुमा पाराङ्गत हासिल गरे । वि.सं. २०४६ सालमा ’मशल बडी बिल्डिङ्ग क्लब’ भक्तपुरको आयोजनामा “मिष्ट्रर भ्याली शारीरिक सुगठन प्रतियोगिता“ हुने भयो । उनि त्यो प्रतियोगितामा ५५ केजी वजन समुहमा खेल्ने सल्लाह भए बमोजिम टिममेनेजर राजेन्द्र तुलाधरसँग भक्तपुर तिर लागे । शारीरिक नापजाँच हुदा उनको तौल ५६ केजी देखियो । उनले आफु चाहेको तौल समुहमा खेल्न १ केजी तौल घटाउनु पर्ने भयो । उति बेला अहिले जस्तो तुरुन्त तौल कम गराउने औषधी उपलब्ध थिएन ।

वजन कम गर्न वर्षातको समयमा झमझम पानीमा रुझेर भक्तपुरको बाटो उनी दौड्न थाले । उनी बाटोमा दैडिरहेको देखेर केहि मानिसहरु बहुला आयो भन्दै र कोहि मान्छे किन दौडेको भनी अचम्म मानेर हेर्थे । परिश्रमको फल मिठो हुन्छ भन्ने मान्यता बोक्दै उनले कसैको कुरा नसुनी वजन कम गर्न तिर लागिपरे । फलस्वरूप वजन कम गरिछाडे । पुनः तौल गर्दा उनको वजन ५४ केजी देखियो र उनी चाहेको समुह अन्तर्गत खेलमा सहभागी हुन पाए । सो खेलमा उनी आफ्नो समुहमा स्वर्ण पदक हात पारेर “मिस्टर भ्यालि“ उपाधि हात पारे ।

खेल सकिएपछि साथीहरुसँग घर फर्कदा टिभीमा छोरा खेलेर जितेको, समाचार हेरेर बसेका उनका बुबाआमा अचम्मित भए । जितेर आएको छोरालाइ स्याबासी दिने कि उनको शरीरमा गाँठागुठी भएको देखि दुःखी हुने भन्दै अन्योलमा परे । पछि उनले सम्झाए र खुशी भएर उनका आमा बुवाले उनलाई बधाईसहित सगुन दिएको विगतका स्मरण केलाउँदै अनिलले भने । त्यसपछि उनले व्यायामलाई निरन्तरता दिँदै गए । तत्पश्चात, नेपाल व्यायाम मन्दिर, ज्याठाका तत्कालीन अध्यक्ष सरोज कुमार श्रेष्ठलद्वारा, उनलाई नेपाल व्यायाम मन्दिरमा सदस्यता प्रदान गरियो ।

नेपाल व्यायाम मन्दिरमा, व्यायाम गर्दै जाँदा, सरोज कुमार श्रेष्ठले व्यायाम सम्बन्धि चाहिने हरेक कुरामा साथ सहयोग गरि posing practice गर्नसम्म पनि उनको घरमा लगि प्रशिक्षण दिएको अनिल सम्झन्छन् । वि.सं. २०४६ सालमा नेपाल भारत्तोलन तथा शारीरिक सुगठन सङ्घको तत्वावधानमा सेती अञ्चल खेलकुद विकास समितिद्वारा आयोजित राष्ट्रिय भारत्तोलन तथा राष्ट्रिय शारीरिक सुगठन च्याम्पियनसिममा ६० केजी तौल समूहमा वाग्मती अञ्चलबाट खेल्दै रजत पदक हासिल गरे । २०४९ सालमा कुसुम स्पोट्स क्लबको आयोजनामा काठमाण्डौंमा खुल्ला शारीरिक सुगठन प्रतियोगिता भएको थियो । जसमा प्रमुख अतिथिका रुपमा सर्वमान्य नेता गणेशमान सिहको उपस्थिती थियो ।

श्रेष्ठले यस प्रतियोगितामा ५५ केजी तौल समुहमा स्वर्ण पदक हात गरे । त्यसरी नै २०४९ सालमा नेपाल शारीरिक सुगठन संघका केन्द्रीय तदर्थ समितिको तत्वाधानमा आयोजित नवौ राष्ट्रिय शारीरिक सुगठन प्रतियोगितामा वाग्मती अञ्चलबाट ५५ केजी तौल समूहमा प्रथम स्थान हासिल गरी मिस्टर नेपाल बन्न सफल भएको अनिलले बताए । वि.सं. २०५० सालको नेपाल व्यायाम मन्दिरको कार्यसमितिको चुनावमा उनि निर्विरोध सदस्य पदमा निर्वाचित भए । हालको मितिसम्म पनि कार्य समितिका सदस्य रहिआएका छन् । वि.सं. २०५२ सालमा आफु नेपाल शारीरिक सुगठन संघको कोषाध्यक्षमा मनोनित हुन सफल भएको उनी भन्छन् । त्यही साल देखि उनले नेपालमा हुने प्रतियोगिताहरुमा क्रमशः मार्शल चिफ मार्शल हुदै कामकाज गर्ने गरेका थिए ।

नेपाल शारीरिक सुगठन तथा फिटनेस संघ अन्तर्गत शारीरिक सुगठन खेलको राष्ट्रिय निर्णायकको लाइसेन्स पनि प्राप्त गरे साथै हाल उनि उक्त संघको जजेज कमिटीका सदस्य तथा वरीष्ठ निर्णायकका रुपमा पनि नेपाल अधिराज्यभरी हुने शारीरिक सुगठन प्रतियोगिताहरुमा निर्णायकको भुमिका निवार्ह गरिरहेका छन् । शारीरिक सुगठन खेलको विकासको लागि लामो समयसम्म उनको योगदानको कदर गर्दै उनलाइ 'WORLD BODYBUILDING AND PHYSIQUE SPORT FEDERATION" ले gold medal ले समेत सम्मानित गरेको छ ।

उनी भन्छन, “राष्ट्रिय खेलकुद परिषदले शारीरिक सुगठन खेललाइ मान्यता दिएको पनि चार दशक भन्दा बढी भईसकेको छ र अन्तर्राष्ट्रिय स्तरमा राम्रो गरिरहे पनि शारीरिक सुगठन खेल अझै पनि सरकारी दृष्टिकोणमा उपेक्षित अवस्थामा नै रहेको कुरा सारै खल्लो महशुस भएको छ ।" अन्तराष्ट्रिय रुपमा दर्जनौ पदक भित्र्याइसकेको यस खेल प्रति नेपाल सरकारले विषेश जोड दिनुपर्ने अनिलको बुझाई छ । जिम गर्न प्रारम्भ गरेको मिती देखि आजको दिनसम्म पनि विभिन्न भुमिकामा रहेर कर्तव्यनिष्ठ रुपमा यस खेलमा समर्पित अनिल वास्तवमा नै शारीरिक सुगठनका साधक हुन् ।

सितु प्रसाद श्रेष्ठ
लेखकको बारेमा
सितु प्रसाद श्रेष्ठ
स्तम्भकार