ताजा अपडेट »

प्रदेश ५ स्तरीय निबन्ध प्रतियोगितामा पाल्पाका सविन विजयी

सोमबार, २९ भदौ २०७७, १८ : १९
16 Shares
सोमबार, २९ भदौ २०७७
16 Shares

बुटवल । राष्ट्रिय बाल दिवस, २०७७ को अवसरमा प्रदेश ५ सरकारले आयोजना गरेको प्रदेश स्तरीय निबन्ध प्रतियोगिताको विजेता पाल्पाका सविन ज्ञवाली बनेका छन् । विद्यालय तहका विद्यार्थीहरुका लागि सामाजिक विकास मन्त्रालयले आयोजना गरेको प्रतियोगितामा पाल्पा सेन मावि कक्षा-९ का सविन ज्ञवाली प्रथम भएका हुन् ।

मन्त्रालयले आयोजना गरेको ‘बन्दाबन्दीमा सिकाईका सम्भावना र अवसर’-विषयक प्रदेश स्तरीय खुल्ला निबन्ध प्रतियोगिताको नतिजा सार्वजनिक तथा शुभकामना आदान प्रदान गर्दे मन्त्री सुदर्शन बरालले बालबालिकाको संरक्षण र प्रवर्द्धनको लागि सबैको प्रतिवद्धता व्यक्त गर्नु पर्ने बताए । उनले प्रदेश सरकारले बालमैत्री संरचना, नीति कार्यक्रमलाई आत्मसाथ गरेको बताउँदै बालबालिकाको अन्तरनिहित प्रतिभाको उजागर संरक्षण र प्रवर्द्धन गर्न जरुरी रहेको उल्लेख गरे । मन्त्री बरालले विपदमा बालअधिकारको सुनिश्चितता सबैको साझा प्रतिवद्धता भएकोमा जोड दिए । प्रतियोगितामा रोल्पाको परिवर्तन-२ रोल्पा जनसेवा नमुना माविका कर्णबहादुर रानामगर दोश्रो तथा बाँके खजुराका ज्ञानोदय नमुना माविका दीपशिखा भण्डारी तृतीय भएका छन् । प्रतियोगितामा प्रदेशका १२ जिल्लाबाट १ सय २९ प्रतियोगि सहभागी थिए ।

रुकुमपूर्व सिस्ने-३, जनता माविका जीवन खत्रि, पुष्पराज के सी , दाङको घोराही-१८ श्री मावि रझेनाकी प्रमिला कुंवर, रुपन्देहीको सैनामैनामा अवस्थित सैनामैना पर्रोहा परमेश्वर माविकी निकिता भण्डारी, अर्घाखाँची पाणिनी-७ को विद्याविनोद माविका अंशु पौडेल, नवलपरासी सुनवल-४ रमवापुर माविकी अञ्जली विश्वकर्मा, प्युठान ऐरावती-२ मोति माविकी आश्विना पाण्डे, बर्दिया बारबर्दिया-७ भृकुटी माविकी सम्झना ज्योती, नवलपरासी सुनवल वागवाणी माविकी लक्ष्मी खवास र नवलपरासीकै महाकवी देवकोटा माविका अमृत पाण्डेले सान्तवना स्थान प्राप्त गरेका छन् । प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय र सान्तवनाले क्रमस १५ हजार, १० हजार ७ हजार र २ हजार रुपैया नगद पुरस्कारसहित प्रमाणपत्र प्राप्त गरेका छन् ।

कार्यक्रममा सामाजिक विकास मन्त्रालयका सचिव माहादेव पन्थ, शैक्षिक योजना तथा अनुसन्धान महाशाखा प्रमुख एवं उपसचिव थानेश्वर ज्ञवाली, सामाजिक विकास महाशाखा प्रमुख शारदा बस्याल बेल्वासेलगायतले शुभकामना व्यक्त गरे ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।