दाङ । दाङको शान्तिनगर गाउँपालिका-३ मा अवस्थित एक विद्यालयमा संरचना निर्माण गर्न शिलान्यास गरिए पनि विद्यालय र स्थानीय निकाय बीच कुरो नमिल्दा बजेट फ्रिज हुने अवस्थामा पुगेको छ । वडा नम्बर ३ को बयाले सिमतरामा अवस्थित वीपी कोइराला नमुना माध्यामिक विद्यालयमा भौतिक संरचना निर्माणको लागि गत आर्थिक वर्ष २०७६÷७७ मा विनियोजित डेढ करोड रकम खर्चन हुन सकेन । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय अन्तर्गत रहेको शिक्षा तथा मानव स्रोत विकास केन्द्रले डेढ करोड बजेट विद्यालयको नमुना विकासका लागि विनियोजन गरेको थियो ।
बजेट आएपछि कृषि प्राविधिक अध्यापनका लागि हाल विद्यालय भएको ठाउँदेखि उत्तर तर्फ ८ कोठे भवन, ल्याबका लागि ३ कोठे भवन र सुविधा सम्पन्न शौचालन निर्माण गर्ने भनिय पनि योजना कार्यान्वयन नभएको हो । उक्त भवन निर्माणको लागि गत फागुन ७ गते गाउँपालिका अध्यक्ष कमानसिंह डाँगी र प्रमुख प्रशासकीय अधिकृत नरबहादुर विकले शिलन्यास गरेका थिए । शिलन्यासको लामो सयमसम्म भौतिक संरचना निर्माण हुन सकेको छैन । गाउँपालिका र विद्यालयको कारणले बजेट फ्रिज हुने अवस्थामा पुगेको विद्यालयका अभिभावकहरुले बताएका छन् ।
विद्यालयको भवन नहुँदा छोराछोरीलाई पढाउन बाहिर पठाउनु पर्ने अवस्था आएको शान्तिनगर ३ का अभिभावक विष्णु दाहालले बताए । बजेट आएर पनि भवन नबाउन सक्नुमा विद्यालय र गाउँपालिकाको कम्जोरी भएको उनले बताए । घरबाट खाना खाएर पढ्न जान अवस्था भएपनि भवन नहुँदा वाहिर पठाउनु पर्ने अवस्था आएकोमा उनले गुनासो गरे । यता विद्यालयले भने आफुहरु गाउँपालिकाको विश्वासमा हुँदा यस्तो अवस्था आएको बताएको छ । विद्यालयबाट हुने सबै कामहरु आफूहरुले गरेको भएपनि बजेट गाउँपालिकाको खातामा आएको र गाउँपालिकाले नै टेण्डर आह्वान गरि निर्माण गर्ने भनेपछि आफूहरु ढुक्क भएर बसेको विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष शसिधर केसीले बताए । त्यसैगरी उनले चैत ११ गतेदेखि लकडाउन शुरु हुनु र विद्यालयमा क्वारेन्टाइन स्थापना हुनाले पनि काम गर्न समस्या भएको बताए ।
त्यसैगरी गाउँपालिकाले जेष्ठको २ गते टेण्डर आह्वान गर्ने निर्णय गरेको र त्यो पनि नभएपछि असारको २ गते विद्यालयको खातामा पैसा जम्मा गरिदिने निर्णय भएपनि अहिलेसम्म पैसा नआएको उनले बताए । गाउँपालिकाले आफैले दिने बजेट जसरी पैसा राखिदिदाँ समस्या भएको विद्यालयका प्रधानाध्यापक भागवत न्यौपानेले बताए । विद्यालयमा शिशु कक्षादेखि १२ कक्षासम्म पढाई हुँदै आएको करिब एक हजार विद्यार्थीहरु हुँदा कोठा अभाव हुँदा समस्या भएको उनले बताए । अहिले शिलन्यास भएको भवनमा कृषी प्राविधिका विद्यार्थीहरुलाई पढाउने योजना रहेको समेत उनले बताए ।
२ वर्ष अगाडी दाङमा ५ वटा विद्यालयलाई सरकारले नमुना विद्यालय घोषणा गरेको थियो । घोषणासँगै विद्यालयले प्रत्यक वर्ष विद्यालयको भौतिक तथा शिक्षा सुधारको लागि डेढ करोड बजेट पाउँदै आएको थियो । आर्थिक वर्ष २०७५/७६ मा आएको बजेटबाट ८ कोठे भवनलगायत अन्य शैक्षिक सुधारमा खर्च भएको विद्यालयले जनाएको छ । विद्यालयको भवन निर्माण नहुनु र आएको बजेट पनि फिर्ता जाने अवस्था हुनुमा गाउँपालिकाकै कारणले भएको विद्यालय ब्यवस्थापन समितिका सदस्य दामोदर केसीले बताए । ‘गाउँपालिकाले पैसा आएपछि हामी गर्छाै भन्ने, ’ -उनले भने, ‘कि त समय मै प्रक्रिया पुगेको छैन भनेर हामीलाई जानकारी दिनुपर्ने हो । त्यो पनि गाउँपालिकाबाट भएन् ।’ पैसा रोक्नुमा ठूलै शक्तिको चलखेल भएको उनले आरोप लगाए ।
यता शान्तिनगर गाउँपालिकाले भने चैतदेखि लकडाउन लगायत विभिन्न कारणले भवन निर्माणमा ढिलाई भएको जनाएको छ । गत पुससम्म विद्यालयको ब्यवस्थापन समिति नभएको र पछि काम शुरु गर्ने बेला लकडाउन भएपछि सबै काम रोकिदाँ समस्या भएको प्रमुख प्रशासकीय अधिकृत नरबहादुर विकले बताए । काननु अनुसार काम गराउन खोज्दा डेढ करोड बजेट भएकाले समिति मार्फत काम गराउन नसकिने र टेण्डर मार्फत गराउँन खोज्दा लकडाउनका कारण नभएको उनले बताए । त्यसैगरी आफुहरुको मनसाय विद्यालयको पैसा रोक्ने नभएको भएता पनि कानुनी कारणले गर्दा विद्यालयको खातामा पैसा जम्मा गर्न नसकिएको उनले बताए ।
प्रतिक्रिया