पूर्ण लकडाउनको बेला एकदिन बुटवल-नुवाकोट हुँदै दोभान नजिकैको झ्याङ्ला गाउँ जाने योजना बनाएका थियौं दलबहादुर गुरुङ, मिन राना र मैले । जाने साइत भने जुरेको थिएन । साउन २१ गते राति जाने हो ? भनेर दलबहादुरले खबर पठाए मेसेञ्जरमा । जाने भनेर छोटो उत्तर पठाएँ । सिद्धबाबा-दोभान खण्डको बाटोमा आफ्नो गाडी लिएर जाने हिम्मत आएन । उतैबाट व्यवस्था गरिएको जिपमा बुटवलबाट दश बजे जाने कुरा थियो । पट्यारिलो पर्खाइपछि साढे बा¥ह बजे बल्ल जिप आयो । जोखिमपूर्ण बाटो पार गरेर एकैछिनमा दोभान पुगियो ।
तिनाउ नदिमा भर्खर निर्माण सम्पन्न भएको पक्की पुल तरियो । पुलको मुखैमा माथिबाट झरेको पहिरोसँगै झरेका ढुंगाको कुरुप थुप्रो थियो । यसपटकको भारि वर्षाको कारण कच्चि सडकको हालत खराब थियो । सिद्धार्थ राजमार्गमा अवस्थित दोभान बजारको ठिक पारिपट्टी छ तिनाउ गाउँपालिकाको केन्द्र । नजिकैको पुरानो ढाक्रे बजार गुल्जार हुँदै रहेछ । गुल्मी, पाल्पा र अर्घाखाँचीबाट नुनतेल, लत्ताकपडा किन्न बुटवल झर्दा भरियाहरु यतै बास बस्थे रे । स्थानीयहरु किनमेलमा व्यस्त देखिन्थे । पासकुण्डा, बुढासटक हुँदै हामी अगाडी बढ्यौं । दोभान मा वि नजिकै अर्को पक्की पुल देखियो लगभग तयारी अवस्थामा । बुटवल-बेलबास-नुवाकोट हुँदै झुम्सा दोभान निस्किने वैकल्पिक मार्गलाई सहज बनाउन यो पक्की पुल बनेको रहेछ ।
तिनाउ गाउँपालिका वडा नम्बर २ मा पर्छ झ्याङ्ला गाउँ । दोभान बजारबाट तीन किलोमिटरको दूरी रहेछ । वडा अध्यक्ष राजेश श्रेष्ठ मेरा पुराना अनन्य मित्र हुन् । एक दशक लामो माष्टरी जीवन बिताएका थियौं सँगै । बेलाबेलामा उनी झ्याङ्लाको नाम लिइरहन्थे कुरा गर्दा । नाम सुन्दा अनौठो लाग्थ्यो । दोभान सेरोफेरोमा धेरैपटक पुगेको छु २०५६ सालयतादेखि । लग्दुवा, श्रीडाँडा, नुवाकोट, सत्यवती ताल र सुकेताल पुगेको छु । मेरा थुप्रै शुभचिन्तक साथिहरु, अभिभावक र विद्यार्थीहरु छन् दोभान र झुम्सामा । पहाडको ग्रामिण परिवेश असाध्यै राम्रो लाग्छ मलाई । गाउँको धुलोमाटोमा लडिबुडी गरेको बालापनका स्मृतिहरु ताजा भएर आउँछन जुनसुकै गाउँ पुग्दा ।
सिर्जनात्मक सोंच भएका जुझारु युवाहरुको सकारात्मक र दीर्घकालिन सोंचले अघि बढेको गाउँ हो दोभान मेरो बुझाईमा । दलबहादुर गुरुङ, वर्तमान वडाअध्यक्ष राजेश श्रेष्ठ, चोपलाल गिरी, अमर प्रधान, विष्णुप्रसाद पाण्डे, लक्ष्मण थापा, पदमलाल शाक्यहरुको निरन्तरको कृयाशिलता देखेको छु मैले वितेका दुई दशकमा । गाउँमा बसेर केहि हुन्न भन्ने पलायनवादी सोंच कहिल्यै देखिन मैले उहाँहरुमा ।
