तुलसीपुर । प्राविधिक जनशक्ति उत्पादनमा जोड दिदै तुलसीपुर उपमहानगरपालिकाले तुलसीपुर बहुप्राविधिक शिक्षालय सञ्चालन गरेको छ । स्थानीय सरकारले पनि कलेज सञ्चालन गर्न सक्छ भन्ने उदाहरणका साथमा उपमहानगरपालिकाले मेट्रो कलेजका रुपमा स्थापना गरेको नगरप्रमुख घनश्याम पाण्डेले जानकारी दिए । ‘बाटोघाटो लगायतका संरचना निर्माण मात्रै नभएर दक्ष जनशक्ति उत्पादन पनि स्थानीय सरकारको काम हो भन्ने सोचका साथमा कलेजको स्थापना गरेका हौं’ उनले जानकारी दिए ।
गत शैक्षिक सत्रमा प्राविधिक शिक्षा तथा व्यवसायीक तालिम परिषद् (सिटिइभिटी) को सहकार्यमा तिन वर्षे वन विज्ञान कार्यक्रम सञ्चालन गरेको कलेजले यसै शैक्षिक सत्रबाट पाँचवटा विषय सञ्चालन गर्न लागेको पनि कलेजका अध्यक्ष समेत रहेका नगरप्रमुख पाण्डेले जानकारी दिए । प्राविधिक विषय पढ्न टाढा जानुपर्ने वाध्यताका साथै चर्को शुल्क समेत तिर्नुपर्ने अवस्थाको अन्त्य गर्नका लागि कलेजले महत्वपूर्ण भुमिका खेल्न सक्ने कलेज सञ्चालक समितिका सदस्य सुर्यवहादुर डाँगीले वताए ।
उनले अत्यन्त कम शुल्कमा अध्यापन गराइने समेत जानकारी दिए । ‘स्थानीय सरकारले सञ्चालन गरेका कारण हामीले अत्यन्त कम शुल्क लिने योजना वनाएका छौं’ डाँगीले भने । उनका अनुसार यसै शैक्षिक सत्रबाट तिन वर्षे कार्यक्रम अन्तर्गत वन विज्ञान, कृषि विज्ञान, फुड एण्ड डेरी, मेकानिकल इन्जिनियरिङ्ग र इलेक्ट्रीकल इन्जिनियरिङ्ग विषयको अध्यापन हुने भएको छ । सदस्य डाँगीका अनुसार उपमहानगरपालिका भित्रकालाई ४० प्रतिशत र अन्य ठाउँबाट आउनेलाई २० प्रतिशत समेत कलेजले छुट दिने भएको छ ।
कलेजको भवन निर्माणका लागि प्रदेश सरकारले ९ करोड विनियोजन समेत गरिसकेको जनाइएको छ । ‘यसै वर्षबाट भवन निर्माणको काम समेत अगाडी वढ्नेछ ’ नगरप्रमुख पाण्डेले भने । उनले प्रदेश कै नमुना कलेजका रुपमा विकास गरिने पनि वताए ।
प्रतिक्रिया