बुटवल । आज भाद्र तृतीया अर्थात हिन्दु महिलाहरुको महान पर्व हरितालिका तीज । यसपालिको तीज पर्व खल्लो र निरस छ । तीजको रमझम छैन । महिलाको स्वतन्त्रताको पर्व घर र कोठामा खुम्चिएको छ । कोरोना सङ्क्रमणको त्रासले कतै बन्दाबन्दी त कतै निषेधाज्ञा छ । कतिपय स्थानीय तहले त दिदीबहिनीलाई माइत नजान आग्रह नै गरेका छन् । तीजको छेकोमा गरिने मेला, प्रतियोगिता स्थगन गरिएको छ ।
यो वर्ष तीजका बेला बजारमा हुने किनमेल पनि ह्वात्तै घट्यो । तीजका मेला, समारोह नै नभएपछि महिलालाई पनि पोशाक र सौन्दर्यका सामग्री किन्नुपर्ने बाध्यता आइपरेन । तीजको अघिल्लो दिन दिदीबहिनीलाई दर खुवाउने चलन छ । महिला पतिको सुस्वास्थ्य र दीर्घायूका लागि तीजमा व्रत बस्छन् । भगवान् शिवको आरधाना गर्ने प्रचलन छ । विभिन्न शक्तिपिठ तथा शिवालयहरुमा घुँइचो लाग्ने वर्षौदेखिको नियम यो वर्ष भने कायम रहेन । यसैगरी विभिन्न चोक तथा सार्वजनिक स्थलहरुमा जम्मा भई दरखाने, नाचगान गर्ने प्रचलन रहेपनि यो वर्ष भन्ने सुनशान छ ।
यसैबीच रुपन्देही जिल्ला प्रशासन कार्यालयले पनि आगामी भाद्र ७ गतेसम्मका लागि लकडाउनको घोषणा गरेका कारण जिल्लामा मानवीय चहलपहल न्यून छ । विश्व स्वास्थ्य संगठनको सुझाबलाई आत्मसाथ गरी सरकारले अत्यावसश्यक बाहेक घर बाहिर ननिस्कन नागरिकलाई आह्वान गरिरहेको छ । यो वर्षको तीज कोरोना संक्रमण त्रासमै वित्ने भएको छ । यसै सन्दर्भमा रुपन्देहीको स्थानीय नीकायका महिला जनप्रतिनिधिहरुले तीज के–कसरी मनाउँदै छन् उनिहरुसँग गरिएको कुराकानी प्रस्तुत गरिएको छ ।
अनलाईन संवादमै तीज मनाउने तयारीमा छु : गुमादेवी आचार्य, उपप्रमुख बुटवल उपमहानगरपालिका
१० औं सन्तानको कान्छी छोरीका रुपमा रहेकी बुटवल उपमहानगरपालिकाकी उपमेयर गुमादेवी आर्यले यो वर्षको तीज अनलाई भेटघाट तथा फोन वार्ताबाटै मनाउने तयारी गरेको बताइन् । विश्वव्यापी कोरोना महामारीका कारण रुपन्देही जिल्ला लकडाउन भएको तथा यसअघि नै बुटवल उपमहानगरले बन्दको घोषणा गरेको हुँदा अत्यावश्यक बाहेक घर बाहिर ननिस्कन उनको सुझाव छ । हरेक वर्ष रुपन्देहीको सेमलारमा रहेको आफ्नो दाजुको घरमा तीज मनाउने आचार्यले यो वर्ष भने आफ्नै घर अमुवामा बसेर मनाउने बताइन् । ‘त्यती ताढाको माइत नभएपनि यस पटक घरमै बस्ने विचार गरेकी छु ।’–आचार्यले भनिन् ‘यदि म त्यहाँ गएभने अरु चेलीबेटी तथा आफन्त पनि जान खोज्छन्, जमघटले कोरोना संक्रमण फैलन पनि सक्छ त्यसैलै घरमै बसेर तीज मनाउन सबैलाई सुझाब दिएकी छु ।’ अन्य दिदीबहिनीहरुलाई पनि सकेसम्म घरभित्रै बसेर चाड मनाउन सुझाव दिँदै आर्याले दिदीबहिनी बीच घरभित्र जमघट भइहाले पनि सामाजिक तथा भौतिक दुरीलाई ख्याल राख्न आग्रह गरिन् ।
मेरो लागि तीज खासै महत्वको विषय हैन : उपमेयर सिद्धार्थनगर नगरपालिका
