प्रदेशको ठाउँ, प्रचण्ड गर्मी विदेशमा लाग्ने श्रीमतीको माया,घरमा बुढा भएका बा आमा, सबै कुरा सोँच्दा सोँच्दै मेरो कोठाको दायाँपट्टिको भित्तामा भुण्डाइएको घडीले मध्यरातको दुई बझाउँदासम्म पनि म निदाउन सकेको थिएन । मनमा अनेक छटपटीका बावजुद पनि खै ! कति बेला म निदाएछु । कता कता सपनामा मैले खाना लाएको भाग कसैले खोस्नै थालेपछि म जोगाउँछु भनेर भाग्न थाले । भाग्दै गर्दा एउटा खोला आयो । खोला सजिलै तर्न सकिने खालको थिएन । म अल्मलाए । लखेट्नेहरु मेरो नजिकै आइपुगे । लगभग छोप्नै थाले । म जे पर्छ पर्छ भन्दै झ्वाम्म पानीमा हाम फाल्दा झसङ्ग भएर व्यूझिएँ।
दिनभरी थाहा नदिई घुम्ने घडीको सेकेण्ड सुइले पनि मध्यरातको समयमा त सुनसान विशाल जङ्गलमा एउटा दाउरेले ड्वाङ्ग ड्वाङ्ग ठूलो आवाजमा दाउरा काटेको जस्तै ठूलो आवाज आउँदो रहेछ । सिरानीमा रहेको सानो लाइट बालेर हेरेको घडीले विहानको पौने तिन पो बझाउन थालेको रहेछ ।
म जसको यादहरुमा छटपटिन्छु , कुरेको हुन्छु । उसलाई मेरो केही सरोकार नै छैन । फोन हान्यो ब्यालेक लिस्टमा नम्बर रजिष्टर गरिएको छ । साथीको बर्थ डे छ भन्दै विहान निस्किएकी उ दिन भरी उसको फोन आउला भनेको आएन । साँझ पख त आउला भनेको साँझ बित्यो राति आउला कि भनेको राति पनि आएन। खान मन लागेन । खान मन लागिहाले पनि खाना पकाउने जाँगर त झन् पटक्कै आउँदैन ।
विहानको चार बज्यो । म उठे, मन नलाग्दा नलाग्दै पनि हल्का पानी पिउने निर्णय गरे । ज्यान तन्काउन छतमा गए । जाँगर मनमा पटक्कै थिएन । तल झरे । ल्याप्टप खोलेर फेसबुक हेरे । उसले त मलाई धेरै पहिले नै ब्लक लिस्टमा राखिसकेकी थिइन । उसको साथी प्रमिलाले साथीको वर्थडे पार्टीको लाइभ भिडियो शेयर गरेकी रहेछिन् । सबैलाई देखे ,उनलाई कतै पनि देखिन । मनमा अनेकौँ कुरा खेले, धेरै कुरा सम्झिए ।
सिम्रन पहिले यस्ती त थिइन । तर, आज भोलि मेरा हरेक कुरालाई गलत अर्थ लगाउँथी । उसले खाने तरिका लगाउने पहिरन उठबसमा पूरै परिवर्तन भएकी थिइ । मलाई सिम्रनले दुःखले महिनामा दुई पल्ट फोन गर्थी । पहिलो पल्ट तलब आउनु पहिले कहिले आउँछ तलब भन्दै र अर्को पल्ट तलब आएपछि कहिले पठाउँछौँ पैसा भन्दै । अघिपछि म्यासेन्जर,फोन,इमो सबैमा ब्यालेक लिस्टमा राखिदिएकी थिई कहिले काहीँ साथीको फोनबाट सिम्रनलाई फोन हान्दा उसको फोन घण्टौँ बिजी हुन्थ्यो । उता फोन विजी हुँदा यता मन मुटु अमिलो,पिरो र टुक्रा टुक्रा हुन्थ्यो ।
आजको यो हर्कतपछि आफूलाई जन्म दिने आमा बुवाको औधी सम्झना आयो । अबदेखि बुबा आमाको मन नदुखाउने निर्णयमा पुगे र करिव दुई वर्षपछि बुवाको उही पुरानो फोन नम्बरमा फोन हाने आमाले फोन उठाउनुभयो । बाबु सञ्चै छस् ? कहिले आउँछस बाबु घर भन्दै रुन पो थाल्नुभयो । आमाले रोएको सुनेपछि मेरो पनि मन थामिएन , म पनि आँखामा आँशु झार्दै बुवा र बहिनीलाई सोधेँ ।बुबा भैँसीँलाई घाँसपात गर्न र भैँसी दुन गोठमा जानुभएको रहेछ । बहिनी पानी लिन पँधेरोेमा ।
बुबालाई फोन दिनुस् न भनेपछि आमा हतारिदैँ फोन..फोन….केटाको फोन भन्दै गोठमा पुग्नुभयोे ।
बुवाको उही बोली कहाँबाट सम्झियो आज बल्ल ? किन हैच त फोन गरेको भन्दै बुवाले फोन समातेर अँ भन भनेपछि मैले दर्शन गरेँ । आर्शिवाद, सञ्चै छस् । गाउँको खबर थाहा पाएर फोन गरिस कि यत्तिकै फोन गरेको ? म फेरी झसङ्ग भए ।
के छ बा गाउँको खबर ? (मैले थाहै नभएर सोधेँ ।)
यत्तिकैमा आमाले फोन खोसेर “बुहारीलाई त तल्लारे माइलाको छोराले भगाएर लाउर लग्यो रे त” भन्दै फेरी रुन थाल्नुभयो । म छाँगाबाट खसेजस्तो भएँ मन समाल्दै केही कुरा गर्दै गर्दा बहिनी पनि पानी लिएर आइ पुगी । आमाले दाइको फोन भन्दै बहिनीलाई दिनुभयो । धेरै कुरा गरेपछि बहिनीले दाई यो तिहारमा घरमा आउनुस् न,हामी त तपाइँ प्रदेश गएपछि न दशैँ मनाएका छौँ न तिहार, भन्दा पो बल्ल थाहा भयो, मेरो घरमा म नहुँदाको अभाव कस्तो भएको रहेछ भन्ने ।
यत्तिकैमा हस् बहिनी आउँछु, भन्दै फोन राखेँ । आँखाबाट आँशुको भेल बर्सियो । सबै कुरा सम्झिए । तल्लारे माइला बाको छोरा प्रविन जो मेरो बाल्यकालदेखिकै साथी थियो, आउने बेलामा अलिकति पैसा हाल्दिएको थियो । हिड्ने बेलामा घर तिरको चिन्ता नगरेस् भन्दै थियो । विहान भयो । सबै उठे । सबैलाई मेरो कथा सुनाए । मेरा साथीहरु पनि दुःखी हुँदै मलाई साथ दिए ।
सहरमा श्रीमतीलाई सुख दिन्छु भन्दै राखेर,बुबाआमा र बहिनीलाई दुःख दिएकोमा पछुतो मान्दै । अब यस्तो गल्ती नदोहोराउने वाचा सहित गाउँघर फर्किएर आप्mनै गाउँघरमा केही काम गर्ने योजनाका साथ अब घर फर्किदैँ छु ।
प्रतिक्रिया