ताजा अपडेट »

छोरीसँग एसइइ परीक्षा दिँदै सांसद शान्ता चौधरी

शनिबार, ०९ चैत्र २०७५, १३ : ४१
40 Shares
शनिबार, ०९ चैत्र २०७५
40 Shares


चैत ९,
दाङ्ग । प्रतिनिधिसभा सदस्य शान्ता चौधरी यस पटक माध्यमिक शिक्षा परीक्षा (एसइइ) दिँदै छिन् । गत २०७३ सालमा डाँडागाउँ मावि गोग्ली, घोराही–२ मा कक्षा ८ मा भर्ना भएपछि उनको औपचारिक कक्षाको पढाइ शुरु भएको थियो । कक्षा ८ र ९ मा औपचारिक रुपमा नियमित विद्यालय गएर पढे पनि कक्षा १० मा भने नियमित विद्यालय जान सकिनन् । अनि खुला विद्यालयमा भर्ना भइन् ।


उनी यसपटक आफ्नी १७ वर्षीया छोरी विनु चौधरीसँग एसइइको परीक्षा दिँदै हुनुहुन्छ । ‘यसपालि त म छोरीसँग परीक्षा दिँदैछु’, उनले हाँस्दै भनिन्, ममी कसको नम्बर धेरै आउँछ है भन्दै छोरीले जिस्काउँछिन्, मलाई डर लाग्छ ।’ उनले छोरीसँग प्रतिस्पर्धा गर्नुको अप्ठेरो सुनाइन् ।


नियमिततर्फ महेन्द्र मावि तुलसीपुरमा सञ्चालित खुला विद्यालयमा अध्ययनरत चौधरी (सिम्बोल नं ०५८८४५३ भी) को सेण्टर मावि तुलसीपुरमा परीक्षा केन्द्र तोकिएको छ । उनकी छोरी विनुले भने बाल सिर्जनालय सेकेण्डेरी बोर्डिङ स्कूल वसुन्धरा, काठमाडौँबाट परीक्षा दिँदै छिन् । नेकपा संसदीय दलका सचेतक चौधरीले भनिन्, ‘व्यस्तताको कारण नियमित कक्षा जान पाइन, सानोमा पनि पढ्ने बानी भएन । त्यसैले अहिले मेहनत धेरै गर्नुपरेको छ ।’ बाल्यकालदेखि विद्यालय त देखे पनि जान नपाएको र किताब छोए पनि पढ्न नपाएको उनको गुनासो छ । सामाजिक काम गर्दागर्दै राजनीतिमा पुगेकी चौधरीलाई पछिल्लो समय पढ्नैपर्ने बाध्यता आइलाग्यो । नेताहरू पढ्दैनन् भन्ने भनाइले उनलाई पटकपटक घोच्यो र विद्यालयमा भर्ना भइन् ।


विसं २०६४ मा पहिलो पटक समानुपातिकबाट संविधानसभा सदस्य भइसकेपछि विभिन्न समितिमा बस्दा अरू पढेलेखेका सदस्यले घोचपेच गर्न थालेपछि उनले पढाइको महत्व बुझ्नुभयो र पढ्नतिर लागिन् । केही वर्ष स्वाध्ययन गरेपछि औपचारिक शिक्षा र प्रमाणपत्र लिएरै पढाइ पूरा गर्ने रहर लागेपछि अप्ठेरो नमानेरै विद्यालयमा भर्ना भएको उनी बताउँछिन् ।


शुरुशुरुमा कक्षा ८ र ९ मा नियमित विद्यालय पनि गइन् । डाँडागाउँ माविमा कक्षामा बसेका र पढेका साना भाइबहिनी घरमा आएर जिस्काउँदा उनलाई अचम्म लाग्छ । ‘उनीहरु कसको ग्रेड धेरै आउँछ है, हाम्रो त प्रतिस्पर्धा हुन्छ है’, भन्दै हाँस्छन् । उनीहरुको हँसाइले आफूलाई झन् पढ्नु पर्दोरैछ भन्ने सांसद चौधरीलाई लाग्छ ।


शुरुमा स्कुल जाँदा उनलाई आफ्नै बुबाआमाले समेत विश्वास गरिनन् । असी वर्ष कटिसकेका बुवा हसुलाल र ७५ वर्षीया आमा कुन्तीले शुरुमा त ‘विद्यालय नै नजाने मान्छेले पनि किन पढ्न कस्सिएको होला, नचाहिने काम गर्ने ? भन्थे । पछि नियमित विद्यालय जाने पढ्ने गरेको देखेपछि विश्वास गरेको उनी सुनाउँछिन् । ‘शुरुमा विद्यालय जाँदा, तँलाई साना केटाकेटीले जिस्काउँदैनन भनेर बुवाआमाले सोध्नुहुन्थ्यो’, उनले भनिन्, ‘अब त मेरा भाइका साना छोराछोरीलाई शान्ता फुपूले जस्तै पढ्नुपर्छ भनेर सिकाउछिन् ।’ नेत्री चौधरीले पढाइप्रति मोह देखाउन थालेपछि उनका बुबाआमा आफूहरुले छोरीलाई पढाउन नसकेकामा पछुतो मान्छन् ।


सांसद चौधरी घरमा आनन्दले पढ्न पाउदिनन् । ‘माननीय भन्छन्, जिल्लामा हुने हरेक सानाठूला औपचारिक कार्यक्रममा सबैले सम्झिन्छन्’, उनले भनिन्, ‘गएन भने पनि जनताले बोलाएको ठाउँमा आउँदिन भन्छन्, त्यसैले म नकार्न सक्दि । गयो भने पढ्ने समय पाइँदैन ।’ उनले पछिल्लो एक हप्तायता औपचारिक कार्यक्रममा जान छाडेकी छन् ।


अब परीक्षालाई ध्यानमा राखेर भाषण गर्ने कार्यक्रममा जान छाडेको उनले बताइन् । उनि राति पढ्न गाह्रो भएपछि प्रायः बिहान र दिउँसो पढ्छिन् । ‘रातिसम्म धेरै बस्न सक्दिन । पूरा समय सुत्नुपर्छ भन्ने लाग्छ, त्यसैले छिट्टै सुत्छु । बिहान छिटो उठेर पढाइ थाल्छु ।’ उनलाई जति सक्यो धेरै ग्रेड ल्याउने ध्याउन्न छ । उनलाई अरु सबै कामभन्दा पढ्ने काम सबैभन्दा गाह्रोजस्तो लाग्छ तर पनि यही गाह्रो काम गर्न उनी कस्सिएकी छन् ।


उनलाई सबैभन्दा सजिलो नेपाली र सामाजिक विषय लाग्छ भने गणित र विज्ञान अप्ठेरो लाग्छ । अङ्ग्रेजीमा त उनी बोल्न सक्छिन् तर व्याकरण मिलाएर लेख्न भने अप्ठेरो लाग्छ । एसइइपछि माथिल्लो कक्षामा ग्रेडअनुसारको विषय छान्ने उनको धोको छ । जसरी भए पनि पढाइ भने नछाड्ने उनी बताउँछिन् । अठ्तीस वर्षीया चौधरीलाई सकभर स्नातकोत्तर अझ विद्यावारिधि गर्ने धोको छ ।-रासस

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।