ताजा अपडेट »

रुपन्देहीको एक नमूना विद्यालय प्रधानाध्यापक विहिन

मंगलबार, २७ साउन २०७७, १९ : ११
268 Shares
मंगलबार, २७ साउन २०७७
268 Shares

बुटवल । हालै नमूना विद्यालयको रुपमा छनौट भएको रुपन्देहीको एक विद्यालय नेतृत्व अर्थात् प्रधानाध्यापकविहिन रहेको छ । कञ्चन-१ स्थित प्रगति नमूना माध्यमिक विद्यालय नेपाल सरकारबाट नमूना घोषित भएपछि प्रधानाध्यापक विहिन बनेको हो । शिक्षा नियमावली अनुसार विद्यालयमा मावि स्थायी दरबन्दी शिक्षक अभावमा विद्यालय विगत ५ महिनादेखि प्रधानाध्यापक विहिन बनेको हो । विद्यालयमा विगत ६ वर्षदेखि प्रधानाध्यापकका रुपमा काम गर्दै आएका जिवराज पौडेलले गत चैत्र ५ गते राजीनामा दिएपछि पद रिक्त रहेको हो । प्रावि स्थायी शिक्षक रहेका उनले नमूना विद्यालयका लागि मावि स्थायी शिक्षक हुनु पर्ने प्रावधान अनुसार योग्यता नपूग्दा राजीनामा दिएका हुन् ।

प्रधानाध्यापक नियुक्तिका लागि कञ्चन गाउँपालिका शिक्षा समितिले दरबन्दी शिक्षकहरुको काज मिलान गर्दा सोमबारदेखि विद्यालयमा ताला झुण्डिएको छ । गत साउन २१ गते गाउँपालिका शिक्षा समितिको निर्णय तथा गाउँ कार्यपालिकाको बैठकले विद्यालयका मावि राहत शिक्षक खिमबहादुर घर्तीको ठाउँमा मावि स्थायी शिक्षक ल्याउने निर्णयले विवाद उत्पन्न भएको हो । गाउँ शिक्षा समतिको बैठकले विद्यालयका शिक्षक घर्ती मगरलाई गजेडी माध्यमिक विद्यालयमा र गजेडी माध्यमिक विद्यालयका शिक्षक गणेश पौडेललाई प्रगति नमूना माध्यमिक विद्यालयको प्रधानाध्यापक बनाई सरुवा गर्ने निर्णय गरेको थियो ।

प्रचलित शिक्षा ऐन २०२८ र शिक्षा नियामवली २०५९ विपरित सरुवा गर्नुपूर्व सम्बन्धित व्यक्तिलाई कुनै जानकारी नगराइएको भन्दै नेपाली कांग्रेस तथा भूपू विद्यार्थीहरुको संगठनले निर्णयको विरोध गरेका छन् । विद्यालय व्यवस्थापन समितिको निर्णय बिना शिक्षकलाई सरुवा गरिनु प्रचलित शिक्षा ऐन र नियामवली विपरित भएको भन्दै उनिहरुले विरोध जनाएका हुन् । गाउँपालिकाले भने शिक्षकहरुको काज सरुवा कानूनसम्बत रहेको भन्दै जसरी पनि कार्यान्वयन गर्ने पक्षमा देखिएको छ । स्थानीय सरकार सञ्चालन कार्यविधि २०७४ को दफा ११ ‘ज’ अनुसार शिक्षकको काज सरुवा गरिएको गाउँपालिका शिक्षा शाखा प्रमुख रमेश भुसालले बताए । दफा ‘ज’मा उल्लेख भएको शिक्षक दरबन्दी मिलान तथा सरुवा व्यवस्थापन कार्यविधि २०७६ अनुसार सो निर्णय गरिएको उनले बताए ।

गाउँपालिकाको एकमात्र नमुना विद्यालय प्रगती नमुना माध्यमिक विद्यालयमा हाल १ जना पनि मावि स्थाई दरबन्दीका शिक्षक रहेका छैनन् । विद्यालयका पूर्व–प्रधानाध्यापक जिबराज पौडेलका अनुसार हाल मावि तहमा कक्षा ११, १२ का लागि अनुदानमा २ जना तथा अन्यका लागि ५ जना राहत शिक्षक रहेका छन् । आधारभुत तहका लागि ९ जना स्थाई तथा ५ जना राहत शिक्षक रहेका छन् । यस अघि गत असार ८ गते वडा नम्बर ३ हरैया माविका थाई शिक्षकलाई विद्यालयमा काजमा सरुवा गरी ल्याउने विषयमा विवाद भएपछि निर्णय कार्यान्वयन हुन सकेन । विद्यालयमा रहेका एक शिक्षकलाई हरैया पठाउने गरी त्यहाँबाट मावि स्थाई शिक्षक ल्याई प्रधानाध्यापक बनाउने गाउँपालिकाको निर्णय सम्बन्धित शिक्षक र स्थानीयको विरोधले कार्यान्वयन हुन सकेन ।

विद्यालयमा लामो समय प्रधानाध्यापक पद रिक्त रहँदा चिन्ता व्यक्त गर्दै व्यवस्थापन समितिका अध्यक्ष दिपक पुनले समस्या उत्पन्न भएको बताए । विद्यालयमा नेतृत्व नहुँदा विगत ३ महिना अघिदेखि खाता सञ्चालन नभएको उनले बताए । विद्यालयमा सकेसम्म कुनै पनि शिक्षकलाई बाहिर नपठाउँने गरी गाउँपालिकाले शिक्षक दरबन्दी पठाउनु पर्ने आसय व्यक्त गरे । यसै गरी विद्यालयका अभिभावक संघ अध्यक्ष खडानन्द गिरीले पनि विद्यालयबाट शिक्षकलाई अन्यत्र सरुवा नगरी गाउँपालिकाले मावि स्थाई दरबन्दी थप गर्न पहल गर्नुपर्ने उल्लेख गरे ।

गाउँपालिका अध्यक्ष गोकर्णबहादुर क्षेत्रीले नियमानुसार नै शिक्षकहरुको काज सरुवा गरिएको उल्लेख गरेका छन् । नमुना विद्यालयका मापदण्ड पुरा नगरेको खण्डमा आउने अनुदानहरु सरकारले कटौती गर्ने भएपछि त्यसको व्यवस्थाका लागि विद्यायमा मावि थाई शिक्षकको व्यवस्था गर्दा विरोध जनाउनु उचित नभएको उनको भनाई छ ।

विद्यालयले नमुना विद्यालयको मापदण्ड अनुसार मावि स्थाई शिक्षक नुहँदा गत आर्थिक वर्ष २०७६/७७ का लागि प्राप्त गर्ने भनेको ११ लाख अनुदान गुमाएको छ । यो वर्षपनि मापदण्ड पूरा नगरको अवस्थामा अनुदान गुम्ने भएपछि गाउँपालिकाले सो निर्णय गरेको थियो । उत्पन्न विवाद समाधानका लागि विद्यालयमा व्यवस्थापन समितिका अध्यक्षसहित आन्दोलनरत पक्ष, विद्यालय तथा जनप्रतिनीधिहरु बीच छलफल भए पनि कुरा नमिलेपछि विद्यालयको ठोकामा ताला कायमै रहेको छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।