झट्ट सुन्दा नाम परम्परागत लागेपनि अहिले झ्याङ्ला गाउँले ‘स्मार्ट कृषि गाउँ ’ भन्ने विशेषण पाएकोेछ । खासमा अंग्रेजी शब्द हो-स्मार्ट शब्द । कोट, टाई, सर्ट, लोकल जस्ता शब्दहरु जस्तै चलनचल्तीको भाषामा प्रयोग गरिन्छ आजकाल । गएको स्थानीय चुनावताका यो शब्द निकै प्रयोग गरिन्थ्यो । नेता कार्यकर्ताहरु आफ्नो शहर र गाउँलाई स्मार्ट बनाउने भन्दै चर्को भाषण गर्थे । बजवर्ड अर्थात् मूलमन्त्र भएको थियो । सामान्य अर्थमा स्मार्टको अर्थ हुन्छ चलाख । आफु व्यबस्थापनको विद्यार्थी भएको हुँदा अर्कै अर्थमा बुझ्छु । व्यवस्थापन साहित्यमा क्ःब्च्त् पाँचवटा शब्दको छोटकरी रुपमा बुझिन्छ । विशिष्ट (Specific), मापनयोग्य (Measurable), सही (Accurate), यथार्थपरक (Realistic) रसमय बाध्य (Time bound) । खास गरेर व्यवसायिक लक्ष्य कस्तो हुनुपर्छ भन्ने सन्दर्भमा स्मार्ट शब्दलाई शुत्रको रुपमा प्रयोग गर्ने अभ्यास छ ।
स्मार्ट कृषिका लागि जलवायु, जल, प्रविधि, पोषण र बजारको क्षेत्रमा समुदायलाई सहयोग गर्ने पाँचवटा आधार तय गरिएको रहेछ । ९८ घरपरिवारले खेती गर्दै आएको ६५० रोपनी जमिनमा कार्यक्रम लागू गरिएको कुरा स्मार्ट कृषि गाउँ कार्यक्रम कार्यान्वयन समितिका अध्यक्ष चोपलाल गिरीबाट थाहा पायौं । निर्वाहमूखी परम्परागत कृषिको आधुनिकिकरण गर्दै उत्पादन वृद्धि गरी गाउँलेहरुलाई समृद्ध बनाउने लक्ष्य वास्तवमै सराहनीय छ । ५९ घरपरिवार जनजाती, ३७ बाहुन क्षेत्री र २ घर दलित बसोबास गर्दा रहेछन् झ्याङ्लामा ।
झ्याङ्ला गाउँ जोड्ने मोटरबाटो पहिरोले गर्दा अवरुद्ध थियो । एकैछिन पैदल हिडेर झोलुङ्गे पुल तरेर गाउँको पुछारमा पुगियो । स्मार्ट कृषि गाउँका विशेषताहरु लेखिएको प्mलेक्स बोर्डलाई पृष्ठभूमिमा राखेर फोटो खिचियो । तालिमहल सहितको होमस्टे, अर्गानिक खेतिमा जोड, माछा पकेट क्षेत्र, मगर संस्कृति, सिंचाई सुविधा, सिमसार क्षेत्र संरक्षण, उन्नत प्रविधिबाट तरकारी खेती र पशुपालन, वाईफाइको सुविधा, लोकल कुखुरा पालन स्मार्टउन्मुख कृषि गाउँका विशेषता हुनेछन् भन्ने लक्ष्य रहेछ ।
दुई वर्ष अघि सुरु गरिएको रहेछ स्मार्ट कृषि गाउँ कार्यक्रम । प्रदेशको कृषि मन्त्रालय, कृषि ज्ञानकेन्द्र पाल्पा र तिनाउ गाउँपालिकाको आर्थिक सहयोग रहेछ । अहिलेसम्म सरकारको ८० प्रतिशत र स्थानीयको २० प्रतिशत गरेर करिब ४९ लाखको योजना रहेछ । गतवर्ष संचालित कार्यक्रमको समीक्षा र आगामी वर्षको योजना तय गर्ने औपचारिक कार्यक्रम रहेछ । उहीं पुगेपछि बल्ल थाहा पाएँ मैले । ५ नम्बर प्रदेश सरकारका भूमि व्यवस्था, कृषि एवम् सहकारी मन्त्री आरती पौडेल हाम्रो पछिपछि आइरहेकी थिइन् ।
गाउँलेहरु स्थानीय पञ्चेबाजा गाजा र पूmलमालाले स्वागत गर्न गाउँको पुछारमा रहेको झोलुङ्गे पुलको मुखसम्म आएका थिए । गणतन्त्र आएपनि पञ्चायती शैलीको स्वागत सत्कारमा साँस्कृतिक परिवर्तन किन नआएको होला भन्दै उकालो लाग्यौं । चुरे पहाडको काखमा रहेको गाउँ वास्तबमै रमणिय लाग्यो । बाटोको बायाँतिर सामुदायिक जङ्गल, दायाँतिर सानासाना गरामा लहलहाइरहेको हरियो धानखेती कलकल बगिरहेको पानीको संगीत काला अक्षरका शब्दमा के अभिव्यक्त गर्न सकियोस् र ?