आफू प्रगतिशिल विचार राख्ने भएको हुँदा तीज आफ्ना लागि त्यती महत्वको नहुने सिद्धार्थनगर नगरपालिकाकी उपमेयर उमा काफ्लेले बताइन् । आफ्ना लागि महत्व नरहे पनि हरेक वर्ष आउने हरितालिका तीजका अवसरमा नगरपालिकाकोतर्फबाट विभिन्न कार्यक्रमहरु आयोजना गर्ने गरिए पनि यो वर्ष कोरोना महामारीले स्थगित गरिएको बताइन् । सिद्धार्थनगर ९ मा रहेको आफ्नो माइती (भाई बुहारीको घर) मा सामान्य समयमा पनि आउजाउ हुने गरेको बताउँदै काफ्लेले यो वर्षको तीजमा पनि आफ्नै घर सिद्धार्थनगर ७ मै बस्ने उल्लेख गरिन् । ‘वर्त बस्ने, नाचगान गर्ने तथा चासो दिएर चाडपर्व मनाउने मेरो बानी छैन ।’–उनले भनिन् ‘मेरो लागि कोरोनाले तीजमा केही असर गर्यो वा गरेन भन्ने केही छैन ।’
२ मिनेटको दुरीमा माइत हो, तर जाँदीन : विना रानामगर, उपमयेयर सैनामैना नगरपालिका
सैनामैना नगरपालिकाकी उपमेयर विना राना मगरको घर वडा नम्बर १० मा पर्दछ । विनाको दाजुभाई पनि वडा नम्बर १० मै बस्ने गर्दछन् । उनिहरुको घर विनाको घरदेखि हिँडेर गएपनि २ मिनेटमा पुग्न सकिने उनले बताईन् । विश्वव्यापी कोरोना महामारीका कारण संक्रमण बढ्न सक्ने डरका कारण यो वर्षको तीजमा भने उनि माइत नजाने भएकी छन् । जनतालाई आह्वान गरिए अनुसार आफूले पनि नियम पालना गर्नु पर्ने बताउँदै विनाले घरमै बसेर तीज मनाउने उल्लेख गरिन् । महामारीका त्रास बढीरहेका बेला ठूलो जमघट तथा भेला हुन नहुने बताउँदै उनले आफ्नो माइतीलाई यो वर्ष तीज घरमै मनाउने जानकारी गराएको बताइन् । नगरबासीहरुलाई समेत उनले सकेसम्म घर भित्रै रमाइलो गरी चाड मनाउन सुझाव दिएकी छन् ।
यसपालीको तीज फेसबुक र म्यासेन्जरमै : अमृता गुरुङ, उपाध्यक्ष सियारी गाउँपालिका
सियारी गाउँपालिका उपाध्यक्ष अमृता गुरुङ यो वर्षको तीज फेसबुक तथा म्यासेन्जरमा शुभकामना बाँडेर मनाउने सोच बनाएकी छन् । गाउँपालिकाको वडा नम्बर ७ की अमृता आफ्नो भाईको घर वडा नम्बर ६ मा पर्ने भएपनि माइत नजाने भएकी हुन् । ३ बहिनी मध्येकी माहिली बैनिका रुपमा रहेकी उनले घरमै स–परिवार बसी सामान्य खानपान गरी मनाउने बताइन् । विश्वव्यापी कोरोना महामारी फैलिरहेको बेलामा अन्य दिदीबहिनीहरुलाई समेत सकेसम्म आफ्नै घरमा बसी पर्व मनाउन उनले सुझाव दिइन् ।
यसपालीको तीज योजनाविहिन : गोमा तरामु, उपाध्यक्ष कञ्चन गाउँपालिका
विश्वव्यापी कोरोना महामारीका कारण यो वर्षको तीज योजना विहिन भएको गोमा तरामुले बताइन् । आम नागरिकहरुलाई घर बाहिर नगएर नै पर्व मनाउन आह्वान गरिएको बताउँदै उनले यो वर्षको दिन साधारण दिनको जस्तै वित्ने बताएकी छन् । विगतका वर्षहरुमा विभिन्न संघ–संस्था तथा दिदीबैनीहरुले आयोजना गर्ने तीज कार्यक्रममा सहभागी भएर मनाउने गोमाले यो वर्ष भने सामान्य खानपान र घरमै तीज मनाउने बताइन् ।
प्रतिक्रिया