ताजा अपडेट »

वृद्ध दाजुबहिनीको बिभत्स हत्या

शनिबार, २० भदौ २०७७, १८ : ४७
74 Shares
शनिबार, २० भदौ २०७७
74 Shares

खोटाङ । जन्तेढुङ्गा गाउँपालिका–४ डम्वर्खुशिवालयस्थित सामाताङमा दुई वृद्धवृद्धाको बिभत्स हत्या गरिएको अवस्थामा शव फेला परेको छ । जङ्गल नजिकै घर भएका ७७ वर्षीय ईन्द्रबहादुर श्रेष्ठ र उनकी ६७ वर्षिया बहिनी गोपीमायाँ श्रेष्ठको शव उनीहरुको आफ्नै घरमा फेला परेको हो ।

दाजुबहिनीको मृत्यु भएको जानकारी आएलगत्तै जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक नारायणप्रसाद चिमरियाको टोली घटनास्थल पठाइएको प्रमुख जिल्ला अधिकारी शालिग्राम शर्मा पौडेलले बताए । घटनास्थल छिमेकी भोजपुरको सिमानामा पर्छ । घटनाको प्रकृति हेर्दा तीन/चार दिन अगाडि हत्या भएको अनुमान गरिएको घटनास्थल पुग्नुभएका प्रनाउ चिमरियाले बताए । “यही भदौ १७ गते दिउँसो साँढे ४ः०० बजेसम्म उनीहरु काम गरिरहेको आफन्तले देखेका रहेछन्”, उनले भने, “अहिले अनुसन्धान जारी छ, विस्तृत जानकारी अनुसन्धानपछि प्राप्त हुन्छ ।”

घटनास्थलमा फोन सम्पर्क नहुने भएकाले विस्तृत जानकारी प्राप्त गर्न कठिन भएको प्रजिअ पौडेलले जानकारी दिए । घटनास्थल जिल्लाको प्रमुख व्यापारिक केन्द्र दिक्तेल बजारबाट करीब ३० कोष टाढा छ । एकान्तमा घर भएका उनीहरुको हत्या लुटपाट गर्ने समूहले गरेको हुनसक्ने अनुमान गरिएको गाउँपालिका प्रमुख शङ्करबहादुर राईले बताए । “अविवाहित रहेका दाजु इन्द्रबहादुर शारीरिक अपाङ्गसमेत रहेकाले उहाँको हेरचाह गर्न बहिनी गोपीमाया केहि समय अगाडिदेखि माइती घरमै बसेकी रहिछन्”, उनले भने, “उदयपुरको रामपुर घर भएकी गोपीमाया खानदानी परिवारका रहेकाले सम्पत्तीको लोभमा उनीहरुको हत्या भएको हुनसक्ने प्रारम्भिक अनुमान गरिएको छ ।”

स्थानीय हाटबजारमा किराना सामानको व्यापार गर्दै आएका ईन्द्रबहादुरको घरमा अहिले पनि किराना पसल रहेको जनाइएको छ । मृतक दाजुबहिनीको शव परीक्षणका लागि उदयपुरको गाईघाट पठाउने तयारी गरिएको प्रहरीले जनाएको छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।