चैत १५,
चितवन । दोस्रो मेडिकल लिटरेचर मेला चितवनको सौराहामा सुरु भएको छ। थारु कल्चर हाउसमा शनिबारसम्म चल्ने मेलाको प्राडा गोविन्द केसी र वरिष्ठ हास्य कलाकार मदनकृष्ण श्रेष्ठले पानसमा बत्ति बालेर उद्घाटन गरे।
उद्घाटन सत्रमा वरिष्ठ हास्य कलाकार मदनकृष्ण श्रेष्ठले सांगीतिक प्रस्तुति दिए। मेला अवधिभर १० वटा बहसका कार्यक्रम हुनेछन् भने कविता वाचनको सत्र समेत रहने छन्।
पहिलो दिनको पहिलो सत्रमा कलाकार श्रेष्ठ र बनिता खनाललाई डा रवीन्द्र समीरले स्वस्थ हुनुको मूल्यका बारेमा प्रश्न गर्नेछन्। पहिलो दिनको दोस्रो सत्रमा ३ वटा एजेन्डामा ३ डाक्टरहरुले आफ्नो विचार राख्नेछन्। डा रामेश कोइरालाले ‘स्वास्थ्य र शिक्षा कसकोरु’ विषयमा आफ्नो धारणा राख्दा प्रा डा सरोज धितालले ‘चिकित्सा बाहिरको शिक्षा’ विषयमा बोल्नेछन्। यस सत्रको अन्तिम वक्ताको रुपमा डा जीवन क्षेत्रीले ‘डाक्टर हुनुको अर्थ’ केलाउनेछन्।
पहिलो दिनको खाना सत्रपछि प्रा हरि शर्माले ‘सत्याग्रह’का विषयमा बोल्नेछन्। विश्वभर कुनै पनि विषयमा आफ्नो फरक मत राख्ने एक सालिन र शान्तिपूर्ण शैलीका रुपमा विकसित ‘सत्याग्रह’को आम रुप तथा नेपाल कनेक्सनको पहेलु प्रष्ट पार्न उनले कोसिस गर्नेछन् । विशेषतः डा गोविन्द केसीले चिकित्सा शिक्षामा देखिएका बेथितिका विरुद्धमा गत ८ वर्ष अघिदेखि आवाज उठाउन यही शैलीलाई पछ्याएपछि नेपालमा पनि यसको विशेष प्रभाव रहँदै आएको छ।
पहिलो दिनको अन्तिम बहस सत्रमा रुपमा मञ्चमा देखिनेछन् ३ आख्यानकार नयनराज पाण्डे, अमर न्यौपाने र सुविन भट्टराई। ‘आख्यानमा पात्रको छनोट’ विषयमा भट्टराईले पाण्डे र न्यौपानेलाई प्रश्न गर्नेछन्।
पहिलो दिनको अन्तिम सेसन कविताको रहनेछ। काव्यशाला नामक यस सत्रमा १६ जना कविहरुले कविता वाचन गर्नेछन् । ‘काव्यशाला’ नामक २ घन्टाको सेसन समेत रहने छ । जसमा १६ जना कविहरुले कविता वाचन गर्नेछन्।
दोस्रो दिन ६ वटा बहस कार्यक्रम रहनेछन् । पहिलो दिनको पहिलो सत्रमा प्राडा सुधा शर्मा र विष्णु विष्टले आफ्नो विगतको जीवनलाई फर्केर हेर्नेछन् । डा सुमन आचार्यले सहजीकरण गर्ने यस सत्रको नाम ‘संघर्षका सिँढीहरु’ नाम दिइएका छ।
डा सुभाष लामिछानेले सहजीकरण गर्ने अर्को सत्रमा डा सुमन कर्माचार्य र डा समीर लामाले ‘दुर्गमका डाक्टर’ हरुको सेवा, सुविधा तथा समस्याका बारेमा अथ्र्याउनेछन् । नेपालका दुर्गम र पहाडी भू–भागमा स्वास्थ्य सेवाको पहुँच यसअघि पनि बहसमा आउने गरेको विषय हो ।
दुर्गम क्षेत्रमा काम गरिसकेका र नीतिगत क्षेत्रमा पनि योगदान दिएका कर्माचार्य र लामाले यस सत्रमा आफ्ना अनुभव राज्यको हेराईलाई समेत केलाउनेछन् ।प्राडा गोविन्द केसीमार्फत ‘देशभित्र, देशबाहिर’ नामक सत्रमा डा जीवन क्षेत्रीले नेपाल र नेपाल बाहिरको स्वास्थ्य सेवाको अन्तरलाई प्रष्ट्याउनेछन् ।
नेपाली साहित्यका चर्चित व्यक्तित्वहरु हुन् खगेन्द्र संग्रौला र नारायण ढकाल । यस अलावा यी दुवै आफैंमा डाक्टरका पिता समेत हुन् । डाक्टरका पिता बन्नुको अन्तरवस्तु र भोगाइका बारेमा डा सुवास प्याकुरेलले यी दुवै डाक्टरका अनुभवहरुलाई खोतल्ने प्रायास गर्नेछन् ।
त्यस्तै ‘डाक्टरले किन लेख्ने’ सत्रमा डा सरोज धिताल, डा रामेश कोइराला र डा रवीन्द्र समीरले आफ्ना भनाइहरु राख्नेछन् । जसको सहजीकरण लक्ष्मण गाम्नांगेले गर्नेछन् ।
मेलाको अन्तिम सत्रका रुपमा ‘कस्ता किताब पढ्ने सन्दर्भ उठान हुनेछ। उदय अधिकारीले सहजीकरण गर्ने यस सत्रमा प्रा हरि शर्मा र अजित बरालले कस्ता किताब पढ्ने र नेपाल प्रकाशित सबै पुस्तकहरु के पढ्न लायक छन् तरु लगायतका प्रश्नको जवाफ दिनेछन्।
विषय सम्बन्धित व्यक्ति तथा विज्ञ सम्मिलित यस मेलामा ‘चिकित्सा जगतमा साहित्यिक जीवनको खोज’ गर्ने कोसिस गरिने कार्यक्रमका संयोजक विसद दाहालले बताए ।
कार्यक्रममा देशभरका विभिन्न मेडिकल कलेजमा अध्ययन गरिरहेका विद्यार्थी, चिकित्सक तथा साहित्यिक व्यक्तित्वहरुको सहभागिता रहने उनले जानकारी दिए । काठमाडौंका विभिन्न मेडिकल कलेजमा अध्ययन गर्ने विद्यार्थीहरुले गठन गरेको संस्था ‘हाम्रो कथा’ले आयोजना गरेको मेलाको स्थानीय संयोजन भने ‘डबली’ ले गरेको छ।
प्रतिक्रिया