औपचारिक कार्यक्रम शुरु भयो करिब ३ बजेबाट । पहाडी भूभाग भएतापनि गर्मि उखरमाउलो थियो बुटवलको जस्तै । समुदायिक वनको भवनमा कार्यक्रम राखिएको थियो । पङ्खाको व्यबस्था भएतापनि विद्युत आपूर्ती अनियमित थियो । गाउँलेहरुको उल्लेख्य सहभागिता थियो । १०-१२ वर्ष उमेर समूहका केटाकेटीहरु आफ्नै धुनमा गुच्चा खेल्न व्यस्त थिए । सामाजिक दूरी कायम गर्ने र मास्कको प्रयोग थिएननै भन्दा हुन्छ । साना केटाकेटीहरु हातहातमा बिस्कुट, चाउचाउ लिएर ओहोर दोहोर गरिरहेका देखिन्थे ।
मिन राना यिनै साना नानीबाबुहरुसंग रमाइरहेका थिए । दलबहादुर गुरुङ, अमर प्रधान सर र म भने असल स्रोता बनेर पछाडिको लहरमा बस्यौं । लम्बेतान भाषण चलिरहेको थियो । ५ बजे भन्दा अगाडि सकिने छाँटछन्द थिएन । गर्मीले गर्दा लुगा भिजे पसिनाले ।हल बाहिर निस्कियौं पानि पिउन । आयोजकले मास्क वितरण गरे उपस्थित सबैलाई । एकैछिनपछि भाषण गर्ने पालो आयो दलबहादुरको । मिन राना म र कान्तिपुरका पाल्पा संवाददाता माधव अर्याल बाहिर बसेर गफियौं ।
विहान सबेरै खाना खाएको हुँदा पेटमा मुसा दौडिन थालिसकेका थिए । इमान सिंह थापाको घरमा खाजाको प्रबन्ध रहेछ । सेलरोटी, चुकाउनी, माछाको फ्राई एक पिस र बटुकको खाजा खाइयो मिठागरी । साथमा एक एक गिलास स्थानीय कोदाकोे विजुली पानी पनि । अन्य आगन्तुक पाहुनाहरु ५ बजेपछि आए । खाजा खाँदै अनौपचारिक छलफलमा बसियो मन्त्री आरती पौडेल, प्रदेश सभा सदस्य तुलाराम घर्ति (वसन्त), चोपलाल गिरी, राजेश श्रेष्ठ लगाएतसँग । वसन्त दाईले मन्त्रीसँग मेरो परिचय गराइदिनुभयो । बिदा हुनेबेलामा माइती हुनुहुदोरहेछ भन्दै आत्मियता देखाइन् । कोशेली स्वरुप स्थानीय जङ्गलमा प्रशस्त पाइने तामा सबै पाहुनाको हातमा दिए गाउँलेहरुले ।
सभासद वसन्त घर्तिको आग्रहमा त्यहीं बास बस्ने निधो भयो । अगुवा महिलाहरुसंग अन्तरक्रिया भयो सांसद र वडा अध्यक्षको । अन्तरमुखी स्वभावका गाउँपालिका अध्यक्ष ओम बहादुर घर्ती भने औपचारिक कार्यक्रम सकिएपछि उतैबाट बाटो लागेछन् । हुकुम बहादुर जि सी सरले कोरोना गीत सुनाए । मिन रानाले मादल बजाए ।
झ्याङ्ला प्रवेश गरेपछि कसैकोपनि मोबाइलको घण्टी बजेको थिएन । मोबाइल नेटवर्क राम्रो रहेनछ । सरकारी स्वामित्वको नेपाल टेलिकमको सेवामुखी व्यबहार दुर्गम ग्रामिण क्षेत्रमा प्राय यस्तै नै छ । ग्रामिण दुरसञ्चार कोषको अरबौं रकम केका लागि होला ? भन्ने लागिरह्यो मनमा । प्रदेश सरकार र गाउँपालिकाको सहयोगमा तार बिस्तार गरि ०७६ साल माघबाट इन्टरनेट सुविधा पुगेको रहेछ । स्मार्ट कृषिका लागि सुचना र प्रविधि अपरिहार्य हुन्छ । राति करिब आठ बजेतिर हामी बास बसेको इमानसिंह थापाको घरमा वाइफाई थाहा पाएँ ।
कोठा वरपर भन्दा टाढा नटिप्ने रहेछ । दिउँसो खिचेका फोटो राखेर दलबहादुर गुरुङले आज हामी यता छौं, वाइफाई छ मोबाइल नेटवर्क छैन भनेर आफ्नो फेसबुक वालमा पोस्ट गरिसकेका रहेछन् । मैलेपनि अनौठो मान्दै उक्त स्टाटस आप्mनो वालमा श्येयर गरें । यति भएपछि घरमा खबर पुग्यो भनेर ढुक्क भएँ । चोपलाल जी सँग बसेर थप भलाकुसारी गरियो । खाना खाइवरी ११ बजेतिर दलबहादुर र म एउटै खाटमा सुत्यौं ।
विहान उठेर भिरालो पहाडका गराहरुमा लगाइएको धानबाली अवलोकन गरियो । गाउँलाई ६ वटा सेक्टरमा विभाजन गरिएका रहेछ । बसन्त दाई प्रत्येक किसानका घरघरमा पसेर धानखेतीको अवस्था बुझिरहेका थिए । धानमा जराबाट नै बोट सुक्ने रोग लागेको गुनासो सुनियो, देखियो । नजिकैको गाउँपालिका भवनमा कृषि प्राविधिकहरु भएपनि स्मार्ट कृषि गाउँमा उनिहरुको सेवा पुगेको रहेनछ । नेकपाका प्रदेश स्तरीय युवा नेता चक्रव्यूह थापाको घर रहेछ गाउँको पुछारमा । उनको माछा पोखरी अवलोकन गरियो । कञ्चन एफ एम र कञ्चन खबर डट कमका जगिलाल थापाले फोटो खिचे ।
बैदेशिक रोजगारीबाट फर्केका युवा दम्पतिको टनेल खेती अनुभव सुन्यौं । चक्र जी हामीलाई छोड्न पुल सम्म आए । खोला तर्न सघाए । अमर सर र वडा अध्यक्ष मित्र राजेश श्रेष्ठकहाँ चिया पिउन आउँछौं भनेर गरेको वाचा पुरा गर्न सकिएन । संचार सम्पर्क सहज नहुँदा घर पुग्न मन आत्तिइरहेको थियो । एकदिन र रातको छोटोमिठो बसाइ सकेर करिब ९ बजेतिर बुटवल प्रवेश गरियो । सिद्धबाबा नजिक ढुंगा खसेको रहेछ राति । बाटो भने अबरुद्ध थिएन ।
स्मार्ट कृषि गाउँ भनेर परियोजना शुरु भएको छ । गरा सुधार भएका छन् । मिनी टिलर अथात् हाते ट्याक्टरको प्रयोग गर्दा उत्पादन लागत घटेको छ । उत्पादकत्वमा वृद्धि भएकोछ । साँच्चिकै स्मार्ट बनाउन अझै धेरै कुरा गर्नुपर्ने हुन्छ । हजारौं माइलको यात्रा पहिलो पाइलाबाट नै प्रारम्भ हुन्छ । झ्याङ्लाबासीहरुको गाउँ वास्तबमा स्मार्ट बन्नेछ । होमस्टेले आन्तरिक र बाह्य पर्यटक तान्नेछ । मौलिक संस्कृतिको संवद्र्धन हुनेछ । गाउँलेहरुको जीवन समृद्ध बन्नेछ । खुशी छाउनेछ ।
प्रतिक्रिया